पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा सञ्चालित होटल एण्ड लजहरूमा होटल साहु–साहुनीले यौनकर्मी युवती राखेरै यौनधन्दा गराउँदै आएको नौलो कुरो होइन । एक दशक अघिदेखि नै यस्ताखाले व्यवसाय होटलहरूमा गराउँर्दै आएको तथ्याङ्कमा पाइन्छ ।

असअघि अरूले दिएको सूचनाको भरमा इलाका प्रहरी कार्यालय पथरीका प्रहरीले रात र दिनमा छापा मार्ने तथा जोडी पक्राउ गरी ल्याउने अनि केही दिन राखेर परिवारको साथमा छोडिदिने गरेका थिए । त्यसमा पनि केही प्रहरीले छापा मार्नुअघि नै सूचना पुर्याउने कामले धेरै होटलहरूले जोडी भगाउने गरेका थिए । इप्रकाले छाडेको घुमुवा प्रहरीले नै सूचना बाहिर पुर्याउने गरेकोले प्रहरीले राम्रो काम गर्न सकेको थिएन ।

विभिन्न हत्या, हिंसाबाट पीडित पथरीबजारको लागि भरपूर शान्ति सुरक्षा दिन अहिले डिएसपीको कमाण्डमा इलाका प्रहरी कार्यालय चलेको छ । काजमा डिएसपी लक्ष्मी अधिकारी आएपछि शान्ति सुरक्षाको स्थिति राम्रो देखिएको छ । डिएसपीको दरबन्दी अन्तै जाने पो हो कि भन्ने डर सबैमा छ । यौनधन्दाले पनि समाजमा विकृति, विसङ्गतिका साथै अन्त्यमा हिंसाको बाटो रोज्ने भएकोले इलाका प्रहरी कार्यालय पथरी अहिले यौनधन्दा चलाउने होटल तथा लजहरूमाथि निगरानी बढाउँदै गएको छ । पछिल्लो समयमा पथरीबजार पूर्व–पश्चिम राजमार्गमै जाडिएका दक्षिणतर्फको खोटाङे चाम्लिङ होटल एण्ड लजका सञ्चालकद्वय सुनिता राई र विजय राईलाई पक्राउ गरी मानव बेचविखन तथा ओसार–पसारमा मुद्दा चलाइसकेको छ ।

होटल सञ्चालकद्वय पति–पत्नीले आर्थिक प्रलोभनमा पारी १४ वर्षसम्मका बालिकाहरूलाई यौनजन्य कार्यमा संलग्न गराउने तथ्य खुलेकोले मानव बेचविखन तथा ओसार–पसारमा मुद्दा चलाएको इप्रका पथरीका डिएसपी लक्ष्मी अधिकारीले बताए । सूचनाको आधारमा इप्रका पथरीका डिएसपी अधिकारीको कमाण्डमा प्रहरी टोलीले गत १९ गते आइतबार राति होटलमा छापा मार्दा यौन क्रियाकलापमा संलग्न रहेको अवस्थामै दुई जोडीलाई रङ्गेहात पक्राउ गरेको थियो । प्रहरीले होटलमा छापा मार्दा यौन क्रियाकलापमा संलग्न १४ वर्षीया बालिकालाई समेत पक्राउ गरेको थियो ।

बालिकालाई आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ । यौन क्रियाकलापमा संलग्न दुई जोडीसहित होटल सञ्चालक दम्पती पनि सोही दिन पक्राउ परेका थिए । पथरीका होटलबाट होटल सञ्चालिका र यौनकर्मी पक्राउ पर्नु नौलो कुरो भने होइन । इन्स्पेक्टर राजन कार्कीको कमाण्डमा २०७४ वैशाख २३ गते शुक्रबार साँझ ४ बजे पथरीको खोटाङे होटल एण्ड लजबाट धरान–१२ का २७ वर्षीय मिलन राईसहित तीनजना पेसेवर यौनकर्मी र होटल सञ्चालिका सुनिता राईलाई पक्राउ गरेको थियो । सूचनाको आधारमा होटलबाट प्रहरीले राईलाई यौन क्रियाकलाप संलग्न रहेको अवस्थामै पक्राउ गरेको थियो ।

त्यसैगरी अन्य दुई यौनकर्मी अर्को कोठामा ग्राहक कुरिरहेको अवस्थामा पक्राउ गरेको थियो । होटलमा भारतीय व्यापारीसमेत आउने गरेको र होटलमा नास्ता, खाजा खान जाने जो कोहीसँग यौन धन्दाको मोलमोलाइ हुने गरेको तथ्य प्रहरीले फेला पारेको थियो । त्यसैगरी २०७३ सालको अन्त्यतिर इलाका प्रहरी कार्यालय पथरीले छापा मारी यौनजन्य गतिविधिमा संलग्न रहेकै अवस्थामा यौनकर्मीसहित होटल सञ्चालिकालाई पक्राउ गरेको थियो । पथरीका पाथीभरा होटल एण्ड लजका सञ्चालक कमला लिम्बूसहित यौन गतिविधिमा संलग्न तेह्रथुमकी महिला र पर्सा वीरगञ्जका १८ वर्षीय रविकुमार जैसवाललाई पक्राउ गरेको थियो ।

आफ्नो होटलमा ग्राहक आएपछि होटल सञ्चालिका लिम्बूले यौनकर्मीहरूलाई फोन सम्पर्क गरी बोलाई यौनजन्य गतिविधि गराउने गरेकोले प्रहरीले सार्वजनिक मुद्दासमेत चलाएको थियो । होटल सञ्चालक कमला लिम्बू सार्वजनिक मुद्दा खेपेर दुई हप्तापछि छुटेकी थिइन् । मानव बेचविखन तथा ओसार–पसार नियन्त्रण ऐन २०६४ अनुसार वेश्यागमनमा लगाउनेलाई १० देखि १५ वर्ष जेल सजाय र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुनेछ । त्यसैगरी वेश्यागमनमा संलग्नलाई १ देखि ३ महिना जेल सजाय र २ हजारदेखि ५ हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ ।