धरान/भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धरानको सेवक अभियानले दुई दिने नेपाल–भारत मैत्री पदयात्रा सम्पन्न गरेको छ ।

अभियानले पदयात्राको नाम ‘नेचर थेरापी’ दिइएको छ । ८७ जनाको टोली रहेको पदयात्रा पहिलो दिन धरानबाट श्रीअन्तु र दोस्रो दिन उत्तरपूर्वी भारतको मिरिकसम्म पुगेको थियो । कात्तिक १५ र १६ गते भएको पदयात्रामा उत्तरपूर्वी भारत मिरिकमा सहभागीमध्ये गायक, पत्रकार र हाइकिङ अभियन्तालाई सम्मानित गरिएको थियो । गायक गङ्गा बरदान, पत्रकार विराट अनुपम र सेवक अभियानका अध्यक्ष राजीव हलुवाईलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा मिरिक नगरपालिकाका नगरप्रमुख एलपी राई, पर्यटन विकास विभागका प्रमुख सुरज प्रधानलगायतले सम्मानपत्रसहितले सम्मानित गरिएको थियो । धरानबाट हिँडेको टोली कन्यामसम्म बसमा पुगेका थिए भने त्यहाँबाट ५ घण्टाको पैदल दूरीमा पदयात्रा गर्दै श्रीअन्तु पुगेका थिए । श्रीअन्तुमा सूर्योदयको आस्वादन गर्दै मिरिकतर्फ लागेका थिए । त्यसक्रममा चार स्थानमा स्वागत सम्मान गरिएको सेवक अभियानका संयोजक अमित थापाले जानकारी दिए ।

पहिलो स्वागत सम्मान सूर्योदय नगरपालिकामा गरिएको थियो । नगरपालिकाकी उपमेयर दुर्गादेवी भट्टराई र प्रदेशसभा सांसद् काजीमान कागतेले स्वागत गरेका थिए । त्यहाँबाट हर्कटे हुँदै ऋद्धिखोला, महेन्द्रबेँसी, गोरख हुँदै श्रीअन्तुसम्म पदयात्रा गरेका थिए । टोलीलाई श्रीअन्तुमा पनि सम्मानित गरिएको सचिव खगेन्द्र कुँवरले जानकारी दिए । हर्कटेबाट श्रीअन्तुसम्म करिब १५ किलोमिटरको दूरी ५ घण्टामा पूरा गरेका थिए । त्यहाँबाट ओकेटी हुँदै मिरिकसम्म पुगेको थियो । १६ किलोमिटर दूरी रहेको मिरिकसम्म पुगेर टोली नेपालतर्फ प्रस्थान गरेको थियो ।

भ्रमण वर्ष २०२० मा उत्तरपूर्वी भारतबासीलाई प्रदेश १ मा निम्ता दिनका लागि पदयात्रा गरिएको सेवक अभियानका अध्यक्ष राजीव हलुवाईले बताए । श्रीअन्तुबासीलाई धरानका लागि निम्ता दिइएको छ । त्यसो त धरान र इलामबीच भगिनीसम्बन्ध पनि रहेको छ । अभियानमा पर्यटनकर्मी कृष्ण साह, मेरील्याण्ड स्कुलका भाइसप्रिन्सिपल मनोज राई र इन्दिरा लामाले सहयोग गरेका थिए ।

IMG_5304