इनरुवा/ स्वास्थ्य संस्था जहाँ मानिसहरू स्वास्थ्य लाभको कामनासहित उपचारकालागि पुग्ने गर्छन् । स्वस्थ र सफा रहनुस् भन्ने सन्देश प्रवाह गर्ने तिनै स्वास्थ्य संस्थामा फोहोरको डङ्गुर थुप्रिनु पाच्य कुरो पक्कै नहोला ।

फोहोरको थुप्रो त्यो पनि अस्पतालबाट निस्कने फोहोर । जो मानव स्वास्थ्यका लागि निकै नै घातक मानिन्छ । तर, इनरुवा अस्पतालमा भने उपचारकालागि पुग्ने जोकोहीलाई यतिवेला फोहोरको थुप्रोले स्वागत गर्ने गर्छ । बिरामी उपचार कक्ष पुग्नु अगावै अस्पताल परिसरमा थुपारिएको फोहोरको डङ्गुरमा भन्किरहेका झिँगा र किरा फट्याङ्ग्रा छिचोल्न बाध्य छन् । कुकुर र संँुगुरले सोही फोहोरमा आहार खोजिरहेको दृश्यसमेत अस्पताल छिर्नेले सहजै देख्न सक्छन् ।

सिरिन्ज, औषधीका बोतल, घाउ, खटिरामा प्रयोग गरिएका रुवा, रगतले लतपतिएका ब्यान्डेज, महिनावारीमा प्रयोग गरिने सेनेटरी प्याडजस्ता अन्य अस्पतालजन्य फोहोर जो आफैैंमा घातक मानिन्छन् । जसको समयमै व्यवस्थापन गरिनुपर्ने हुन्छ । धेरैजसो फोहोरलाई अस्पताल परिषरमै नष्ट गरिनुपर्ने हुन्छ । जसका लागि छुट्टै बजेटसमेतको व्यवस्था गरिने प्रावधान रहेता पनि इनरुवा अस्पतालको हकमा भने कार्यान्वयन भएको पाइँदैन ।

बेलाबखत इनरुवा नगरपालिकाले अस्पतालको फोहोर सुनसरी खोलामा मिल्काउँदै आएकोमा केही महिनायता नगरपालिकाले समेत फोहोर उठाइदिएको छैन । नगरपालिकाले अस्पतालजन्य फोहोर जथाभावी फाल्न नहुने भएकाले सोको व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने बताउने गरेको छ ।

अस्पताल परिसरमै खाल्डो खनी वा आगो लगाई फोहोर नष्ट गर्नुपर्नेमा अस्पताल प्रशासनको बेवास्ताका कारण यतिवेला परिषरमा जताततै फोहोर थुप्रिएको छ ।

यसले गर्दा दुर्गन्ध बढ्नुका साथै उपचारका लागि पुग्ने बिरामीलाई फोहोरको थुप्रोले थप आजित तुल्याएको छ । उपचारका लागि अस्पताल पुगेका रामदेव मेहता फोहोरलाई व्यवस्थापन गर्न नसक्नु अस्पताल प्रशासनको गैरजिम्मेबारीपना भएको बताउँछन् । सदरमुकामको अस्पताललाई थुप्रिएको फोहोरले गिज्याइरहेको उनको बुझाइ छ ।

इनरुवा अस्पताल सेवा प्रवाहका लागि चिकित्सक आउन नमान्ने समस्याबाट पनि सदैव गुज्रिंदै आएको छ । अस्वस्थ प्रतिष्पर्धा र आन्तरिक खिचातानीमा रुमल्लिंदै आएको अस्पतालमा कमजोर व्यवस्थापन र गैरजिम्मेबारीपनाको पछिल्लो उदाहरण बनेको छ लथालिङ्ग फोहोर । जो आफैंमा डम्पिङ साइडझैं बनेको छ ।

इनरुवा अस्पतालका सूचना अधिकारी लोकेन्द्र आचार्य नगरपालिकाले अस्पतालको फोहोर उठाउन छाडेकाले समस्या भएको बताउँछन् । फोहोर व्यवस्थापनकालागि आएको रकम समेत नगरपालिकाले चलाइदिएकाले आफुहरुलाई समस्या भएको उनले बताए ।

नयाँ बजेट भने सोझै अस्पतालकै खातामा प्राप्त हुने क्रममा रहेकाले अबभने सोको व्यवस्थापन हुने उनले बताए । आचार्यले फोहोर अस्पताल हातामा जलाउन स्थानीयले अवरोध गरेकाले सुनसरी खोला किनारमा मिल्काउने गरेको बताए । पटकपटक गर्दा बढी खर्च लाग्ने हुँदा ट्याक्टरको क्षमता बमोजिमको फोहोर थुपारेर एकमुष्ट लाने गरिएकोमा पछिल्लो पटक थुप्रिएको फोहोर चासो र चर्चाको विषय बन्न पुगेको उनले बताए । केहीदिन भित्रै सो फोहोर व्यवस्थापन गरिने उनले जानकारी दिए ।

उता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारी सरोकारवालाहरुको गैरजिम्मेबारीपनका कारण इनरुवा अस्पतालको अवस्था दयनीय बन्दै गएको बताउँछन् । नगरपालिकाको असहयोग, अस्पताल कर्मचारीको आफुखुशी र समस्याबाट भाग्ने मेसुको तालले स्वयं अस्पताललाई रोगग्रस्त बनाएको भण्डारीको बुझाई छ । भण्डारी भन्छन्, “अस्पतालमा ताल न बेतालको राजनीति हुँदो रहेछ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गरिने राजनीति अशोभनीय छ ।”

उनले आफुले चाहेर पनि अस्पताल सुधारकालागि सोचे अनुरुपको काम गर्न नसकेको सुनाए । भण्डारीकोे बुझाईमा अस्पतालमा जरा गाडेको जालो निस्कृय नपारिएसम्म आशातित उपलब्धी सम्भव छैन् । जसकालागि एक्लो प्रयास असम्भव छ ।

सदरमुकाम इनरुवामा रहेको अस्पतालले इनरुवा सहित दक्षिणी र आसपासको जनताको हकमा सेवा प्रवाह गर्दै आएको छ । त्यसका अलावा कोशी राजमार्गको इनरुवा सडक खण्डमा दुर्घटना भए उपचारकालागि पुग्ने पहिलो थलो समेत इनरुवा अस्पतालनै हो ।