देउराली/ मङ्सिर १४ मा हुने उपनिर्वाचन तीन साता बाँकी रहँदा धरान उपमहानगरमा मेयरको लागि विभिन्न राजनैतिक दलहरू आ–आफ्नो उम्मेदवारी टुङ्गो लगाएर प्रचार–प्रसारमा लागेका छन् ।

धरानमा २०५१ सालदेखि चुनाव जित्दै आएको नेकपा भर्खरैमात्र आफ्नो उमेदवारको टुङ्गो लगाएर चुनाव प्रचार–प्रसारमा लागेको छ । धरानलाई आफ्नो गढ मान्ने नेकपाले जिल्ला सदस्य प्रकाश राईलाई उठाएको छ ।

त्यस्तै प्रतिस्पर्धीको रूपमा रहेको काङ्ग्रेसले १ महिनाअगाडि नै उपमहानगर सभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । यतिबेला काङ्ग्रेसले प्रचार–प्रसार गरिरहेको छ । त्यस्तै अन्य दलहरू सङ्घीय समाजवादीबाट गजेन्द्र इस्वो, सङ्घीय लिम्बुवान मञ्चबाट अमर इजम, साझा पार्टीबाट राजन श्रेष्ठलगायतले आ–आफ्नो उम्मेदवारी टुङ्गो लगाएसँगै चुनावी प्रचार–प्रसारमा छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा हर्क साम्पाङ पनि चुनाव प्रचार–प्रसारमा छन् ।

नेताहरू प्रायः चुनावका बेला मात्र आश्वासनको पोको बोकेर गाउँबस्ती पस्ने आरोप लाग्ने गरेको छ । धरानमा अहिले प्रायः सबै राजनैतिक दलहरू एजेण्डा बोकेर गाउँबस्ती छिरेका छन् । उपनिर्वाचनले धरानमा जनता र नेताबीच फेरि एकपटक जम्काभेट गर्ने मौका जुरेको छ ।

चुनावको समयमा ‘यो गरिदिउँला र त्यो गरिदिउँला’ भन्दै भोट माग्ने नेता कार्यकर्ताहरू चुनाव जितेपछि बस्तीमा आएर समस्या नियाल्नु त परै जाओस्, समस्या लिएर जाँदा भेटसमेत गर्न नमान्ने गरेको गुनासो गर्ने धरान–५ देउरालीका बासिन्दाका लागि उम्मेदवारलाई समस्या राख्ने राम्रो थलो बनेको छ, चुनावी अभियान ।

धेरैजसो मजदुरहरू बसोबास गर्ने सुकुम्बासी क्षेत्र देउरालीमा खानेपानी र रोजगार मुख्य समस्या हुन् भने यहाँका बासिन्दाले सरकारले उपलब्ध गराएका सेवा सुविधा तथा स्थानीय तहले प्रदान गर्ने रोजगार अभिमुखीकरण तालिमसमेत पाउन सकेका छैनन् । धरान उपमहानगरपालिकाले सुकुम्बासी समस्या समाधानको आधार भनेको घर नम्बर पनि नपाएको उनीहरूको गुनासो छ ।

रोजगार, खानेपानी, सुकुम्बासी समस्यालगायत आधारभूत आवश्यकताको समस्याभित्र पोको परेको घना बस्तीभित्र उम्मेदवारहरू भोट माग्न छिर्न लाग्दा देउरालीबासी खिलमान खजुम भन्छन्, ‘यहाँ पानीको हाहाकार छ । यहाँका युवाहरू बेरोजगार भएर कुलतमा फस्दै गएका छन् । स्थानीय तहले युवाहरूलाई एउटा अभिमुखीकरणसम्म पनि सञ्चालन गरेको छैन । सुकुम्बासीलाई घर नम्बर दिने भनिए तापनि हामीले पाएको छैन ।’ उनी थप्छन्, ‘सानो व्यवसाय गर्दा पनि कर तिर्नु पर्ने भन्छ तर धुरीकर त परै जाओस् घर नम्बरसम्म दिएको छैन ।’

