भण्टाबारी/ सुनसरीको भण्टाबारी नाकाबाट गैरकानूनी रूपमा खसीबोकाको तस्करी हुने गरेको पाइएको छ ।

भारतबाट चराउने बहानामा नेपाल भित्र्याउने र बसको डिक्कीमा लोड गरेर पूर्वका विभिन्न स्थानसम्म पु¥याउने गरेको पाइएको हो । यसै क्रममा क्वारेन्टाइन र भन्सारसमेत नकटाई भण्टाबारीबाट पूर्वतर्फ लैजाँदै गर्दा सुनसरी प्रहरीले इनरुवाबाट १४ वटा खसीबोका नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरीले १४ वटा खसीबोका नियन्त्रणमा लिई सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा १ लाख ८२ हजार मूल्याङ्कन गरी पठाएकोमा खुला प्रतिस्पर्धाबाट २ लाख ७ हजारमा लिलाम भएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले जनाएको छ । चाडपर्वको समयमा माग बढी हुँदा तस्करहरूले बिना भन्सार भण्टाबारीनाका हुँदै दिनहुँ खसीबोका भित्र्याउने गरेको छ । स्थानीय प्रहरीलाई समेत प्रलोभनमा पारी भारतीय व्यापारीले गैरकानूनी रूपमा खसीबोका तस्करी गर्र्दै आएका छन् ।

भारतबाट नेपाल भित्र्याउने खसीबोकाको क्वारेन्टाइनमा कडाइ भएपछि विभिन्न नाकाबाट तस्करी बढेको हो । भारतलगायत मुलुकबाट आयातित खसीबोकाको क्वारेन्टाइनमा कडाइ भएपछि आयात शून्य भएको पशु क्वारेन्टाइन चेकपोष्ट भण्टाबारीका प्रमुख अनिता घिमिरेले बताए । पशुसेवा विभागले भारतबाट स्वास्थ्य प्रमाण नलिई आएमा क्वारेन्टाइन नगर्नू भन्ने परिपत्र गरेपछि पशु क्वारेन्टाइन चेकपोष्ट भण्टाबारीले सात महिनायता कुनै सिफारिस पत्र नकाटेको उनले बताए । घिमिरेले भने नेपालमा खसीबोका भिœयाउँदा भारतीय क्वारेन्टाइनको स्वास्थ्य, सेनेटरी प्रमाण, व्याव रिपोर्टलगायतका प्रमाणहरू पेश गर्नुपर्ने हुन्छ ।

त्यसो गर्न दिल्ली र कलकत्ता पुग्नुपर्ने भएको हुँदा झन्झटिलो प्रक्रियाका कारण वैधानिक रूपमा भारतबाट खसीबोका आयात रोकिएको हो । मागअनुसार बजारमा आयात नहुँदा बजारमा खसीको मूल्य मनोमानी छ । खसीबोकाको माध्यमबाट रोग नभित्रियोस् भन्ने उद्देश्यले क्वारेन्टाइनमा कडाइ गरिएको बताउँदै घिमिरेले क्वारेन्टाइन ऐनलाई कडाइका साथ कार्यान्वयन गरिएको बताए । क्वारेन्टाइन चेकजाँच नहुँदा जीवित वस्तुबाट रोग सर्ने, मासुबाट इन्फेक्सन भित्रिने सम्भावना रहने हुँदा नेपालमा बिक्री गर्न रोगमुक्त भनेर सम्बन्धित सरकारको प्रमाण–पत्र अनिवार्य गरिएको घिमिरे बताउँछन् । सम्बन्धित सरकारबाट वस्तुमा रोग छैन भनेर प्रमाण–पत्र भए आयातमा कुनै अवरोध नआउने उनले बताए ।

भारतबाट स्वास्थ्य प्रमाण–पत्र नलिई ल्याएका पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति लिएपछि पछिल्लो समय खसीबोकाको तस्करी हुन थालेको छ । नाकामा रहेका नेपाली पशु क्वारेन्टाइन चेकपोष्टले क्वारेन्टाइन नगर्ने भएपछि व्यापारीले छोटीनाकाबाट भन्सार छली गर्दै खसीबोका पूर्वका विभिन्न स्थानसम्म पु¥याउने गरेका हुन् । भारतीय व्यापारीलाई दिल्ली र कलकत्ताबाट स्वास्थ्यलगायतका विभिन्न प्रमाण ल्याउन झन्झटिलो र प्रमाण–पत्र नल्याएसम्म नेपाली क्वारेन्टाइनले जाँचपास नदिने भएपछि पशुजन्य वस्तुको चोरीतस्करी बढेको हो ।

खुला सिमानाको फाइदा उठाउँदै व्यापारीहरूले छोटी नाकाबाट भित्र्याउने खसीबोका इनरुवा, झुम्का, इटहरीसहितका स्थानसम्म पठाउने गरेका छन् । वैधानिक रूपमा सात महिनायता खसीबोकाको आयात नभए पनि बजारमा भने भारतीय खसीबोकाको मासु बिक्रीवितरण भइरहेको छ । पशुसेवा विभागको निर्णयले उपभोक्ता स्वस्थकर मासु उपभोग गर्न पाउने भएपछि स्वदेशी उत्पादनमामा पनि वृद्धि हुने भण्टाबारीका स्थानीय प्रमोद साहले बताए । विभिन्न छोटी नाकाहरूबाट खसीबोका तस्करी भइरहेको हुँदा त्यसलाई रोक्न आवश्यक रहेकोे उनले बताए । साह भन्छन्, ‘तस्करी भएर भारतबाट आयात हुने खसीबोका रोकथाम गरिएन भने क्वारेन्टाइन चेकजाँचमा कडाइ गर्नुको औचित्य रहँदैन ।’