धनकुटा/ केहीदिन यतादेखि करदाता सेवा कार्यालय धनकुटामा विभिन्न शीर्षकमा कर तिर्ने सेवाग्राही करदाताहरूको घुइँचो लागेको छ ।

आ.व.०७५/७६ को आयकर शुल्कलगायत अन्य कर बुझाउने समय चालू आर्थिक वर्षको असोज मसान्तसम्म मात्र भएका कारण करदाताहरूको सेवा कार्यालय धनकुटामा दशैंलगत्तै अत्यधिक मात्रामा घुइँचो लागेको हो । सोमबार र मङ्गलबार कर तिर्न करदाता सेवा कार्यालय धनकुटा पुगेका अधिकांश करदाताले कर तिर्न धेरै झञ्झटिलो भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले एक जना सेवाग्राहीले ६–७ स्थानमा लाइन लाग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

सोमबार कर तिर्न करदाता सेवा कार्यालय धनकुटा आइपुगेका ज्येष्ठ नागरिक जिल्ला सङ्घ तेह्रथुमका सह–सचिव ६९ वर्षीय जीवनकुमार ढुङ्गानाले संस्थाको कर दाखिला गर्न ८ घण्टा लागेको बताए । ढुङ्गानाले आफूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कर कार्यालयमै लाइन लाग्नुपरेको भन्दै कर तिर्न झन्झटिलो भएको गुनासो गरे ।

उनीजस्तै कर दाखिला गर्न करदाता सेवा कार्यालय धनकुटा आएका भोजपुर तिवारी भञ्ज्याङस्थित खेसोङ किराना पसलका प्रोप्राइटर इन्द्रहाङ राईले पनि ७ घण्टा कुर्दा पनि कर चुक्ता प्रमाण–पत्र लिन नसकेको बताए । राईले शुरुमा नगद काउण्टरको लाइन, त्यसपछि विवरण इन्ट्री तथा पान दर्ताको लाइन, त्यसपछि फेरि हाकिम सा’वको टेबुलमा रुजु, त्यसपछि अर्को लाइनमा विवरण रुजु कर चुक्ता लिने

त्यस पुनः हाकिम सा’वकै टेबुलमा पुगेर चलानी गर्न जाँदासम्म लाइन लाग्नुपर्ने भएकोले बढी झन्झटिलो भएको बताए । धनकुटा–१ हिलेस्थित गुम्बा ज्वेलरीका प्रोप्राइटर मोहन धमलाले कार्यालयमा सहज तरिकाले कर दाखिला गर्ने व्यवस्था सुविधाजनक नभएको बताए । उनले सोमबार कार्यालय समयमा करिब ३ बजेतिर अचानक विद्युत् आपूर्ति बन्द भएपछि सेवा ठप्प भएको बताए ।

विद्युत् आपूर्ति बन्द भएपछि कार्यालयको जेनेरेटर सञ्चालन गर्न तेल नभएपछि पेट्रोल पम्पबाट तेल लिएर आउँदा करिब १ घण्टा सेवा प्रभावित भएको धमलाले बताए । उनले विद्युत् आपूर्ति बन्द हुँदा जेनेटर सञ्चालन गर्नको लागि आवश्यक तेलको व्यवस्थापन गर्न नसक्नु कार्यालयको लापरबाही भएको बताए । सयौं सेवाग्राहीले १ घण्टासम्म हाकिमको टेबुल कुरेर बस्नुपरेको धमलाले गुनासो गरे । यस विषयमा कार्यालय प्रमुख रमेश ढकालसँग सम्पर्क गर्दा अचानक उनले भने, ‘बत्ती गयो, जेनेरेटरमा तेल रहेनछ, धनकुटाको जिरोपोइन्टमा पनि सकिएको रहेछ, पात्ले खोला पुगेर तेल लिएर आउँदा समय लागेको हो ।’ सेवाग्राहीले त गुनासो गरे नि भन्ने ब्लाष्टको जिज्ञासामा उनले थपे, ‘कहिलेकाहीँ यस्तै त हो नि ।’

२०६९ साल माग ४ गतेदेखि धनकुटामा पहिलो पटक करदाता सेवा कार्यालय स्थापना भएको थियो । शुरुमा धनकुटा जिल्लाको मात्र कर लिने गरेको करदाता सेवा कार्यालय धनकुटाले ०७५ असोज १ गतेदेखि आफ्नो सेवा क्षेत्र विस्तार गरेर तेह्रथुम र भोजपुर जिल्लालाई थपेको छ । एकातिर सेवा प्रवाह गर्ने क्षेत्र फराकिलो हुनु र अर्कोतिर स्थानीय तहमा जनप्रतिनिधि आएदेखि ९० प्रतिशत सेवाग्राही करको दायरामा आएको कारण कार्यालयमा करदाताहरूको घुइँचो लागेको कर अधिकृत रमेश ढकालले बताए । उनले आ.व.०७५/७६ को असार मसान्तसम्ममा धनकुटा करदाता सेवा कार्यालयले १८ करोड ७८ लाख राजश्व सङ्कलन गरेको बताए । त्यसैगरी चालू आ.व.को श्रावण महिनामा मात्र ३ करोड ५० लाख राजश्व सङ्कलन भएको बताइएको छ । कार्यालय प्रमुख ढकालले वार्षिक रूपमा जम्मा भएको राजश्वलाई सरदर हेर्दा मासिक १ करोड ७० लाखदेखि २ करोडको हाराहारीमा सङ्कलन हुने गरेको बताए ।

उनले करदता सेवा कार्यालय धनकुटामा आ.व.०७६/७७ मा २० वटा राजश्वको शीर्षकहरू करदाखिलाको लागि कायम भएको बताए । जसअन्तर्गत एकलौटी फर्म तथा व्यक्तिगत आय, पारिश्रमिक कर, पँुजीगत लाभकर, पब्लिक लिमिटेड कम्पनीको लाभकर, प्राइभेट लिमिटेडको लाभकर, अन्य संस्थाको आयकर, ढुवानी भाडाकर, ब्याजकर, आकस्मिक लाभकर, सामाजिक सेवाकर, स्वास्थ्य सेवाकर, शिक्षा सेवाकर, बिक्री तथा मूल्य अभिवृद्धि कर, परामर्श तथा ठेक्का मू.अ.कर, पर्यटन सेवा सङ्कलन मू.अ.कर, सञ्चार सेवा अन्य सेवा मू.अ.कर, बेदर्तावालाबाट गरिने मू.अ.कर, सुर्तीजन्य पदार्थ र अन्तःशुल्क, मदिरा अन्तःशुल्क र अन्य औद्योगिक उत्पादन अन्तःशुल्क रहेको बताए ।

line1