यासोक/ फलाममा चुम्बक टाँसिनु त सामान्य कुरा हो तर ढुङ्गामा चुम्बक टाँसिन्छ भन्दा अचम्म लाग्न सक्छ तर पाँचथरको कुम्मायक गाउँपालिका–३ तमोर खोलामा यस्तै अनौठो दृश्य फेला परेको छ ।

उक्त स्थानमा खनिज पदार्थ भएको भन्दै स्थानीयले अध्ययन र अनुसान्धान गर्नुपर्ने माग गरेका छन् । भीरमा रहेको ढुङ्गामा चुम्बक टाँसिन थालेपछि फलाम खानी रहेको स्थानीयले अनुमान गरेका छन् । तीन दशक पहिले उक्त स्थानमा उत्खनन समेत गरिएको थियो । त्यसबाट ढुङ्गा फोरेर ल्याबबाट पनि परीक्षण गरिएको थियो ।

परीक्षणबाट उक्त स्थानमा फलाम खानी रहेको तथ्य फेला परेको स्थानीय रोहिणीप्रसाद भटराईले बताए । लामो समयदेखि अध्ययन भएको उक्त स्थानको कसैले चासो नदिँदा खनिज पर्दाथको अस्तित्व नै सङ्कटमा परेको उनको चिन्ता छ । तमोर नदीको भीरको चट्टानमा फलाम खानीको सम्भावना भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् ।

फलाम खानीको विषयमा कुम्मायक–३ का वडा अध्यक्ष रामप्रसाद गजुरेल पनि जानकार छन् । खानीको अध्ययन र अनुसन्धान गर्नको लागि गाउँपालिका र प्रदेशमा पनि कुरा उठाएको उनले सुनाए । बजेटको स्रोत अभावमा वडा तहबाट काम गर्न समस्या भएको छ । वडामा निर्वाचित भएको साडे दुई वर्ष बितेको छ । तर, गाउँपालिका र प्रदेशतहमा आवश्यक बजेटको लागि माग गर्दा समेत बल्ल तल्ल केही बजेट सुनुवाइ भएको छ– उनले भने ।

लामो समयदेखिको उक्त क्षेत्रस्थानीयले सुरक्षित राखेका छन् । जोखिम स्थानमा रहेको ढुङ्गामा गहिरो सुरुङ खनिएको छ । सुरुङको तीन मिटरभित्र छिरेर चुम्बकको टुक्रालाई ढुङ्गामा ठोकाउँदा चुम्बक टाँसिन्छ । १ सय मिटर मुनि तमोर नदी रहेको छ । नदीमाथिको भागमा ठुलो चट्टानले घेरिएको स्थान रहेको छ । सोही स्थानमा लामो समयदेखि खनिज पदार्थ रहेको तथ्य फेला परेकाले अध्यायन र अनुसन्धान हुनुपर्ने स्थानीयले बताउँदै आएका छन् ।

गाउँपालिकाको तमोर नदीको लुमुघाटमा तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको काम अघि बढ्ने भएपछि खानीलाई असर पार्ने देखिन्छ । वडाले गाउँपालिका र गाउँपालिकाले प्रदेश सरकार समक्ष यो विषयमा पहल गर्न माग गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले तमोर जलाशययुक्त आयोजनाले असर गर्नु पूर्व उक्त स्थानको अध्ययन र अनुसन्धान गर्नको लागि ध्यान दिने बताउँछन् । गाउँपालिकामा रहेका तामा खानी, खरी खानी र फलाम खानी जस्ता खनिज पदार्थहरूको संरक्षण गर्ने विषयमा लागि पर्ने आङ्बो भनाइ छ ।