विराटनगर/ परिमाण बढाएर बिरामीलाई ठगी गर्ने विराटनगर–९ जहदा रोडस्थित ‘साक्षी मेडिकल हल’ का सञ्चालकद्वय सिरहा गोलबजारका निराजन शाक्य र सप्तरीका चन्द्रशेखर यादवलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायरको तयारी गरेको छ ।

औषधि बिक्री गर्ने कामदारलाई मात्र पक्राउ गरेको मोरङ प्रहरीले बिरामीले लगेको औषधको परिमाण बढाउन निर्देशन दिने सञ्चालकलाई पक्राउ गर्न नसक्दा सरकारी वकिलको कार्यालयमार्फत् फरार प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ठगीमा मुद्दा दायर गर्ने तयारी शुरु गरेको हो । प्रहरीले अभियोगको फाइल सरकारी वकिलको कार्यालयमा पु¥याएकोले अब चाँडै मुद्दा दायर हुनेछ ।

औषधिको परिमाण बढाएर बिक्री वितरण गरेको आरोपमा साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको इनरुवा नगरपालिकाका १९ वर्षीय सन्तोष मेहतालाई प्रहरीले पक्राउ गरेको २४ दिन बितिसक्दा पनि कामदारलाई औषधिको परिमाण बढाएर बिक्री वितरण गर्न निर्देशन दिने सञ्चालकद्वय शाक्य र यादवलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । फार्मेसीमा औषधि खरिद गर्न आएका बिरामीलाई परिमाण बढाएर औषधिको बिक्री वितरण गर्ने आरोप लागेका सञ्चालक शाक्यको सिरहास्थित गोलबजारमा १२ शøयाको भूमिजा हस्पिटल रहेको छ ।

शाक्य र यादवले पार्टनरसिपमा विराटनगरमा पनि औषधि पसल खोलेका थिए । उनीहरूकै निर्देशनमा पसलमा आउने बिरामीले खरिद गरेको औषधिको परिमाण बढाएर बिक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सवारी दुर्घटनमा परी न्यूरो हस्पिटलमा भर्ना भएका उदयपुरको त्रियुगा नगरपालिकाका नवराज राईका आफन्तले २ लाखको औषधि खरिद गर्दा करिब ६० हजार मूल्य बराबरको औषधिको परिमाण बढी देखाएर ठगी गरेको खुलेको छ । ती बिरामीले साक्षी मेडिकलबाट ७१ प्रकारको औषधि खरिद गरेका थिए ।

बिरामीले खरिद गरेको औषधिकोबढी परिमाण देखाएर ठगी गरेको आरोपमा प्रहरीले गत २६ असोजमा मेडिकल हलमा काम गर्ने मेहतालाई पक्राउ गरेको थियो । औषधि खरिद गर्न आएका बिरामीले लगेको औषधिको बढी परिमाण देखाउन सञ्चालकद्वयले निर्देशन दिने गरेको खुलिसक्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन । औषधि बिक्री गर्ने कामदारलाई पक्राउ गरेको तीनसाता बितसक्दा पनि परिमाण बढाएर बिक्री गर्न निर्देशन दिने सञ्चालकलाई प्रहरीले पक्राउ नगर्दा उनीहरू गोलबजारस्थित आफ्नै अस्पतालमा खुलेआम रहेका छन् ।

प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट साक्षी मेडिकल हलले बिरामीलाई दिएको ७१ प्रकारका औषधिमध्ये पाँच प्रकारका औषधि विभागमा दर्ता नभएको बिक्री वितरण हुने गरेको खुलेको छ । औषधि व्यवस्था विभागले प्रहरीलाई दिएको रायमा पाँच प्रकारका औषधि विभागमा दर्ता नभएको औषधि थियो । यस विषयमा पनि प्रहरीले अनुसन्धान गर्दै आएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

यता मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले औषधिका सञ्चालकद्वयलाई पक्राउ गर्न विशेष प्रहरी परिचालन गरेको बताए । ‘हामीले पक्राउ गर्न विशेष प्रहरी परिचालन गर्दै आएका छौं तर अहिलेसम्म भेटिएको छैन’ उनले भने, ‘खोजी कार्यलाई हामीले तीव्र बनाएका छौं ।’ उनीहरूलाई पक्राउ गर्न मोरङ प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा पनि पत्राचार गरेको लामो समय भएको छ । तर त्यहाँको प्रहरीले उनीहरूलाई पक्राउ गर्न चासो नदेखाएको बुझिएको छ ।