बिर्तामोड/ सब्सिच्युट खेलाडी चम्किँदा भारतको सिक्किम आक्रामक एफसी झापाको बिर्तामोडमा जारी हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जितका लागि सब्सिच्युट खेलाडी नायक बनेका थिए ।

सोमबार भएको खेलको पहिलो मिनेटमै बेलबारी एफसीले अग्रता लिएको थियो । बेलबारीको अग्रतालाई सिक्किमले खेलको ५९ औं मिनेटमा बराबरी ग¥यो । खेल शुरु भएको पहिलो मिनेटमै बेलबारीका किरण लिम्बूले गोल गरेका थिए । मौसम लिम्बूले गरेको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले फर्काएपछि पाएको अवसरलाई सदुपयोग गर्दै लिम्बूले सुन्दर गोल गरेका थिए ।

१–० ले पछि परेको सिक्किमले विपक्षीलाई दोस्रो हाफमा दबावमा राखेको थियो । खेलको ५९ औं मिनेटमा सिक्किमका रोइन राईले बराबरी गोल गरेका थिए । गणेश लिम्बूको क्रस पासमा सब्सिच्युट खेलाडी राईले गोल गरेका थिए । त्यसको तीन मिनेट बित्न नपाउँदै राईले टीमको लागि दोस्रो गोल गरे । सब्सिच्युट खेलाडी शुक्रराज राईको पासमा हेडमार्फत् सुन्दर गोल गर्दे किरण राईले आफ्नो टिमको अग्रता कायम गरे ।

२–१ ले पछि परेको बेलबारीका लागि खेलको ६७ औं मिनेटमा भुषण सुब्बाले गोल गर्दै बराबरी गरे । मैदानको मध्यभागमा पाएको पासलाई सिङ्गल खेल्दै अनुभवी खेलाडी सुब्बाले गोललाई पोष्टको दिशा दिए । सिक्किमसँग बराबरी गरेको बेलबारीले ८ मिनेटमा नै गोल खाएको थियो । खेलको ७५ औं मिनेटमा करण राईले गोल गर्दै सिक्किमको जित सुनिश्चित गरे । सत्यम शर्माको क्रस पासमा राईले गोललाई जाली चुमाएका थिए ।

पहिलो हाफभरि दबाव कायम गर्न सफल भएको भएपनि बेलबारीले दोस्रो हाफमा अपेक्षित प्रदर्शन गर्न सकेन । सिक्किम भने दोस्रो हाफमा लयमा फर्किएको थियो । खेलको ९ औं मिनेटमा गोलकिपर बिट भइसकेको अवस्थामा गरेको कडा प्रहार सिक्किमका प्रयास प्रधानले विफल पारिदिएका थिए । खेलको ४० औं मिनेटमा बेलबारीका किरण लिम्बूको भली प्रहारलाई सिक्किमका प्रवीण प्रधानले गोललाईनबाट जोगाएपछि बेलबारीको जित कठिन भएको थियो ।

खेलको म्यान अफ द म्याच विजेता टिम सिक्किम एफसीका लागि २ गोल गर्ने रोहण राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । मङ्गलबारको क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ । जायोन स्पोर्टस क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा भारतका दुई सहित नेपालका आठ टिमको सहभागिता रहेको छ ।