लक्ष्मीमार्ग/ मोरङको लेटाङ १ को राजारानी प्राकृतिक सौन्दर्यले मनमोहक रहेको छ । यही प्राकृतिक सौन्दर्यमा भुल्नका लागि धेरै स्थानबाट पर्यटकहरू त्यस स्थानमा पुग्ने गरेका छन् ।

लेटाङ बजारबाट ३ किलो मिटर उत्तर–पश्चिममा रहेको राजारानी क्षेत्रमा राजारानी र राजकुमारी पोखरी रहेका छन् । राजारानी क्षेत्रमा रहेका पोखरी तथा जङ्गलमा फूलेका सुनाखरी, नाचिरहेका मयुर, चरिरहेका मृग र पौडिरहेका कछुवा अनि माछा त्यहाँका प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

पर्याप्त प्राकृतिक सौन्दर्य रहँदा रहँदै पनि आवश्यक प्रचार–प्रसारको कमीले गर्दा राजारानीले पर्याप्त पर्यटक पाउन नसकेको राजारानी पोखरी संरक्षण समितिका अध्यक्ष ज्ञानबहादुर मगर बताउँछन् । अध्यक्ष मगरले सरकारबाट पर्यटन विकासको शीर्षकमा हालसम्म कुनै पनि बजेट आउन नसकेको गुनासो गरे । ‘पर्यटन वर्ष २०२० घोषणा भएको सञ्चारमाध्यमबाट मात्र थाहा भयो तर राज्यबाट कुनै पनि औपचारिक जानकारी आएको छैन’ –अध्यक्ष मगरले भने ।

२०४७ सालदेखि राजारानी पोखरी संरक्षण समिति बनाएर पर्यटन क्षेत्र बनाउने उद्देश्यले संरक्षण थालिएको राजारानी पर्यटन क्षेत्रभित्र रहेको राजारानी मन्दिरका पुजारी लोकबहादुर मगरले बताए । पुजारी मगरले बाइसे राज्यको पालामा त्यस बेलाका राजारानीले पौडी खेल्ने, शिकार खेल्ने क्षेत्र भएकोले यस क्षेत्रलाई राजारानी भनिएको बताए ।

उक्त वडाका वडाध्यक्ष विष्णुकुमार मगरका अनुसार अफ सिजनमा औषतमा ४०–५० जना आन्तरिक पर्यटक आउने र पिक्निकको सिजनमा ४ सयदेखि ५ सय जनासम्म आउने गरेको बताए । वडाध्यक्ष मगरका अनुसार राजारानीको गुरुयोजना तयार हुँदै गरेको र अब केही दिनमै तयार भइसक्नेछ । चारैतिर डाँडाले घेरिएको राजारानी पोखरीसम्म मोटर बाटोसमेत पुगिसकेको छ ।

धेरैलाई लेटाङमै यति सुन्दर पर्यटकीय गन्तव्य छ भन्ने थाहा छैन, तर एक पटक आएका पर्यटक फेरि दोहोर्याएर आउने गरेका समितिका अध्यक्ष मगरले बताए । लेटाङकी स्थानीय भगवती श्रेष्ठले भनिन्, ‘राजारानी क्षेत्रले पर्यटकलाई पर्खिराखेको छ र कम्तिमा एक पटक राजारानी पर्यटकीय क्षेत्रको अवलोकनको लागि आइदिए आफै यहाँको बारेमा थाहा हुनेछ ।’

पौराणिक कथाअनुसारमा राजारानीमा धिमाल राजाहरूले शासन गरेका थिए । राजारानी क्षेत्रलाई झापा र मोरङमा रहेका अल्पसङ्ख्यक धिमाल जातिको उद्गमस्थलसमेत मानिन्छ । ३२ हेक्टर क्षेत्रमा फैलिएको राजारानी पोखरीमा नौका विहारको आनन्दसमेत लिन पाइन्छ । धिमालहरूले हरेक वर्षको वैशाख २ गते राजारानीमा जात्री पूजा गर्ने गरेका छन् ।

राजारानीमा पूजा गरी शुरु भएको जात्री पूजा असार २ गते मोरङको उर्लाबारीस्थित १० बिघेमा समापन हुने गरेको छ । राजारानी क्षेत्रलाई विश्वकै दुर्लभ प्रजातिका सुनाखरी फूलको राजधानी पनि मानिन्छ । वनस्पति विज्ञहरूका अनुसार राजारानी क्षेत्रमा ४२ जातका सुनाखरी फूल रहेका छन् । जसमध्ये ३ जातका सुनाखरी विश्वबाटै लोपोन्मुख रहेका छन् ।

selfe