त्रिभुवनलाई भेट्ने एक्ला बृजहाङपति

alt
  • आश्विन २८, २०७६
  • १५७ पटक पढिएको
  • सन्देश सुब्बा

बृजहाङपति जबेगु एक ऐतिहासिक व्यक्तित्व हुन् । वि.सं.२०१३ साल मङ्सिर १३ गते पल्लो किरात लिम्बुवानको प्रतिनिधि मण्डल राजा त्रिभुवनलाई भेट्न गयो– फेदाप थुमका ललितबहादुर तुम्बाहाम्फेको नेतृत्वमा । पल्लो किरात लिम्बुवान क्षेत्रको विकासका लागि विभिन्न मागहरू लिएर प्रतिनिधि मण्डल राजाकहाँ पुगेको थियो । २९ सदस्यीय ‘पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डल–२०१३’ का सम्भवतः एक मात्र जीवित सदस्य हुन् बृजहाङपति जबेगु ।

‘श्री ५ महाराजाधिराजका जुनाफमा स्मृतिपत्रम्’ नामक उक्त पत्रमा पृथ्वीनारायण शाहको उदय भए उप्रान्त सेन मकवानका पालादेखि पल्लो किरात लिम्बुवानमा उपभोग भइआएको किपट र विभिन्न समयमा शाहवंशबाट प्राप्त लालमोहरहरूको टिप्पणी गरिएको छ । पत्रमा आर्थिक, सामाजिक, शैक्षिक विकास र वातावरणीय संरक्षणका लागि समेत विभिन्न मागहरू राखिएका छन् । ‘पल्लो किरात लिम्बुवानका मागहरू’ नामक पुस्तकमा वि.सं.२०१३ र वि.सं.२०१४ सालमा गरी दुई पटक प्रतिनिधि मण्डलले बुझाएको पत्रको विस्तृति छ । उक्त ऐतिहासिक ‘पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डल–२०१३’ का सदस्य थिए– बृजहाङपति जबेगु ।

‘जिल्लाबाट विद्यालय स्थापना गर्न स्वीकृत आदेशसहितको पत्र आयो । तर म्याट्रिक पास गरेको मास्टर राख्नुपर्ने भयो । त्यतिबेला पढेलेखेका मानिस भेट्न बहुत गाह्रो थियो । हामीले दार्जिलिङबाट आइतमान तामाङ नाम गरेका सर ल्याएर विद्यालय शुरु गरेका थियौं ।’

बृजहाङपतिको जन्म वि.सं.१९९२ साल पुष २ गते पाँचथरको फालेलुङ–८ आकाशेडाँडाछेउको विजयपुरमा भएको हो । बाबु जसबहादुर जबेगु र आमा धनमाया (थेबे) जबेगुका दुई भाइ छोरा र चार बहिनी छोरीमध्ये कान्छा छोरा हुन् बृजहाङपति । उनका बाबु ब्रिटिश आर्मी थिए । लाहुरे परिवारमा हुर्केका बृजहाङपतिले बाल्यकालमा खासै दुःख र अभावको महसुस गर्नु परेन । गाउँसम्म चामल र नुन ल्याइपुर्याउन लेटाङ सोमबारे, धरान र सिमानापारि दार्जिलिङको सुके बजार पुग्नुपथ्र्यो ।

ढाकर र तोक्माको सहारामा गाउँ आइपुथ्यो, नुन–चामल । बृजहाङपतिले त्यो दुःख खेप्नु परेन । तर गाउँघरमा भने दुःख र अभाव व्याप्त थियो । गरिबी र अशिक्षाले थिचिएको थियो गाउँ । गाउँका हुनेखाने एउटा वर्ग तिनै गरिब र निरीह गाउँलेमाथि शोषण गर्थे र आफूलाई समाजको बुजु्रक ठान्थे । तत्कालीन समाजको टिठलाग्दो दृश्यले बृजहाङपतिलाई सामाजिक रूपान्तरणको क्षेत्रमा काम गर्ने प्रेरणा दियो ।

