विराटनगर/ मोरङ प्रहरीले हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका–३ का २४ वर्षीय उमाकान्त रायलाई मङ्गलबार विराटनगरस्थित कञ्चरबारीबाट पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले उनको साथबाट नगद १० लाख रुपैयाँ पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।

उनी विराटनगरस्थित गणपति मनि ट्रान्सफरमा काम गर्दछन् । विगतमा सहकारीको आडमा हुने गरेको हुण्डीको कारोबार अहिले मनि ट्रान्सफरलाई देखाएर हुने गरेको छ । हुण्डीमार्फत् अवैधरूपमा आर्थिक कारोबार भइरहेको र त्यसको ठूलो सञ्जाल फेरि सक्रिय भएको प्रहरीका अधिकारीहरू बताउँछन् । महानगर क्षेत्रमा हुण्डी कारोबारमा ठूलो गिरोह सक्रिय रहेको बताइन्छ ।

पक्राउ परेका राय भरिया रहेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । हुण्डीमार्फत् आएको पैसा गन्तव्यसम्म पुर्याएबापत ३ सय रुपैयाँ पाउने गरेको उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् । ‘बरामद गरेको अवैध रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको स्वयम् पक्राउ परेका रायले स्वीकार गरेका छन्’ डिएसपी खिउँजुले भने, ‘बरामद भएको रुपैयाँ सम्बन्धित ठाउँमा लैजाने तयारी गर्दा जफत गरेको हो ।

स्रोत खुलाउन नसकेको अवैध रुपैयाँ कहाँ लैजान लागेको भन्ने अहिलेसम्म खुलेको छैन । हामी अनुसन्धानको क्रममा छौं ।’ प्रहरीले कडा निगरानी राखे पनि विराटनगर महानगरपालिका क्षेत्रमा अवैध हुण्डीको कारोबार हुने गरेको यस घटनाले पुष्टि गरेको छ ।

मोरङ प्रहरीले यसअघि विराटनगरमा सहकारीको आड लिएर हुने अवैध हुण्डीको कारोबारीलाई ६९ लाख ५७ हजार ६ सय रुपैयाँसहित बरामद गरेको थियो । आवश्यक कारबाहीको लागि प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यायमा पठाउने गरेको छ । तर, राजस्व अनुसन्धानले गहन रूपमा अनुसन्धान नै नगरी पहँुचका आधारमा बरामद भएको धरौटी बराबरको रकम बुझाएर हुण्डी कारोबारीलाई छाडेको थियो । त्यही भएर पक्राउ परेका व्यक्ति पुनः धरौटी रकम बुझाएर हुण्डीको कारोबारमा सक्रिया हुने गरेका छन् ।

१ लाख पठाउँदा ५ हजार आम्दानी
अवैध धन्दा हुण्डीको कारोबार गर्ने गिरोहले १ लाख रुपैयाँ पठाउँदा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरीका अनुसन्धान अधिकारीहरू बताउँछन् ।

मनि ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाइने र बैङ्कबाट १० लाखभन्दा बढी पैसा पठाउँदा पैसाको स्रोत देखाउनुपर्ने भएकोले अवैध धन्दा गर्नेहरूले हुण्डीको प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् ।हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउनु नपर्ने र राजस्वसमेत छली गर्ने भएकोले विराटनगरमा ठूलो सङ्ख्यामा हुण्डीको कारोबार हुने गरेको प्रहरीको भनाइ छ । हुण्डीको कारोबार गर्नेको नेटवर्क अन्तर्राष्ट्रियस्तरसम्म कनेक्सन हुने गरेको छ ।