धरान  /  कवि विमल गुरुङको ४९ औं जन्मजयन्ती तथा २९ औं राष्ट्रिय कविता महोत्सवको तयारी पूरा भएको छ ।
कात्तिक १९ गते गरिने जन्मजयन्ती तथा कविता महोत्सवमा छनौट भएका १० वटा कविता वाचनसहित विजेता घोषित गरिने छ । प्रतियोगितामा एक सय ७५ वटा कविता प्रतिस्पर्धाका लागि प्राप्त भएकोमध्ये १० वटालाई अन्तिम छनौट गरिएको हो ।
जसमा एकराज थापा धरान, कैलास पाण्डे दार्जीलिङ, गणेशप्रसाद खतिवडा सोलुखुम्बु, दीपक पाण्डे स्याङ्ग्जा, देशबन्धु आचार्य रुपन्देही, मानुषी रेग्मी दाङ, रसिक राज नेपालगञ्ज, शङ्कर सुवेदी विराटनगर, सन्तोष खनाल गोर्खा, र सरोज कटुवाल धनकुटाका कविता छनौट भएको सचिव गणेश तिम्सिनाले शनिबारको पत्रकार सम्मेलनमा बताए ।
महोत्सवको अवसरमा एक पत्रकार र एक साहित्यकारलाई नगदसहितले सम्मानित गरिने भएको छ । त्यसक्रममा ब्लाष्टका सम्पादक गोपाल दाहाल र साहित्यकार लक्ष्मी राईलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिन लागिएको उनले बताए । अन्तिम सूचीमा परेका कविताहरुबाट पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक विमल स्मृति पुस्तकालयका संस्थापक अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

poet