उदयपुर / उदयपुरको कटारी नगरपालिका ५ स्थित भोर्ले स्थित मदन भण्डारी लोकमार्गमा मिनी ट्रक दुर्घटना भएको छ । दशैको अन्तिम दिन ट्रकमा यात्रा गर्ने २८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार विहान ९ः २५ बजेको समयमा रिस्कुबाट कटारी तर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनी ट्रक तिव्रगतिका कारण बे्रक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यलय कटारीले जानकारी दिएको छ ।
दुर्घटनामा ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य इटहरी उपमहानगरपालिका १० की २० वर्षिय विना विक, सोही ठाउँका ३० वर्षिय कल्पना विक, ४४ वर्षिय खेचर विक, त्रियुगा नगरपालिका ५ का २७ वर्षिय लक्ष्मण खत्री र कटारी नगरपालिका ६ चुहाडेका २५ वर्षिय सुजाता राई, सोही नगरपालिका ९ लिम्पाटारका ३० वर्षिय प्रकाश सुर्खेती गम्भिर रहेका छन् ।
खेचर विक र सुजाता राईको हात भाचिएको छ । विना, कल्पना, लक्ष्मण, प्रकाशको टाउको र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । उनीहरुलाई थप उपचारको लागि विराटनगर पठाइएको छ ।,