धरान/ मङ्सिर १४ को उपनिर्वाचनको मिति नजिकिँदै जाँदा धरानमा मेयरका आकांक्षीहरू बढ्दै गएका छन् ।

पार्टीगत रूपमा मेयरमा दाबेदारी गर्नेहरूको लर्कोका बीच स्वतन्त्र उम्मेदवारले पनि मेयरको आकांक्षी रहेका छन् । धरान–१८ का हर्क साम्पाङले मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरे ।

स्वतन्त्र उम्मेदवार भनिए पनि उनलाई जनसरोकार मञ्च नेपालको समर्थन रहेको छ । जनसरोकार मञ्चले धरानमा भ्रष्टाचारसहित विकृति र विसङ्गतिको विरुद्धमा लड्दै आएको छ । मेयरमा उम्मेदवारी घोषणा गरेका साम्पाङले भ्रष्टाचारमुक्त धरान आफ्नो अभियान रहेको दाबी गरे । उनले आफू मेयरमा जिते सुशासनयुक्त धरान बनाउने घोषणा पनि गरे ।

विकास निर्माणलगायतमा दीर्घकालीन योजना ल्याउने उद्घोष गरे । धरानबासीको साथ र सहयोग पाएर जितेमा आफूले राजकीयताको अन्त्य गरेर छाड्ने बताए । ‘म करोडको गाडी चढ्दिन, जनताको हितमा काम गर्छु’ –उनले भने । जनतालाई सूचनाको अधिकार, शान्ति सुरक्षा, सामाजिक न्याय, स्वतन्त्रताको अधिकार, चुस्त दुरुस्त प्रशासन, वैज्ञानिक कर प्रणाली, संविधानले दिएको जनताको मौलिक हकको ग्यारेन्टीलगायतमा आफूले काम गर्ने प्रतिबद्धता गरे ।

उनले स्थानीय सरकारलाई संविधानले दिएको २२ वटा काम, कर्तव्य, अधिकारमध्ये कर असुल्नेबाहेक केही पनि अधिकार प्रयोग नगरेको आरोप लगाए । ‘स्थानीय सरकारले संविधानले दिएको यति धेरै अधिकारमध्ये कर असुल्न मात्रै काम गरेको छ’–उनले भने ।

उनले आफूलाई जनसरोकार मञ्चको साथ र समर्थन रहेकाले मेयर पदमा उम्मेदवारी दिएको घोषणा गरे । साम्पाङ संस्थापक संयोजक रहेको राष्ट्रिय एकता सञ्जाल नेपाल र जनसरोकार मञ्च नेपालका बीच ७ बुँदे शर्तमा सहमति बनेको छ । उक्त सहमतिअनुरूप नै मेयर पदमा उम्मेदवारी घोषणा गरेको मञ्चका अध्यक्ष कृष्णनारायण पलिखेले बताए ।

उनले खानेपानीको दीर्घकालीन समस्याको समाधानका लागि अविलम्ब उचित व्यवस्थान गर्ने गराउने, सर्दु जलाधार क्षेत्र धरानका लागि खानेपानीको मुख्य स्रोत भएकाले त्यसलाई संरक्षित क्षेत्र घोषणा गर्ने गराउने सहमति बनेको बताए । त्यस्तै भ्रष्टाचारमुक्त शहरको परिकल्पनालगायतका शर्तहरू राखिएका छन् । उक्त शर्तहरू तोडेमा मेयरका उम्मेदवारबाट फिर्ता वा राजीनामा गराउन सक्नेसम्मको सहमति बनेको उनले बताए ।

उपनिर्वाचनका लागि धरानमा नेकपाबाट प्रकाश राई, विजय राई, आइन्द्रविक्रम बेघाको नाम अग्रपंक्तिमा रहेको भए पनि नेकपाबाटै जिल्ला तहका नेता तीर्थ मास्केले पनि उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसबाट तिलक राईको नाम क्षेत्रीय समितिमा सिफारिस गरिएको छ । त्यस्तै समाजवादी पार्टीबाट गजेन्द्र इस्बो, ताजुव लिम्बू, शुभचन्द्र राई, सङ्घीय लिम्बुवान पार्टी नेपालबाट अमर इजम र सञ्जुहाङ साँवाको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।