धरान/ २२ औं बुढासुब्बा गोल्डकप प्रवद्र्धनका लागि ‘चौथो मिडिया प्रमोशन कप’ हुने भएको छ ।

कात्तिक २३ गतेदेखि एन्फा एकेडेमीको खेल मैदानमा प्रमोशन कप हुने भएको हो । आयोजक धरान फुटबल क्लबका अनुसार ८ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । जसमा पत्रकार टिम, धरान नगरपालिकाका कर्मचारी, सुनसरी उद्योग वाणिज्य सङ्घ, बैङ्कर्स, यातायात व्यवसायी तथा मजदुर, प्याब्सन–एनप्याब्सन, वराह ज्वेलरी र होटल एसोसिएसन अफ धरान छन् ।

प्रतियोगिता विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ । त्यस्तै व्यक्तिगततर्फ सर्वाधिक गोलकर्ता, खेलको म्यान अफ दी म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने भएको क्लबका अध्यक्ष तथा एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिताको फाइनल कात्तिक ३० गते हुने उनले बताए । गत वर्ष धरान उपमहानगरको टिम विजेता बनेको थियो भने पत्रकारको टिम उपविजेता बनेको थियो ।

बुढासुब्बा गोल्डकपको प्रवद्र्धन गर्नका लागि २०७२ सालबाट मिडिया प्रमोशन कप गरिँदै आएको छ । शुरुको वर्ष मिडियाहरूबीच मात्रै प्रतियोगिता गरिएको थियो भने त्यसपछि विभिन्न सङ्घ संस्थालाई सहभागी गराउँदै प्रतियोगिता गरिँदै आएको छ । बुढासुब्बा गोल्डकप भने मङ्सीर १९ गतेदेखि हुने आयोजकले जनाएको छ । यस वर्षदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुढासुब्बा गोल्डकपलाई ‘क’ श्रेणीमा राखेको छ । २०५५ सालदेखि शुरु भएको गोल्डकप निरन्तर हुँदै आइरहेको छ ।