धरान । साझा पार्टी नेपालले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका क्रममा धरान उपमहानगरका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

धरानमा बुधबार पत्रकार सम्मेलन गर्दै साझाले प्रदेश समिति सदस्यसमेत रहेका राजनकुमार श्रेष्ठलाई उम्मेदवारको घोषणा गरेको हो । उनी धरान–१० का स्थायी बासिन्दा हुन् । पेशाले शिक्षकसमेत रहेका श्रेष्ठलाई प्रदेश संयोजक तथा केन्द्रीय सदस्य अनिल भेटवाल, केन्द्रीय सदस्य भीमप्रसाद अधिकारीले मेयर पदको उम्मेदवारमा घोषणा गरेका हुन् ।

त्यसक्रममा मेयरका उम्मेदवार बनेका श्रेष्ठले राजनीति, सत्ता परिवर्तन भए पनि जनताले परिवर्तनको महसुस गर्न नपाएको सन्दर्भमा आफ्नो उम्मेदवारी त्यस्ता जनताको प्रतिनिधित्वका लागि रहेको बताए । उनले लोककल्याणकारी राज्यको लागि आफ्नो उम्मेदवारी रहेको घोषणा गरे । उनले आफूले नगरमा जिते भ्रष्टाचार तथा विकृति, विसङ्गतिको अन्त्य गर्ने दाबी गरे ।

केन्द्रीय सदस्य अधिकारीले राजनीतिक दलले ६० वर्षे इतिहासमा राजनीतिक परिवर्तन लयाए पनि जनताले पाउनुपर्ने विकास र समृद्धिको महसुस गर्न नसकेको बताए । उनले साझा पार्टी अबको विकल्पको रुपमा उभिएको बताए । उनले विकृति, विसङ्गति अन्त्यका लागि आफूहरू उभिएको दाबी गरे ।

त्यस्तै प्रदेश संयोजक भेटवालले इमान र बेइमानको राजनीतिका बीच साझा पार्टी उभिएको बताए । उनले धरान उमपहानगरको उपनिर्वाचन पनि इमान र बेइमानको राजनीतिको जनमत सङ्ग्रह भएको दाबी गरे ।