केही जान्ने, बुझ्ने भएदेखि नै बृजहाङपतिलाई गाउँमा शिक्षाको उज्यालो छर्नुपर्छ भन्ने लाग्यो । उनले वि.सं.२०१० सालमा गाउँका अमाली सुब्बा जहरमान थाम्सुहाङसँग मिलेर याङ्नाममा विद्यालय स्थापना गर्न पहल गरे । विद्यालय स्थापनाका लागि ‘सिद्धकाली’ नाम दिएर धनकुटा जिल्लामा चिठ्ठी लेखी पठाउने काम गरे । उनले सुनाए, ‘जिल्लाबाट विद्यालय स्थापना गर्न स्वीकृत आदेशसहितको पत्र आयो । तर म्याट्रिक पास गरेको मास्टर राख्नुपर्ने भयो । त्यतिबेला पढेलेखेका मानिस भेट्न बहुत गाह्रो थियो । हामीले दार्जिलिङबाट आइतमान तामाङ नाम गरेका सर ल्याएर विद्यालय शुरु गरेका थियौं ।’

उक्त विद्यालय अहिले याङ्नाम आधारभूत विद्यालय बनेको छ । पछिल्लो सङ्घीय राज्य पुनर्संरचनाअनुसार हाल उक्त विद्यालय फिदिम नपा–१० मा पर्छ । फालेलुङ–८ मा रहेका सिंहसिद्ध मावि र सेसेलुङ आधारभूत विद्यालय पनि बृजहाङपतिकै पहलमा स्थापना भएका थिए । बृजहाङपति शैक्षिक अभियन्ता पनि थिए ।

१८ वर्षको उमेरमा गाउँमा पहिलो विद्यालय खोल्न भूमिका निर्वाह गरेका बृजहाङपति २१ वर्षको हुँदा त ‘पल्लो किरात लिम्बुवान प्रतिनिधिमण्डल’ को सदस्य भएर राजालाई भेट्न काठमाडौं नै पुगे । बृजहाङपति त्यतिबेलाको क्षण सम्झन्छन्, ‘म दार्जिलिङ हुँदै बाघटुक्रा (बाघडोग्रा) बाट हवाईजहाज चढेर नेपाल (काठमाडौं) पुगेको थिएँ, त्यतिबेला गाडी थिएन, अरू साथीहरू धेरै दिन लगाएर हिँडेर पुगेका थिए ।’ प्रतिनिधि मण्डलको स्मृतिपत्रलाई राजाले बेवास्ता गरे । तर अधिकार प्राप्तिका लागि आफ्नो ठाउँबाट लडिरहेको बृजहाङपति सुनाउँछन् ।

गाउँमा ठूलाबडा र हुनेखानेले गरिब गाउँलेलाई कुत तिर्ने शर्तमा (कुतिया) र पाकेको बाली आधा–आधा बाँड्ने (अधियाँ) शर्तमा आफ्नो जमिन कमाउन दिन्थे ।

उनी त अझै भन्छन्, ‘पल्लो किरातलाई छुट्टै लिम्बुवान प्रान्त दिनुपर्छ ।’ सामाजिक सेवा गर्ने भावनाले गाउँको नेतृत्व गर्न अग्रसर भएको बताउँछन् बृजहाङपति । उनी २०१८ सालमा तत्कालीन लुवाफु गाउँ पञ्चायतको पहिलो प्रधानपञ्च निर्वाचित भए । सोही वर्ष पञ्चायत विकास केन्द्र पाँचथरको उपसभापति बने । अञ्चल पञ्चायतमा समेत प्रतिनिधित्व गरेका बृजहाङपति अञ्चल पञ्चायत विघटन भएपछि गाउँमै फर्किए । पटक–पटक गाउँ पञ्चायतको प्रधानपञ्च बनेर गाउँको नेतृत्व गरे । उनको भनाइलाई मान्ने हो भने गाउँलेका सुख–दुःखसँग आफूलाई समाहित गर्दै गाउँको सेवामा जुटे ।

