धरान  /  कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको २९ औं राष्ट्रिय कविता प्रतियोगीतामा नेपालगञ्जका कवि रसिक राज प्रथम भएका छन् । उनले ‘कालो मान्छे’ शिर्षकको कविता वाचन गरेका थिए ।
त्यस्तै सोलुखुम्बुका गणेशप्रसाद खतिवडा द्वितिय भए । उनले आश्था र अस्थित्व शिर्षकको कविता वाचन गरेका थिए । त्यसैगरी माटो जीन्दगी शिर्षकको कविता वाचन गरेका गोर्खाका सन्तोष खनाल तृतीय र ओखरबोट र चरा शिर्षकको कविता वाचन गरेका धनकुटाका सरोज कटुवाल सान्त्वना भए । विजेताहरुलाई प्रदेश नं.१का सभामुख प्रदीपकुमार भन्डारी र पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले नगद तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगीतामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद २ ० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको थियो ।
मंगलबार धरान १८ बुद्धचोकस्थित पुस्तकालयको सभाहलमा आयोजीत कार्यक्रममा उत्कृष्ट १०मा छानिएका कविता वाचन गरिएको थियो । प्रतियोगीतामा सहभागी जम्मा १ सय ७५ कविता मध्ये उत्कृष्ट २० हुँदै उत्कृष्ट १० छनोट गरिएको थियो । उत्कृष्ट १०मा धरानका एकराज थापा, दार्जिलिङका कैलाश पाण्डे, स्याङ्जाका दीपक पाण्डे, रुपन्देहीका देशबन्धु आचार्य, दाङ्की मानुषी रेग्मी, र विराटनगरका शङ्कर सुवेदी पनि परेका थिए । कवि बम देवान र सागर सुवेदीको निर्णयक टोलिले विजेता छनोट गरेको थियो ।
कार्यक्रममा कवि बम देवान, मनु मञ्जिल, प्रा.डा.भीम खतिवडा, प्रदीप मेन्याङ्वो, देवान किराती, नवराज मैनाली लगायतले पनि कविता वाचन गरे । कार्यक्रममा प्रमुख अतिथी सभामुख भन्डारीले पनि कवि विमल गुरुङको स्मृतिमा तत्कालै कविता लेखेर सुनाएका थिए । कार्यक्रममा बोल्दै उनले पूर्णबहादुर गुरुङ र उनको परिवारले पुस्ताकलाय सञ्चालन गरेर समाजमा ठूलो गुण लगाएको भन्दै पुस्तकालय व्यवस्थित बनाउन स्थानीय, प्रदेश र संघीय सरकारमा आफुले पहल गर्ने बताए । कार्यक्रममा प्रदेश सांसदहरु सावित्री श्रेष्ठ र उमिता बराईली पनि सहभागी थिए । कार्यक्रममा बोल्दै नेकपामा नेता तथा उपनिर्वाचनका लागि धरानका मेयरका उम्मेदवार प्रकाश राई र संघीय समाजवादीका नेता ताजुव लिम्बुले पुस्तकालयले समाजलाई शिक्षित बनाउन अतुलनीय योगदान गरेको भन्दै प्रशंषा गरे ।

पत्रकार दाहाल र साहित्यकार राई सम्मानीत
कवि विमल स्मृती पुस्तकालयले ब्लाष्ट दैनिकका सम्पादक गोपाल दाहाल र फरक क्षमताकी साहित्यकार लक्ष्मी राईलाई सम्मान प्रदान गरेको छ ।
धरानमा रहेर लामो समयदेखि पत्रकारिता मार्फत योगदान पु¥याएको भन्दै दाहाललाई नगद ५ हजार र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरियो । त्यसैगरी फरक क्षमताकी साहित्यकार राईलाई साहित्यमा योगदान पु¥याएको भन्दै नगद ५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं.१का सभामुख प्रदीपकुमार भन्डारी, पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङ र पुस्तकालयकी सञ्चालक सदस्य शान्ति गुरुङले सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरेका थिए । दाहाल र राईलाई पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङ र उनकी स्वर्गीय श्रीमतीको नामा स्थापित सम्मान प्रदान गरिएको हो । हरेक वर्ष पत्रकारिता तथा साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने गरिएको छ ।