धरान । कमिसनको चक्करमा डाक्टरहरुले फुड सप्लिमेन्ट्रीमा पर्ने औषधिजन्य सामग्रीहरु सिफारिस गर्ने कारण औषधि पसलहरुले बाध्य भएर राख्नु परेको व्यवसायीहरुले बताएका छन् ।

केही दिनअघिको अनुगमनका क्रममा चिकित्सकहरुले फुड सप्लिमेन्ट्रीहरु बिरामीलाई सिफारिस गरेको भेटिएपछि त्यस्ता फुड सप्लिमेन्ट्रीमा पर्ने सामग्री नराख्न औषधि पसलहरुलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । उक्त निर्देशन प्राप्त गरेपछि औषधि व्यवसायीहरुको छाता संगठन नेपाल औषधि व्यवसायी सङ्घ सुनसरीले सोमबार आकस्मिक छलफल गर्दै फुड सप्लिमेन्ट्रीहरु हटाउने बताएको छ । तर, चिकित्सकहरुले पनि सिफारिस नर्गने कुरामा सुनिश्चित हुनुपर्ने अडान व्यवसायीहरुले राखेका छन् ।

‘डाक्टरहरुले नलेख्ने भन्ने कुरामा पनि सुनिश्चित हुनुप¥यो’ औषधि व्यवसायी वीरेन्द्र गुप्ताले भने, ‘डाक्टरहरुले नै सिफारिस गरेका कारण हामीले सामान राखेका थियौं । नत्र हामीलाई के चिन्ता थियो र ।’ फुड सप्लिमेन्ट्रीका कम्पनीहरुबाट चिकित्सकहरुलाई सिधै कमिसन दिने कारण बिरामीहरुलाई औषधिको नाममा फुड सप्लिमेन्ट्रीमा पर्ने औषधिजन्य सामग्री सिफारिस गर्ने गरेको सङ्घका सुनसरी महासचिव सुवास पौडेलले बताए । ‘डाक्टरहरुले लेख्न छाडेमा हामी राख्दैनौं’ महासचिव पौडेलले भने, ‘समस्या डाक्टरहरुमा हो । पेसेन्ट र पसलेको समस्या होइन । औषधि पसलले उनीहरुलाई कमिसन दिने होइन्, त्यस्ता उत्पादक कम्पनीले नै कमिसन दिने गरेका छन् । त्यही भएर हामी राख्न बाध्य बनेका छौं ।’

food-suplimentry-drug

फुड सप्लिमेन्ट्रीमा पर्ने अाैषधिजन्य सामग्री । तस्बिरः ब्लाष्ट

तर, सात दिनभित्रमा स्टोक खालि गराउनका लागि निर्देशात्मक पत्राचार भएकाले सङ्घको पहलमा खाली गराउने उनले बताए । उक्त पत्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यबाहक उपकुलपति प्रा.डा. गुरु खनालको नाममा पनि आएको छ । त्यसैको बोधार्थ औषधि पसलहरुलाई गरिएको छ । बीपी प्रतिष्ठानको हाता अगाडि मात्रै १ सयभन्दा बढी औषधि पसल सञ्चालनमा रहेका छन् । औषधि व्यवस्था विभागको पत्रमा फुड सप्लिमेन्ट्रीमा पर्ने १ सय ४९ वटा नामका औषधिजन्य सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । यस्ता सामग्रीको बजार मूल्य १ सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्म रहेको छ ।