गाउँमा ठूलाबडा र हुनेखानेले गरिब गाउँलेलाई कुत तिर्ने शर्तमा (कुतिया) र पाकेको बाली आधा–आधा बाँड्ने (अधियाँ) शर्तमा आफ्नो जमिन कमाउन दिन्थे । सो बापत जमिन कमाउनेले असारमा ‘असारे’ (खेतीपाती गर्न सघाउनुपर्ने), दशैंमा ‘दशैंयाँ’ (सुँगुरको फिला र रक्सीलगायत) कोसेली लगिदिनुपर्ने सामन्ती प्रचलन थियो । यदि त्यसरी हजुरिया नगरे कमाउन पाएको जमिन पनि खोसिने पीर हुन्थ्यो । प्रधानपञ्च भएको समयमा ‘असारे’ र ‘दशैंयाँ’ जस्ता कुप्रथालाई गाउँबाट हटाएको बृजहाङपतिले बताए ।

लाहुरे परिवारमा जन्मे–हुर्के पनि औपचारिक शिक्षा हासिल गर्ने अवसर भने पाएनन् बृजहाङपतिले । आफ्नै बाबुबाट अक्षर चिनेको उनी बताउँछन् । लाहुरे बाबुले बृजहाङपतिका जेठा दाजुलाई दार्जिलिङ राखेर पढाएका थिए । तर दाजु रोगी भएर गाउँ फर्किए । गाउँका मान्छे टिबी रोग लागेको भन्थे । अन्ततः त्यही रोगले अल्पायुमै दाजुलाई परिवारबाट खोसेर लग्यो । परिवारमा ठूलो शोक प¥यो । बाबुले बृजहाङपतिलाई पनि दार्जिलिङ राखेर पढाउन चाहन्थे, तर आमाले मानेनन् । कारण थियो– कान्छो छोराको पनि जेठाको जस्तै हालत हुने हो कि । दुर्भाग्य बृजहाङपतिले औपचारिक अध्ययनका लागि विद्यालयको ढोका टेक्न पाएनन् ।

बृजहाङपतिले भने, ‘बाबुले लाहुरबाट ल्याएका किताबहरूको अध्ययनले मलाई धेरै कुरा सिकायो ।’ उनले थपे, ‘पान्थरे लिम्बूहरूमै पहिलो डबल डिग्री गर्ने अमर नेम्बाङ जो बितेर गए, मलाई हैन, तपाईं त मैले उहिल्यै एमएमा पढेका टेक्स्ट बुकका कुराहरू झिक्नुहुन्छ, कहाँबाट जान्नुभयो यस्ता कुरा भन्थे ।’ उनले तीनपटक विवाह गरे । पहिलो जीवनसङ्गीनीबाट जायजन्म भएन । दोस्रोबाट दुई भाइ छोरा र ६ बहिनी छोरी जन्मिए । एउटा छोरीबाहेक सबैजना छन् । पहिलेका दुवै जीवनसङ्गीनी बितेपछि उनले तेस्रो विवाह पनि गरे ।

उनी पनि बितेपछि अहिले बृजहाङपति छोराबुहारीसँग गाउँमै बस्छन् । यतिबेला जीवनको आखिरी क्षणमा हिँडिरहेका बृजहाङपति गाउँको लागि प्रेरणाको स्रोत बनेका छन् । करिब साढे आठ दशक वसन्तहरू चपाएका उनी आफ्ना अनुभव र ज्ञान युवापुस्तालाई बाँड्छन् । कुनै पनि राजनीतिक दलमा दिलोज्यान दिएर नलागेका उनी गाउँको विकासका लागि युवापुस्तालाई अर्ती र उपदेश दिन्छन् । कुनै सुविधासम्पन्न शहरतिर गएर बस्ने सोच कहिल्यै नआएको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म गाउँको सेवा गरेँ, अब पनि गाउँमै मर्न चाहन्छु ।’

लिम्बुवानका मजदुरद्व ...

धरान/धरान उपमहानगरको उपनिर्वाचन नजिकिँदै जाँदा सङ्घीय ल ...

दुई तिहाईको सरकार इत ...

धरान  /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गु ...

यातायात मजदुर शहरका ...

धरान / उपमहानगरपालिकाको नेकपाबाट मेयर पदका उम्मेदवार प् ...

६ लेन सडक आयोजनासँग ...

इटहरी । निर्माणाधीन ६ लेन सडक विस्तार मनपरी मापदण् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved