बिरामीको पेटमा सानो प्वाल बनाएर दूरबिनको माध्यमबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ । ल्याप्रोस्कोपिक सर्जरी बिरामीका लागि वरदान सावित भएको छ । यो आधुनिक शल्यक्रिया पद्धति हो । यो पद्धति बिरामीलाई अधिक आराम र सुविधा दिने उपयुक्त माध्यम बन्न पुगेको छ । नोबेल अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक तथा जेनेरल सर्जन डा.रोहितप्रसाद यादव यो सर्जरीका क्षेत्रमा अब्बल मानिन्छन् ।

नोबेलमा रहँदा डा.यादवले सबैभन्दा बढी पित्तको थैली, पित्तको नली, एपेन्डिक्स, आन्द्राको क्यान्सर र हर्नियालगायत समस्याका बिरामीको ल्याप्रोस्कोपिक विधिमार्फत शल्यक्रिया गर्दै आएका छन् । हर्नियाको ल्याप्रोस्कोपिक विधिबाट पहिलो पटक धरानमा सन् २००९ मा त्यहीँ कार्यरत स्वास्थ्यकर्मीको सफलतापूर्वका शल्यक्रिया गरेपछि डा.यादवले यसलाई निरन्तरता दिंदै आएका छन् । ईआरसीपी विधिमार्फत पित्त नलीको ढुङ्गा निकाल्ने काममा पनि डा.यादव दख्खल राख्छन् ।

मुखबाट इण्डोस्कोप छिराएर एकै दिन १४ जना बिरामीको पित्त नलीको ढुङ्गा निकालेर डा.यादव नेतृत्वको टिमले नेपालमै नयाँ रेकर्ड पनि कायम गरेको छ । यिनै विषयमा केन्द्रित रहेर डा.यादवसँग ब्लाष्टले गरेको कुराकानी :

 केहिलेदेखि ल्याप्रोस्कोपिक सर्जरी गर्दै आउनुभएको छ ?
– मैले १४ वर्ष अघिदेखि ल्याप्रोस्कोपिक सर्जरी गर्दै आएको छु । मैले हालसम्म हजारौं मानिसको, बिरामीको यही विधिमार्फत सफलतापूर्वक शल्यक्रिया गर्दै आइरहेको छु । शुरुमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यो शल्यक्रिया थालेँ । त्यसपछि विभिन्न देशमा थप विस्तृत प्रशिक्षण लिएर अहिले त्यो सीपलाई नोबेलमा प्रयोग गर्दै आएको छु ।

चिरेर र प्वाल पारेर गरिने शल्यक्रियामा कत्तिको फरक छ ?
– चिरेर र प्वाल पारेर ल्याप्रोस्कोपीबाट गरिने सर्जरीमा आकाश जमिनको फरक छ । पेट चिरेर शल्यक्रिया गर्दा दुवै हात पेटभित्र छिराउनु पर्दछ । त्यसका लागि धेरै ठूलो भाग चिर्नुपर्दछ । त्यसले गर्दा बिरामीलाई धेरै दुखाइ हुन जान्छ । दाग पनि बस्ने र बिल्डिङ पनि धेरै हुने र घाउ निको हुन धेरै समय लाग्ने गर्दछ । तर, प्वाल पारेर ल्याप्रोस्कोपीबाट गर्दा त्यस्तो हुँदैन । कुनै ठाउँमा सानो प्वाल गरिन्छ । आज अप्रेसन गरिएको बिरामी भोलिपल्ट चङ्गा ठिक हुन्छन् । ती बिरामीको भोलिपल्ट अनुहार हेर्दा शल्यक्रिया भएको हो या होइन थाहै हुँदैन ।

 ल्याप्रोस्कोपिक सर्जरी कसरी गरिन्छ ?
– यो प्रविधिमा दुर्बिन र औजारका माध्यमले रोगको पहिचान तथा उपचार गर्न सकिन्छ । यसका लागि पेट फुलाउन कार्बनडाइ अक्साइड वा अन्य हावाको प्रयोग गरिन्छ भने उज्यालोका लागि प्रकाश पठाइन्छ । ग्याँस, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ । पेटभित्रका अङ्गको अप्रेशन गर्दा पेटभित्र छिराइएका क्यामेरा घुमाएर सबै अङ्गको अवस्था हेरिन्छ । त्यसपछि अप्रेशन गर्ने अङ्गको माथि औजारहरू छिराएर अप्रेशन गरिन्छ ।

ल्याप्रोस्कोपी प्रविधिका फाइदाहरू के के छन् ?
यो विधिबाट शल्यक्रिया गर्दा एक सेन्टिमिटर र दुई तीनवटा आधा सेन्टिमिटरका प्वालमात्र पार्नु पर्दछ । जसले गर्दा बिरामीलाई दुखाइ कम हुने, रगत धेरै नजाने हुँदा रगत दिनुपर्ने सम्भावना अत्यत्न न्यून हुने, घाउ सानो भएकाले चाँडै निको हुनुका साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी उठेर हिंडडुल गर्न सक्ने भएकाले अस्पतालबाट चाँडै डिस्चार्ज हुन पाइने तथा छिटो भन्दा छिटो आफ्नो दैनिक कार्यमा फर्कन सकिन्छ । घाउ सानो हुन भएकोले एन्टिवायोटिक र नदुख्ने औषधि पनि कम प्रयोग गर्न सकिन्छ । शल्यक्रिया गरिसकेपछि घाउको दाग निकै कम देखिन्छ ।

 अब ‘इआरसीपी’ प्रविधिको कुरा गरौं, बिना चिरफार कसरी निकालिन्छ पित्त नलीमा भएको ढुङ्गा ?
– मुखबाट इण्डोस्कोप छिराएर एकैदिन १४ जना बिरामीको पित्त नलीको ढुङ्गा निकालेर हामीले नेपालमै पहिलो नयाँ रेकर्ड कायम गरेका छौँ । इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलिको ढुङ्गा सहज रूपमा निकाल्ने गरिन्छ । ढुङ्गालाई मुखबाटै वा आन्द्रामा लगेर छोडी दिसाको माध्यमबाट बाहिर निकाल्ने गरिन्छ । सामान्यतया पित्त नलीको ढुङ्गा पेट र पित्त नली दुवै चिरेर निकालिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट इण्डोस्कोप छिराएर ढुङ्गा निकाल्दा धेरै सहज हुने गरेको छ । इआरसीपी विधिमार्फत मुखबाट इण्डोस्कोप छिराई ढुङ्गालाई तानेर निकालिने हुनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुनाले बिरामी दुई दिनमै घर फर्कन सक्छन् । पित्त नलीमा क्यान्सर वा ढुङ्गा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि अत्यन्तै लाभदायी हुन्छ ।

एकैदिन १४ जना बिरामीको पित्त नलीको ढुङ्गा निकाल्न कसरी सम्भव भयो ?
– हामीसँग दक्ष चिकित्सकको टिम छ । यो पद्धति पूर्वाञ्चलमा अन्यत्र नभएकाले बिरामीको आकर्षण नोबेलमा भयो । ईआरसीपीका लागि धेरै बिरामीहरू पर्खाइमा थिए । त्यही क्रममा हामीले एकै दिनमा हालसम्मकै सबै भन्दा ठुलो सङ्ख्यामा १४ जनाको ईआसीपी गरेका हौँ ।

तपाईं शल्यचिकित्सक समाजको अध्यक्षमा पनि निर्वाचित हुँनुभएको छ । तपाईंको कार्ययोजना के छ ?
– प्रदेश नं. १ मा पहिलो पटक शल्यचिकित्सक समाज गठन भएको हो । यसको मुख्य उद्देश्य आ–आफ्नो शल्यचिकित्सकीय अनुभव साटासट गर्ने, चिकित्सकहरूको शल्यक्रिया सम्बन्धी क्षमता अभिवृद्धि गर्ने र आपसी भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउने हाम्रो उद्देश्य हो ।