विराटनगर/ सुनसरी र मोरङ जोड्ने केसलिया खोलाको पुल र सिङ्गो बस्ती नै जोखिम हुने गरी अवैध रूपमा खोलाको माटो (भरौट) उत्खनन्मा प्रयोग भएको स्काभेटरलाई कुनै कारबाही नगरी छोडेको पाइएको छ ।

दुहबी नगरपालिका–१२ बुगढरी बस्ती र वारि विराटनगर –४ इक्राही बस्ती र केसलिया खोलाको पुल जोखिममा पार्ने गरी अवैध उत्खनन् भइरहेको अवस्थामा स्काभेटरसहित मोरङ प्रहरीले सोमबार ७ वटा टिपर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

इप्रका दुहबीले नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कारबाहीको लागि स्काभेटर सहित ७ वटा टिपर दुहबी नगरपालिका पठाएको थियो । तर, दुहबी नगरपालिका प्रमुख वेदनारयण गच्छदारको निर्देशनमा अवैध उत्खनन्मा प्रयोग भएको स्काभेट र तीनवटा टिपरलाई कुनै कारबाही नगरी मङ्गलबार छोड्न आदेश दिएका हुन् । केसलिया खोलाको पुल जोखिम हुने गरी १० देखि १५ मिटर गहिरो खाडल बनाएर बा. १ क ४९६२ नम्बरको स्काभेटरले खनिरहेको अवस्थामा मोरङ प्रहरी र विराटनगरबाट गएका सञ्चारकर्मीहरूले फेला पारेका थिए ।

उक्त स्काभेटरले केसलिया खोलामा गहिरो खाडल पारेर उत्खनन् गरिएको माटो ७ वटा टिपर र ४ वटा ट्याक्टरले गन्तव्यसम्म पुर्याउने तयारीमा थियो । प्रहरीले नियन्त्रणमा लिएको को. १ ख ५७०९, ना. १ क ६२७१, ना. १ क ६२६७, ना. १ क ६२७०, को. १ क २३७२, ना. १ क ६२६९, ना. १ क ६२६८ र ना. १ क ६२६६ नम्बरको टिपर हो । यीमध्ये चारवटा टिपरलाई प्रतिटिपर ५ हजार रुपैयाँले जम्मा २० हजार जरिवाना गरेर छोडेको थियो भने ३ वटा टिपरमा माटो नभएको भन्दै कुनै कारबाही नगरी छोडिएको छ ।

सडक निर्माण गर्न स्काभेटर गएकोले कारबाहीको दायरामा नल्याएको दुहबी नगरपालिका प्रमुख गच्छदारले बताए । ‘प्रहरीले नियन्त्रण गरेर हामीलाई बुझाएको स्काभेटर बाटो बनाउन गएको थियो’ नगरपालिका प्रमुख गच्छदारले भने, ‘त्यही भएर हामीले कारबाही नगरेको हो । ३ वटा टिपरमा माटो नपाइएकोले कारबाही नगरी छोडिएको हो ।’ माटो भरेका चारवटा टिपरलाई नगरपालिकाले न्यून जरिवाना लिएर छोडेको छ ।

खोलामा पुगेर अवैध उत्खनन्मा प्रयोग गरिएको स्काभेटर र सवारी साधन नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाउँदा पनि कुनै कारबाही नगरी छोड्दा स्थानीयले माटो तस्करका गिरोहसँग जनप्रतिनिधिको पनि मिलेमतो रहेको आशङ्का व्यक्त गरेका छन् । त्यस्तै अवैध उत्खनन्मा प्रयोग भएका चारवटा ट्याक्टरलाई विराटनगर ४ नम्बर वडा कार्यालयले पनि न्यून जरिवाना तिराएर छोडिदिएको छ ।

प्रहरीले स. १ त ५४५३, को. २ त ५७०४ र को. २ त ७१६८ नम्बरको ट्याक्टर प्रहरीले विराटनगरको इक्राहीबाट नियन्त्रणमा लिएको थियो । ती ट्क्याक्टरलाई प्रति ट्याक्टर २ हजार रुपैयाँका दरले ८ हजार रुपैयाँ जरिवाना गरी छोडेको हो । यसअघि सोही स्थानबाट अवैध उत्खनन्मा प्रयोग भएका ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति मोरङ पठाएको थियो । गत भदौ २ गते जिससले ४ वटा ट्याक्टरलाई जनही १५ हजार रुपैयाँले ६० जरिवाना तिराएर छोडेको थियो ।

अवैध रूपमा माटो तस्करी गर्ने गिरोहले दुहबी नगरपालिका –१२ बुगढरीस्थित केसलिया खोला किनारमा करिब १० देखि १५ मिटरसम्म गहिरो ठूल्ठूला खाडल बनाएर माटो उत्खनन् गरी बेच्ने गरेको पाइएको थियो । खोलाको पुलवरिपरि पाँचसय मिटरसम्म उत्खनन् गर्न नपाइने मापदण्ड कायम गरिएको छ । तर, अवैध माटो तस्करीमा लागेका गिरोहले पुल र बस्तीलाई समेत जोखिम हुने गरी उत्खनन् गर्दै आएका थिए । केसलिया खोलादेखि ३ सय १० मिटर उत्तर ठूला–ठूला खाडल बनाएर उत्खनन् गरिएको फेला परेको थियो ।

खोलाजन्य पदार्थ निकाल्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण(आई.ई.ई.) गरिनुपर्ने कानूनी व्यवस्था छ । सम्बन्धित स्थानीय तहहरूले ठेक्का लगाएपछि मात्र निर्धारित मापदण्डअनुसार खोलाजन्य पदार्थ उपयोग गर्न पाउने नियम रहे पनि ती सबै नियमलाई उल्लङ्घन गर्दै तस्करीमा लागेका गिरोहबाट यहाँ अवैध उत्खनन् हुने गरेको छ । खोला किनारको डिल काटिएको कारण सामान्य बाढी आउँदा पनि केसलिया खोला बस्तीमा पस्ने खतरा बढेको छ । यसअघि गत वैशाखको दोस्रो साता पनि उक्त खोलामा अवैध उत्खनन् भएको थियो ।