विराटनगर/ तस्करीमा संलग्न गिरोहले भारत पटना विहारमा उत्पादन भएको कुखुरा अवैध रूपमा भित्र्याएर नेपालका विभिन्न स्थानका पोल्ट्री फार्ममा राखेर तस्करी धन्दा चलाउने गरेको खुलेको छ ।

भारतबाट तस्करी गरिएका कुखुरालाई नेपाली बनाउन सीमाका गाउँमा पोल्ट्री फार्म बनाइएको पाइएको हो । तस्करीबाट भित्र्याइएका कुखुरा नेपाली उत्पादन बनाउन पोल्ट्री फार्म खोलिएको सूचनाका आधारमा मोरङ प्रहरीले आइतबार बिहान अप्रेसन गरी ठूलो परिमाणमा अवैध भारतीय कुखुरा बरामद गरी नष्ट गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

बर्डफ्लुको महामारी भित्रिन सक्ने भन्दै सरकारले भारतबाट पंक्षी तथा पंक्षीजन्य वस्तु भित्र्याउन प्रतिबन्ध लगाएको छ । तर, तस्करीमा लागेका गिरोहले विभिन्न शैली अपनाउँदै भारतीय कुखुरा तस्करी गर्दै आएका छन् ।

मोरङ प्रहरीले आइतबार विशेष सूचना र निरन्तर निगरानीपछि सुनवर्षी नगरपालिका–८ विश्वकर्मा टोलमा नवि हुसेनले सञ्चालन गरेको पोल्ट्री फार्मबाट तस्करीको कुखुरा ठूलो परिमाणमा बरामद गरेको छ । हुसेनले सञ्चालन गरेको फार्मबाट प्रहरीले ठूला कुखुरा १ सय १० वटा, १ हजार ५० वटा चल्ला र केही दिन हुर्केको चल्ला १ हजार १ सय वटा बरामद गरी नष्ट गरेको मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले हुसेनको फार्मबाट बरामद गरेको अवैध कुखुराको मूल्य अन्दाजी २ लाख ९३ हजार बराबरको रहेको छ । ‘भारतबाट आयात गरिएका कुखुरा हुसेनले सुनवर्षी नगरपालिकामा फार्म बनाएर सञ्चालन गरेको पाइयो’ जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी श्रेष्ठले भने, ‘उनीहरूले कुखुराको तस्करी बिहानपख साढे चारबजे अगाडि र रातको समयमा गर्ने गरेको देखिएको छ ।’ तस्करीको कुखुरा रङ्गेली, डाइनियाँदेखि विराटनगरको बजारसम्म पुर्याउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भारतबाट तस्करी गरी ल्याइएका कुखुराको चल्ला नेपालका विभिन्न स्थानमा रहेका फार्मलाई दिने गरेको र ठूला बोइलर कुखुरा फ्रेस हाउस र होटलहरूमा दिने गरेको प्रहरीले जनाएको छ । तस्करीमा लागेका हुसेन ३० वर्षदेखि सीमावर्ती क्षेत्रमा कुखुरा फार्म खोली सञ्चालन गर्दै आएका थिए । उनी लामो समयदेखि भारतबाट अवैध रूपमा कुखुरा आयात गरी नेपालका विभिन्न स्थानमा बिक्री गर्दै आएका थिए ।

नेपालमा भन्दा भारतमा ठूला कुखुराको मूल्य प्रतिकिलो १ सय रुपैयाँ सस्तो पर्ने भएकोले तस्करहरू भारतबाट अवैध रूपमा आयात गर्ने गर्दछन् । उनीहरूले दैनिक रूपमा मोटरसाइकलमा तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ । भारतबाट तस्करी गरिएको कुखुराको चल्ला प्रतिगोटा ३० रुपैयाँ पर्छ । तर, त्यही चल्ला नेपाली किसानले उत्पादन गरेको भन्दै १ सय रुपैयाँमा बिक्री गरिँदै आएको छ ।

प्रहरीले नियन्त्रणमा जति कडाइ गर्दैछ, उति नै कुखुरा तस्करी पनि बढिरहेको छ । मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रमा कुखुरा र चल्लाका तस्करहरू दैनिकजसो पक्राउ परिरहेका छन् । तर, तस्करीमा संलग्न व्यक्तिलाई सामान्य जरिवाना गरी छोड्ने गर्दा कारोबार नरोकिनुको सट्टा बढ्दै गएको हो । तस्करीले निरन्तरता पाउँदा जुनसुकै बेला बर्डफ्लुको महामारी फैलिन सक्ने खतरा रहेको सीमास्थित पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ । यसअघि पनि कुखुरा तस्करी आरोपमा मोरङ प्रहरीले भारतीय नागरिकलाई पनि पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका ती व्यक्ति भरिया रहेका थिए ।

पशु क्वारेन्टाइन कार्यालय विराटनगरका प्रमुख चिकित्सक केशवकुमार सिंहले खुल्ला सीमाका कारण कुखुरा तस्करी नरोकिँदा बर्डफ्लुको जोखिम पनि उत्तिकै रहेको बताए । उनले प्रहरीको सहयोगमा तस्करी नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिए ।