नेपाल टेलिभिजनमा करिब १८ वर्षसम्म प्रसारण भएको हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा अब फिल्म निर्माण हुने भएको छ ।
यो सिरियलका प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तका छोरा साकार पन्तले फिल्मको निर्देशन गर्नेछन् । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक निर्माण घोषणा गरियो । तिहारपछि फिल्मको छायाङ्कन शुरु हुनेछ ।

सन्तोष सन्त र साकार पन्तको कथालाई सन्दीप किस्नाले पटकथामा ढालेका छन् । रवि सायमीले फिल्म खिच्नेछन् भने हर्कुलस बस्नेतको सङ्गीत रहनेछ । ‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै प्रमुख भूमिका रहने फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नवकलाकारद्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतकोे अभिनय रहनेछ ।