विराटनगर/ उद्योगबाट निस्किएको फोहोरले वरिपरि दुर्गन्ध फैलिएको छ । बोटो हिँड्ने बटुवा नाक बन्द गरेर हिँडडुल गर्छन् । पाउरोटी, केक र बिस्कुटलगायतका विभिन्न खाद्यवस्तुहरूको उत्पादन हुने उद्योगपरिसरभित्र झन् बेहाल छ ।

पाउरोटी बनाउन प्रयोग हुने कच्चापदार्थभरि झिँगा भन्किएको छ । त्यहीमाथि कामदार एप्रोन र हातमा लगाउने पञ्जा बिना असिन–पसिन हुँदै पिठो मुस्दैछन् । शरीरबाट नस्किएको पसिना हातबाट कच्चापदार्थसम्म पुगेको प्रष्ट देखिन्छ । कोही पाउरोटी पकाउने भट्टीभित्र हालेको पाउरोटी झिक्न तयार छन् । मङ्गलबार विराटनगर–११ केशलिया रोडस्थित ‘सगुन पाउरोटी उद्योग’ परिसरभित्र अनुगमन टोली पुग्दा देखिएको दृश्य हो यो ।

बालबालिकादेखि सबै उमेर समूहले खाजाको रूपमा खाने गरेको पाउरोटी उत्पादनमा उक्त उद्योगले सरसफाइमा ध्यान नदिइकन लापरबाहीपूर्ण तरिकाले उत्पादन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । फोहोर र दुर्गन्धित तरिकाले पाउरोटी, केक र बिस्कुटलगायतका खाद्यवस्तु उत्पादन गर्ने ‘सगुन पाउरोटी उद्योग’ बाट उत्पादन हुने वस्तुको तत्काल गुण नियन्त्रण कार्यालयले रोक लगाएको छ ।

सगुन पाउरोटी उद्योगमा उत्पादन हुने खाद्यवस्तुहरूको उत्पादन भएको वस्तुको लेबलदेखि उत्पादन, उपभोग्य मिति, ब्याच नम्बरसमेत नभेटिएको र गुणस्तरमा पनि ध्यान नदिएको पाइएपछि तत्कालको लागि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

‘अहिले तत्कालको लागि उद्योगबाट उत्पादन हुने सम्पूर्ण खाद्यवस्तुको उत्पादनमा रोक लगाएका छौं’ उनले भने, ‘सरकारले तोकेको मापदण्डअनुसार उत्पादन भएको वस्तु खान योग्य छ या छैन, त्यसको प्रशिक्षण गर्नका लागि हामीले सेम्पल पनि ल्याएका छौं ।’ ल्याव परीक्षणपछि आउने रिपोर्ट हेरेपछि सरकारले तोकिएको मापदण्डअनुसार छ या छैन पछि थाहा हुने उनले बताए ।

सो उद्योगको अनुगमन खाद्य निरीक्षक शङ्कर न्यौपानेसहितकोे टोलीले गरेको थियो । ‘सगुन पाउरोटी उद्योगले सरसफाइ ध्यान नदिएको प्रष्ट देखिएको छ’ उनले भने, ‘यहाँ काम गर्ने मजदुरले हातमा पञ्जा र टाउकोमा टोपी पनि लगाएका थिएनन् ।’ उद्योगलाई सरसफाइमा विशेष ध्यान दिन, एप्रोन, क्याप, मास्क लगाएर मात्र मजदुरलाई काममा लगाउन, खुल्ला ठाउँमा उत्पादन र प्याकिङ बन्द गर्न निर्देशन पनि दिएको उनले बताए ।

सरकारले तोकेको गुणस्तरमा रहेर उत्पादन नगर्ने उद्योगलाई खाद्य ऐनअन्तर्गत रहेर गुण नियन्त्रण कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाउँदै आएको छ । खाद्य ऐन २०२३ अनुसार गुणस्तरहीन खानेकुरा उत्पादन गरेको ठहर भए ५० हजार रुपैयाँको जरिवाना, ५ वर्षसम्मको कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

उक्त पाउरोटी उद्योगले दैनिक २ हजारदेखि २ हजार ५ सय प्याकेट ब्रेड, पाउरोटी, बिस्कुट र केकलगायतका खाद्यवस्तुहरू उत्पादन गर्ने गरेको छ । उद्योगका सञ्चालक अरविन्द स्वर्णकारले सरकारले तोकेको मापदण्डमा रहेर खाद्यवस्तुको उत्पादन गर्दै आएको दाबी गरे । उनले अब सरसफाइमा विशेष ध्यान पु¥याउने प्रतिबद्धता जाहेर गरेका थिए ।

मोरङमा करिब ३ सयभन्दा बढी बिस्कुट उद्योग सञ्चालनमा रहेको बताइएको छ । यसअघि पनि विराटनगर–१० स्थित निर्मणा बेकरीमा पनि सरसफाइमा ध्यान नदिई खाद्यवस्तु उत्पादन गर्दा खाद्य प्रविधिले तीन साता उत्पादन रोक लगाएको थियो । उक्त उद्योगले उत्पादन गर्ने वस्तुहरूको गुणस्तर सुधार गरी सरसफाइयुक्त बनाएपछि मात्र पुनः सञ्चालनमा आएको थियो ।