रङ्गेली/ सरकारले माछा र पशु आयातको नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

एक वर्षदेखि सरकारले भारतबाट माछा मासु आयातमा ‘स्यानिटरी सर्टिफिकेट’ अनिवार्य गरेको हो । उक्त सर्टिफिकेट विना ल्याइएका माछा, मासुलाई नियन्त्रण गरेर नष्ट गर्ने गरेको छ । सरकारले माछा र पशुको आयातमा प्रतिबन्ध नलगाएको तर स्यानिटरी सर्टिफिकेट अनिवार्य गरेको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख केशवकुमार सिंहले बताए ।

कुखुरा र हाँसको आयातमा भने सरकारले प्रतिबन्ध लागाएको छ । उक्त सर्टिफिकेट भने नेपाल सरकारले नदिएर भारतबाट लिनुपर्ने हुन्छ । उक्त सर्टिफिकेट भारतका विभिन्न ५ स्थानबाट उपलब्ध हुने प्रमुख सिंहले बताए । स्यानिटरी सर्टिफिकेट भएकालाई मात्र माछा आयात गर्न दिने गरेको उनले बताए ।

सर्टिफिकेटसहित माछा आयात गरे पनि नेपालतर्फको पशु क्वारेन्टाइन कार्यालयमा परीक्षण गर्ने कुनै यन्त्र छैन । भारतबाट आयात गरिएका माछा खान योग्य भए नभएको हेरेर र छामेर क्वारेन्टाइनका कर्मचारीले छाड्ने गरेका छन् । परीक्षणको लागि आवश्यक यन्त्र नभएकोले हेरेर मात्र छाड्ने गरेको पशु चिकित्सक अरविन्द कुमार मण्डलले बताए । ‘ खान योग्य भए नभएको परीक्षण गर्ने किट सकिएको छ ।’ उनले भने ‘ माथि विभागले पनि नपाएर पठाउन सकेको छैन ।’

भारतबाटै स्यानिटरी सर्टिफिकेट लिएर मात्र माछा आयात गर्नुपर्ने भएपछि व्यापारीहरूले पनि त्यसलाई ‘रिन्यू गरिरहनु पर्ने हुन्छ । समयमा रिन्यू गर्न नसक्दा माछा आयातसमेत अवरोध हुने गरेको छ । भदौ महिनाको अन्तिममा पनि केही दिन माछा आयात रोकिएको थियो । व्यापारीले सर्टिफिकेट समयमा रिन्यू गर्न नसक्दा आयात रोकिएको चिकित्सक मण्डलले बताए ।

भारतबाट आर्थिक वर्ष २०७४/७५ मा खानेमाछा मङ्ग्री, कमन कार्प, नैनी, जलकपुर लगायतका माछा १ हजार ७ सय ८९ मेट्रिकटन आयात भएको थियो । गत आर्थिक वर्ष २०७५ /७६ १ हजार ४ सय ३९ दशमलव शुन्य ६ मेट्रिकटन माछा आयात भएको थियो । गत आर्थिक वर्षमा माछा आयात रोकिनुमा सरकारले स्यानिटरी सर्टिफिकेटमा कडाइ गरेको कारणले केही समय रोकिएको प्रमुख सिंहले बताए ।

गत आर्थिक वर्षमा चैत्रदेखि वैशाख मध्यसम्म माछा आयात रोकिएको उनले बताए । भारत र तेस्रो मुलुकबाट माछा, मासु, पशु आहारलागायतका सामग्री आयात गर्दा स्यानिटरी सर्टिफिकेट अनिवार्य गरेको सिंहले बताए । आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले सर्टिफिकेट बिना ल्याइएका २ सय ९० केजी माछा पनि नष्ट गरेको छ । यसै आर्थिक वर्षमा कार्यालयले अवैध रूपमा समातिएका पशुपक्षी तथा पशु जन्य पदार्थ र उत्पादन सामाग्रीमाथि गरेको कारवाहीमा १ लाख १३ हजार जरिवाना गराएको छ । पशु क्वारेन्टाइन कार्यालय विराटनगरले मोरङको रानी, सुनसरीको भण्टाभारी र सिरहाको माडर भन्सार कार्यालय हेर्छ ।

त्यसगरी कार्यालयले यस आर्थिक वर्षको साउन महिनामा ५४ वटा प्रतिबन्धित बोइलर कुखुरा नष्ट गरेको छ । त्यसैगरी २४ सय बोइलर कुखुराका चल्ला पनि नष्ट गरेको छ । बोइलर कुखुकाराको २० केजी मासु पनि नियन्त्रणमा लिएर नष्ट गरेको प्रमुख सिंहले जानकारी दिए । साथै कार्यालयले ४८ वटा भैंसीका पाडा पनि लिलामी गरेको छ । कार्यालय भदौ महिनामा ६ सय ७२ कुखुरा नष्ट गरेको प्रमुख सिंहले जानकारी दिए ।