देउरालीबासी खड्गबहादुर थापामगर चुनावका दिन धरानमा पानी आउने पालो परे भोट दिन जान सक्ने अवस्था नरहेको बताउँछन् । ‘दुई दिनमा ५ सय लिटर हाराहारी पानी आउँछ, पानीको एकथोपो पनि हाम्रा लागि महत्वपूर्ण हुन्छ’ उनी भन्छन्, ‘हामीलाई रोजगार, खानेपानी घर नम्बर जसले दिन्छ, उसैलाई भोट दिन्छौं ।’ एउटै मुहानबाट आधा दर्जन जति गाउँमा पानी लगिँदा मुहानमै पर्याप्त पानी नहुने भएकाले वैकल्पिक मुहानको खोजी गरिनुपर्ने धारणा राख्ने मगर भन्छन्, ‘पैसा तिरे पनि पानी खान पाएका छैनौं, भोट माग्नुअघि उम्मेदवारहरूले यो कुरा बुझ्न जरुरी छ ।’

स्थानीय सानु सुब्बालाई चाडबाडको समयमा पनि पानी किनेर खानुपर्ने अवस्था आयो । ‘हुने–खानेले त किनेर खान सक्लान् तर नहुनेले के गर्ने ?’ उनी भन्छन्, ‘राजनैतिक दलभन्दा पनि हाम्रो समस्या सम्बोधन गर्न सक्ने उम्मेदवारलाई भोट दिनुपर्ला ।’

करिब सात हजार घरधुरी रहेको सुकुम्बासी क्षेत्र देउरालीमा यतिबेला खानेपानीको हाहाकार छ । करिब १५ वर्षअगाडि सीमित जनसङ्ख्या हुँदा नजिकैको सेहरा खोलाबाट ल्याइएको खानेपानी अहिले जनसङ्ख्या तीन गुणाभन्दा बढी हुँदा पनि त्यति नै पानीमा भर पर्नुपरेको छ । साविकको पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको देउरालीका बासिन्दाले स्थानीयस्तरमा जनप्रतिनिधि आएसँगै खानेपानी समस्याको सम्बोधन हुने आशा गरेका थिए । तर जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

देउरालीबासीमा राजनैतिक दलभन्दा फरक शैलीको चुनाव लागेको छ । स्थानीयले खानेपानी, रोजगार र घर नम्बर दिनेलाई भोट दिने बताइरहेका छन् । देउरालीमै किराना पसल गरेर बसेका अनिल सुयल भन्छन्, ‘अब आउने मेयरले बेरोजगारलाई रोजगार दिन सक्नुपर्यो ।’

भोट जितेर काम किन गरेनै भन्दा आफ्नै प्रकारको समस्या देखाउने प्रतिनिधी नभइ काम नहुदा जनताले पाउने सास्ती बुझेर काम गर्ने सक्ने उमेदवालाई भोट दिने स्थानीय जय राईको भनाइ छ । सुकुम्बासीमा उपमहानगरले घरनम्बर बितरण गर्ने भने पनि अझै घर नम्बर नपाउदा स्थानीय नेताहरुले नै पहल नगरेका हुनकी भन्ने धारण राख्ने तेजबहादुर जिमि भन्छन् ‘ देउरालीको विकास गर्ने भन्छन्, समस्थासामाधान गर्न पहल गर्ने लागी पर्ने भन्छन् तर केहि गरेजस्तो देखीदैन ।’

प्राकृतिक स्रोत र साधनहरुमा पाखुरा चलाउदै आएका देउरालीका अधिकांस मजदुरहरुको वन क्षेत्रको सामुदायीकीकरण, बर्खाका ४ महिना नदिजन्य बस्तुको उत्खननमा रोक, समयमा सेउती तथा सर्दु खोलाहरुमा ठेक्का नलाग्ने जस्ता समस्याहरुले त्यस क्षेत्रमा काम गर्ने मजदुरहरुको पेसा निरन्तर परिर्वतन हुदैएकाे छ ।

प्राकृतीक स्रोतको उपभोगमा कढाई तथा रोक लगाएसंगै त्यस क्षेत्रमा मजदुरी गर्ने मजदुरलाई दिर्घकालीन रोजगारको बैकलपिक मार्ग दिन नसकेको कारण केहि मजदुरहरु बेरोजगार बनेका छन् भने अधिकांशले बैदेशीक रोजगार र निमार्ण क्षेत्रमा मजदुरी गर्ने गर्ने गरेका छन् ।