विराटनगर । ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी साधनमाथि निगरानी बढाए पनि यात्रु ठगिने क्रम रोकिएको छैन । दशैं मनाउन घर आएको र फर्कीने यात्रुसँग मनलाग्दी भाडा असुली गरि ठगी गर्ने गरेको पाइएको हो ।

राजमिस्त्री काम गर्ने विराटनगर– ४ कञ्चनबारीका बावुराम सरदारलाई दशैं मनाएर काठमाण्डौं फर्किदा टिकट काउन्टरबाट ठगिएका छन् । डिलक्स गाडी भनेर १ हजार ३ सय रूपैयाँ तिरेका उनलाई लोकल बस ना ३ ख ६९७८ नम्बरको गाडीमा हालेर पठाइ दिएको थियो । तर, ट्राफिक प्रहरीको नियमित चेकजाँचको क्रममा मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवामा बढी भाडा असुली गर्ने सवारी कारवाहीमा पर्यो । विराटनगरदेखि काटमाण्डाैं गएको डिलक्स बसको भाडा १२ सय ४८ रुपैयाँ र साधारण सेवातर्फ बसको भाडा ९ सय ८५ रुपैयाँ छ ।

तोकिएको भन्दा बढी असुली गर्ने बसलाई अस्थाइ ट्राफिक प्रहरी पोस्ट निमुवाले आइतबार नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि मोरङ प्रहरी पठाएको असइ तुलामणि आचार्यले जानकारी दिए । त्यस्तै विराटनगरबाट दशैं मान्न भोजपुर घर हिडेकी सुस्मिता दाहालले पनि ७ सय लाग्ने भाडामा १ हजार रुपैयाँ तिरेर यात्रा गर्न बाध्य भइन् । ‘गाडीवालाले भनेजति पैसा नदिए सिधै लादिन भन्ने गर्दछ,’ उनले भनिन्, ‘आफुलाई दशैं मनाउन घर जानुपर्ने छ । उनीहरूले भनेजति पैसाँ तिरेर जानुपर्यो ।’ यी प्रतिनिधि मुलक घटना हुन् ।

ट्राफिक प्रहरीले दशैंको बेलामा बढी भाडा असुली गर्ने २६ वटा गाडीलाई कारवाही गरेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । उनका अनुसार दशैंको घटस्थापना असोज १२ देखि आइतबारसम्म चार्डको मुखमा घर जाने र फर्किने यात्रुलाई बढी भाडा असुली गर्ने सवारी साधनलाई कारवाही गरेको बताए । यात्रुहरुबाट बढी लिएको भाडा रकम फिर्ता गराई सवारी चालक तथा धनिलाई यातायात व्यवस्था ऐनअनुसार कारवाही गरिएको प्रहरीको भनाई छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा यात्रुबाट बढी भाडा असुली गर्ने सवारी साधान सबैभन्दा बढी उदयपुरमा कारवाही परेको छ । उदयपुरमा १० वटा सवारी साधन कारवाही गरि १८ हजार रूपैयाँ राजस्व संलकन भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । यस्तै ओखलढुङ्गामा ४, सोलुखुम्बुमा ३, धनकुटा र संखुवासभामा १-१ वटा सवारी साधान यात्रुहरूबाट बढी भाडा असुलीमा कारवाहीमा परेका हुन् । कारवाहीमा परेको सवारी साधनबाट ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । सबैभन्दा बढी कारवाहीमा पर्नेमा टाटा सुमो र बसहरू छन् ।

अहिले पनि विराटनगर क्षेत्रमा केही कम्पनीहरूले साधारण बस सेवाको स्वीकृति लिएर स्तरीय सेवा दिने ‘डिलक्स’ भनेर संचालन गर्दै आएका छन् । उनीहरूले डिलक्स नाम लेखेर यात्रुसँग बढी भाडा असुली गरेपनि नियमकारी निकायले चासो देखाएको छैन । कानुन विपरित डिलक्सको स्वीकृति लिएर सिट संख्या थप्न र साधारण बस सेवाको स्वीकृति लिएर डिलक्स लेख्न पाइदैन ।