धरान  / प्रदेश २ स्थित धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारको गोली हानी हत्या भएको छ ।

जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अर्का ठेकेदार ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा साहलाई गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् । साह चौधरीको घरमा पुगेका थिए । सामान्य विवादमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

उनकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ ।

साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको थियो । त्यही विषयमा कुरा गर्न साह चौधरीको घरमा पुगेका थिए । हत्यामा संलग्न चौधरीलाई प्रहरीले आजै नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरु गरेको छ । चोधरीको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको डिएसपी कार्कीले जानकारी दिए ।