वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालयमा भएको तोडफोडमा संलग्नहरूको नजिक पुगिसकेको प्रहरीले दाबी गरेको छ ।

असोज २० गते राति विद्यालयमा रहेका विद्युतीय तथा कम्प्युटरजन्य सामग्री तोडफोड गरी भौतिक क्षति पु¥याइएको थियो । तोडफोडमा संलग्नहरूको नजिक पुगिसकेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर शरणकुमार दाहालले दाबी गरे । उनले चाडको बिदाका कारण अदालतसँग अनुमति लिन नसकिएकाले गर्दा केही ढिलाइ भएको बताए । सोमबारबाट अदालत खुलेकोले कागजी प्रक्रिया पूरा गरेर दोषीलाई सार्वजनिक गरिने बताए । इन्स्पेक्टर दाहालले घटना विद्यालयसँग नजिक रहेका व्यक्तिहरूले नै गराएको दाबी गरे पनि नाम खुलाउन चाहेनन् ।

तोडफोडका कारण प्रधानाध्यापक, लेखा र परीक्षा कोठामा रहेका २–२ थान ल्यापटप र डेस्कटप कम्प्युटर, रङ्गीन र सादा गरी ३ थान प्रिन्टर, फ्याक्स मेसिन, इन्टरनेटको राउटर, स्टिल दराजलगायत ट्रफी र सिसाहरू तोडफोड गरी ८ लाख रुपैयाँ बराबरको क्षति पु¥याएको प्रधानाध्यापक प्रह्लाद भट्टराईले बताए । विद्यालयका लेखा अधिकृत प्रह्लाद बुढाथोकी, कार्यालय सहयोगीद्वय पशुपति पोखरेल र हर्कबहादुर कार्कीलाई ६० वर्ष उमेर नाघेको भन्दै मङ्सिर महिनाको १ गतेबाट अवकाश दिने निर्णय गरेको थियो । यसबाट उनीहरू सामान्य असन्तुष्ट भएको प्राचार्य भट्टराईले बताए ।

घटना भएको रात विद्यालयमा चौकीदार हर्कबहादुर कार्की पनि विद्यालय नगएर घरमा बसेका थिए । कार्की बिदामा बसे पनि सम्बन्धित कसैलाई पनि जानकारी नगराएको प्राचार्य भट्टराईले बताए । तोडफोड गर्न विद्यालयको कोदालो, हथौडी, यसैगरी विद्यालयभित्र रहेको आदर्श कलेजको पिलासलगायत सामग्री प्रयोग गरिएको छ । सधैँ प्रयोग गरिने विद्यालयको मुख्य गेटको चाबी कार्यालय सहयोगीहरू हर्कबहादुर कार्की, पशुपति पोखरेल र नन्दीप्रसाद घिमिर सँग रहने गरेको थियो । अन्य गेट भने प्रायः बन्द रहने गरेका थिए ।

घटनाको जानकारी दिन मङ्गलबार विद्यालयले बोलाएको सर्वपक्षीय भेलामा, विद्यालयका सबै शिक्षक शिक्षिका र कर्मचारीलाई घटनाको छानबिनको दायरामा ल्याइनुपर्ने माग गरिएको छ । घटनाले सबैको साझा शिक्षाको मन्दिर विद्यालयलाई त्रसित बनाएको भन्दै विभिन्न राजनीतिक दल, सङ्घ–संस्थाको भेलाले चाँडो दोषी पत्ता लगाई कानूनी कारबाहीको माग गर्दै प्रहरी अनुसन्धानमा सम्पूर्ण सहयोग पु¥याउने भेलाले निर्णय गरेको छ ।

प्रहरीले कार्यालय सहयोगी नन्दीप्रसाद घिमिरे र हर्कबहादुर कार्कीलाई बोलाएर बयान लिइरहेको छ । प्रहरीले चाँडै नै पोलीग्राफ टेष्ट र डिएनए परीक्षणसमेत गर्ने प्रहरीलाई उद्धृत गर्दै प्राचार्यले जानकारी दिए । विद्यालयले आन्तरिक छानबिन समितिसमेत गठन गरी घटना छानबिन गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रि राउतले बताए ।