रङ्गेली/ प्रयोगशालाहरूको नियमन,अनुगमन साथै गुणस्तर कायम गर्ने गरी प्रदेश १ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चलानमा आएको छ ।

प्रदेश १ का प्रयोगशालाहरूको गुणस्तर कायम राख्ने गरी सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रयोगशाला सञ्चालनमा आएको हो । प्रयोगशालाका लागि आवश्यक उपकरण आइ नसकेकाले कार्यालयको आन्तरिक काम मात्र भइरहेको प्रशासनिक अधिकृत पर्शुराम दाहालले बताए । ‘उपकरणको लागि प्रक्रिया शुरु भएको छ ।’ उनले भने ‘ उपकरण आएर सञ्चालन हुन कम्तीमा चार महिना लाग्छ ।’ बायोमेडीकल इन्जिनियरले प्रयोगशालाका लागि कस्ता उपकरण आवश्यक हुन्छन् भेनर छनौट गरे पछि आयात गरिने उनले बताए । अहिले उपकरणको छनौट गरेर टेन्डरमार्फत खरिद गरिने उनले बताए ।

उनका अनुसार कार्यालयले प्रयोगशाला दर्ता,प्रयोगशालकाको अनुगमन, प्रदेशमा रहेका प्रयोग शालाले गर्न नसक्ने काम गर्ने वा बाहिर पठाउने निर्णय मुख्य तीन काम गर्नेछ । कार्यालयले पहिला उपकरण खरिद गर्ने र प्रयोगशाला सञ्चालनमा ल्याउने कामलाई प्राथमिकता दिएको बताए । उपकरण खरिदका लागि सरकारले ४ करोड बजेटको व्यवस्था गरेको छ ।

त्यसपछि प्रयोगशाला सञ्चालनको लागि आफ्नो भवन निर्माण गर्ने उनले बताए । भाडामा रहेको घरमा परीक्षण गर्ने उपकरण जडानमा असहजता हुन सक्ने भएकोले आफ्नै भवन आवश्यक हुने मेडिकल टेक्नोलोजिष्ट प्रकाशचन्द्र कार्कीले बताए । डिपिआरको लागि सरकारले बजेटको समेत व्यवस्था गरिसेको उनले जानकारी दिए ।

हाल उक्त कार्यालयमा ११ जना कर्मचारीको दरबन्दी रहेको छ । करारमा ३ जना गरी जम्मा १४ जना कर्मचारी हुनुपर्नेमा ६ जना मात्र रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंको जस्तो प्रदेश जनस्वास्थ्य प्रयोगशाला बन्ने कार्कीले बताए । यस प्रयोगशालाले प्रदेश १ भरिका रिफर गरिएका नमूनाहरूको परीक्षण गर्ने काम गर्ने उनले बताए । त्यसैगरी जनस्वस्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने रोगहरू डेङ्गु ,मलेरिया,क्षय रोग साथै सर्ने तथा नसर्ने रोगहरूको बारेमा परीक्षण गर्ने । त्यस्ता रोगहरूको बारेमा खोजपडताल गर्ने कार्य प्रादेशिक प्रयोगशालाले गर्ने कार्कीले बताए ।

त्यसैगरी निजी प्रयोगशालाका उपकरण कस्ता रहेका छन् । उपकरण अनुसारको परीक्षण भएको छ÷छैन त्यसको अनुगमन गर्ने तथा प्रयोगशालामा कर्मचारी कस्ता छन् त्यसको जाँच गर्ने काम पनि यसैले गर्नेछ । कर्मचारी दक्ष नभए तालीम दिने लागायतका कामसमेत गर्ने मेडीकल टेक्नोलोजिष्ट कार्कीले बताए ।

मुख्य गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेश १ का प्रयोगशालाहरूको गुणस्तर कायम गर्ने, प्रयोगशाला सम्बन्धी नीति निर्माण गर्ने लगायतका काम गर्ने कार्यालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन सम्बन्धी निर्देशिका तयार भइरहेको छ । अहिले निर्देशिकाको ड्राफ्टमाथि छलफल चलिरहेको छ ।