इटहरी/ इटहरीको बुढीगङ्गा घाटमा जलेको शव घोचिरहेको अवस्थामा भेटिन्छन् ज्ञानप्रसाद पौडेल । उनी उमेरले ६७वर्ष पुगिसके । विगत ४४ वर्षदेखि उनी यसैगरी घाटमा बसेर शवसँग खेलिरहेका छन् । उनलाई ‘शवको साथी’ भन्दा पनि फरक पर्दैन ।

२०३२ साल देखि शव पोल्ने समाजसेवा काम गरिरहेका पौडेल धनकुटाको अर्खौलेमा जन्मिएका हुन् । ३०३२ सालमा उनको परिवार बसार्इँ सरेर पहाडबाट इटहरी झर्यो । इटहरीमा त्यती खेर बुढी खोला नजिकै घर भएका पौडेलले धर्म कमाइने सोचका साथ शव पोल्ने काम गर्दै समाजसेवा शुरु गरेका हुन् ।

इटहरीमा जुटविकास तथा व्यापार संस्थानको प्रमुख भएर काम गरिसकेका पौडलले प्रमुख पदमा हुँदासम्म शव पोल्न सहयोग गर्ने काम छोडेनन् । घाटमा शव जलाउन आउनेहरूलाई उनले जहिल्यै सहयोग गरे । गरिब र निमुखालाई आफैले खर्च समेत गरेर शव जलाउने काम गरेको उनी सुनाउँछन् । कोही कोहि त बुढी खोला मुनि शव राखेर सहयोग गरिदिनु न भन्दै घरमै आउँछन् । त्यती बेला मनमा आनन्द आउँछ उनी खुशीसाथ भन्छन् ।

बजारमा कसैकसैले लाश पोल्ने फलानो भन्न थालेछन् । भर्खरै एक जना आफन्तले पनि शवसँग खेल्ने काम छोड्न भने । तर, मेरो धर्म हो म शवसँग खेल्न बानी नै परिसकेँ । यस्तो काम नगरिदिए हामीले मृत्यु संस्कार कसरी सम्पन्न गर्ने ? यो एउटा पवित्र काम हो म बाँचुञ्जेल घाटमा आउनेहरूलाई सहयोग गर्छु उनी भन्छन् ।

घाटको झिनो खुशी
लामो समयसम्म घाटमा चिनेका र नचिनेकाहरूको शव पोल्ने समाजसेवा गर्दै आएका पौडेल अहिले बुढीगङ्गा घाट व्यवस्थापन समितिका सचिव छन् । तर, उनी आफूले सानैदेखि गर्दै आएको शवलाई घोच्ने काम पनि गर्छन् । उनी मलामीहरूलाई सघाउँछन् । आवश्यक परे आर्थिक सहयोग समेत गर्छन् ।

पौडेल इटहरी आउँदा इटहरी सानो थियो । २०३२ सालतिर इटहरी शहर सानो गाउँजस्तै थियो । त्यती बेला इटहरीमा कसको मृत्यु भयो त्यो थाहा हुन्थ्यो । कसैको मृत्यु भएसँगै घाटमा दाहासंस्कारको चाँजोपाजो मिलाउन उनी जान्थे । तर, अहिले इटहरी ठुलो भयो नयाँ पुस्ताले मलाई चिन्दैनन् उनी भन्छन् ।

गाउँमा हुँदा अग्रजहरूले भनेका थिए १०८ जनाको मलामी गए ठुलो धर्म मिल्छ भनेको सुनेर मलामी जाने र सहयोग गर्ने उप्ररेणा मिलेको उनी बताउँछन् । धर्मको लागि खुशी छु उनी भन्छन् । अहिले सम्म ६ सय ३१ जनाको शव पोलेको उनको डाइरीमा रेकर्ड छ । उनी भन्छन् अहिले सम्म धेरैको शव पोलँे अझै पनि पोल्न हिचकिचाउँदिन ।

मसान घाटका डाक्टर
ज्ञानप्रसाद पौडेल मुर्दाहरूको डाक्टर हुन् । शवहरूको बारेमा आफूलाई धेरै ज्ञान भएको उनी भन्छन् । धेरैको शव घोच्दा घोच्दा उनलाई ज्ञानगुणको कुरा सबै थाहा भइसकेको छ । धेरैको शव जलाउँदा आफूलाई जति नै दुःख लागे पनि जलाउनैपथ्र्र्याे । त्यस बेलाको मनमा हुने पीडालाई भन्न नसक्ने भए पनि जलाउनै पर्ने उनी बताउँछन् ।

दैनिकी घाटमा नै बिते पनि घर फर्किएर नुहाएपछि घाटको जीवन बिर्सिने बताउँछन् पौडेल । ‘सुरुसुरुमा अलि गाह्रो भयो, खाना खाँदा आफूले जलाएको लास झल्झली आँखामा आउँथ्यो,’ चिनेको नचिनेको सबैको छाक छोडेको उनी बताउँछन् ।

टाउँकोमा भाग्यले लेखेको कुरा समेत आफूले निकाल्दिएको उनी सम्झन्छन् । धेरैको खप्परमा लेखेको कुरा मैले पत्ता लगाउँछु । धेरैले थाहा पाउँदैनन् तर भाग्यमा लेखेको कुरा म पत्ता लगाउँछु उनी भन्छन् । दुई जिउका महिलाहरूलाई जलाउँदा पनि आफैले बच्चा निकालेर जलाएको उनी सुनाउँछन् । दुई जिउके महिला मर्दा आफैले पेटको बच्चा निकालेर पोलेको छु उनी भन्छन् ।