बिर्तामोड/ सब्सिच्युट गोलरक्षक रोशन खड्काले पेनाल्टी सुटआउटमा तीनजना खेलाडीको प्रहार विफल पारेपछि बिर्तामोडमा जारी हाम्रो पूर्वाञ्चल गोल्डकपको मङ्गलबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले सडन डेथमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

जायोन स्पोर्टस् क्लबद्वारा बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आयोजित प्रतियोगितामा पुलिस क्लबले चिर परिचित प्रतिद्वन्दी एपीएफमाथि जित हासिल गर्न सडन डेथको सहारा लिनुपरेको थियो । निर्धारित ८० मिनेटमा दुवै टिमबाट १–१ को बराबरी भएपछि खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि सडन डेथबाट निर्णय गरिएको थियो ।

सडन डेथमा पुलिसका हेम तामाङ र मानबहादुर परियारको प्रहारले पोष्टको जाली चुमेको थियो भने एपिएफका रवि थिङले मात्र गोल गरेका थिए । एपीएफका हरि कार्कीको प्रहारलाई पुलिसका गोलरक्षक खड्काले विफल बनाएका थिए । टाइब्रेकरमा पुलिसका सुमन लामाको प्रहार बाहिरियो भने हरि कठायतको प्रहार बारमा लागेर फर्किएको थियो । पुलिसका खेलाडीले शुरुमा प्रहार गरेको २ गोलको एडभान्टेज पाएको एपीएफले नतिजा आफ्नो पक्षमा पार्न सकेन । पुलिसका कप्तान भरत शाह, अञ्जन राई र भोला सिलवालले टाइब्रेकरमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

टाइब्रेकरमा एपीएफका सुदिप शिखाकार, नविन लामा र आशिष लामाले गोल गरेका थिए भने गोलकिपर राजु नगरकोटी र बुद्धिमान राईको प्रहार पुलिसका गोलरक्षक खड्काले रोकेका थिए । खेलको ३० आंै मिनेटमा गोल गरेर एपीएफले अग्रता लिएको थियो । डिफेन्डर रमेश दङ्गालको हेड पासमा हरि कार्कीले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको एपीएफले दोस्रो हाफको २२ औं मिनेटमा गोल खाएको थियो । पुलिसका सब्सिच्युट खेलाडी भोला सिलवालले डि बक्स बाहिरबाट गरेको पावरफुल प्रहारले गोलकिपर राजु नगरकोटीको हातमा लाग्दै पोष्टको जाली चुमेको थियो ।

खेलको म्यान अफ द म्याच विजेता टिम नेपाल पुलिस क्लबका स्ट्राइकर भोला सिलवाल भए । उनले नगद १९ हजार रुपैंयाँ पुरस्कार पाए । बुधबारको खेल त्रिभुवन आर्मी क्लब र आसामको मोलवे क्लबबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता क्लबले १२ लाख ५० हजार, उपविजेताले ६ लाख २५ हजार रुपैंयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउनेछ भने उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्डले जनही १५ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक समितिका खेल संयोजक गौरीमान राईले जानकारी दिए ।