इनरुवा/ अस्पताललाई मानव स्वास्थ्यको मन्दिर भनेर चिनिने गरेको छ । तर, सुनसरी सदरमुकाम इनरुवा १ मा रहेको जिल्ला अस्पताल इनरुवा सुनसरी रक्सीको भट्टी हो कि जस्तै स्थानीयहरूलाई लाग्ने गरेको छ ।

जिल्ला अस्पताल इनरुवा सुनसरीको परिसरभित्रै ठुलो परिणाममा विभिन्न ब्राण्डका रक्सीको खाली बोतल भेटिएपछि इनरुवा अस्पताल अस्पताल नभएर रक्सी भट्टीजस्तै लागेको स्थानीयहरूले बताएका छन् ।

अस्पतालभित्रै दैनिक रूपमा रक्सीको पार्टी हुने गरेको समेत रहस्य सार्वजनिक भएको छ । फोहोर सफा गर्ने क्रममा अस्पताल भित्र कार्टुनका कार्टुन विभिन्न ब्राण्डको रक्सीका बोतलहरू भेटिएपछि अस्पतालभित्रै रक्सी पार्टी हुने गरेको रहस्य सार्वजनिक भएको हो ।

इनरुवा अस्पतालमा लामो समयदेखि थुप्रिएको फोहोरको डङ्गुरमा रक्सीका बोतल भेटिएको सरसफाइ अभियानमा सक्रिय भएका अभियानकर्मी युवा दिनेश लम्सालले बताए ।

बिरामीको रगतलगायतका उपचारमा प्रयोग गर्ने सामाग्री अस्पताल परिसरमै फ्यालिएको थियो । फोहोरकै कारण विरामी थप सङ्क्रमित बन्ने जोखिम बढ्दै गएपछि सामाजिक अभियन्ताको टोलीले अस्पतालमा सरसफाइ अभियानको शुरुवात गरेको थियो ।

त्यही सरसफाइ अभियानका क्रममा अस्पतालमा फोहोरमात्रै नभई अस्पतालको छतमा र परिसरमा बियर, वाइन र भोड्काका सयौंको सङ्ख्यामा खाली बोत्तल भेटिएको सरसफाइ अभियानमा सहभागी अभियानकर्मी राकेश निरौलाले बताए ।

बोत्तलहरू हेर्दा अस्पतालका कर्मचारीले बेलाबेलामा ठूलै मदिराको पार्टी गर्ने गरेको अभियान्ताहरूको बुझाइ छ । अस्पतालको फोहोर स्थानीयले उठाएपछि आलोचनाको सामाना गर्नु परेको अस्पताल प्रशासन र व्यवस्थापन समितिको बैठकमा चर्काचर्की र आरोप प्रत्यारोपसमेत भएको छ ।

अस्पताल प्रमुख बीना शाक्यको गैर जिम्मेवारीपनाका कारण इनरुवा अस्पतालमा गैर जिम्मेवारी कार्यहरू हुने गरेको व्यवस्थापन समितिका पदाधिकारीहरूको भनाइ छ ।