बाल्यावस्थाको महत्व प्राध्यापक डा.चन्द्रमणि नेपाललाई अहिले आएर मात्रै आभास हुन्छ । त्यही बाल्यावस्थाको मेहनतका कारण आज उनी यहाँ छन् । नत्र आम मानिस झैं उनको पनि कुटोकोदालोमा जीवन बित्थ्यो होला, उनलाई यस्तै अनुभूति हुन्छ आजकल ।

शनिबार धरान–१४ विजयपुरको नारायणपुरस्थित निवासमा भेटिएका उनले बाल्यावस्थामा गरेको मेहनतको फल अहिले प्राप्ति गरिरहेको बताए । तत्कालीन भोजपुरको कोट गाविस वडा नम्बर ४ सिक्तेलमा मध्यम परिवारमा जन्मिएका नेपाल पिताजीको प्रेरणाले पढाइको पदचाप पछ्याए । बाह्रखरी, कखरा कुन उमेरमा छिचोले त्यो पनि अहिले उनको स्मरणमा ताजा छैन तर, कौमुदी, अमरकोश (संस्कृतको शब्दकोष) घोकेको भने अहिले पनि भुलेका छैनन् ।

पिताजी खेतीपातीसहित पण्डित्याइँ गर्थे । घरभन्दा आधा घण्टा ओरालिएपछि आउने गाउँको स्कूल जनोदय माविमा पढाउँथे पनि । त्यसैले उनलाई स्कूल जान कुनै आइतबार पर्खिनु परेन । उमेरले ५ वर्ष कटेपछि उनी स्कूलको दलिन टेके । तर, पिताजीले नाम लेखाइ दिएनन् । किन ? त्यो बेला यसको उत्तर उनीसँग थिएन । तर, यतिबेला सहजै थाहा पाउँछन् । नेपाली स्कूलमा पढाएपछि संस्कृत नपढ्ला भन्ने पिताजीलाई ठूलै पीर थियो । ‘अङ्ग्रेजी सजिलो हुने भएपछि संस्कृतमा छोराको लगाव नरहला कि भन्ने त्रास थियो क्यार’–उनी भन्छन् ।

पिताजीको पछिपछि लागेर पढाइका खुट्किलाहरू चढ्दै गए । नाम नलेखाए पनि जनोदयमा ५ कक्षासम्म पढे । गाउँका मिल्ने साथीभाइ जुन कक्षामा बस्थे । उनी पनि त्यहीँ कक्षामा बसेर पढ्थे । पिताजीले संस्कृत, नेपाली बाहेक गणित पनि पढाउँथे । उनी पनि पिताजीका विषयमा तिख्खर थिए । त्यो बेला कक्षागत योग्यताभन्दा पनि ज्ञानलाई महŒवका साथ हेरिन्थ्यो । नाम नलेखाए पनि ज्ञानका आधारमा एकैपटक एसएलसी दिने प्रचलन पनि थियो । गाउँमा संस्कृत पाठशाला थिएनन् । पिताजीले जनोदय मावि छाडेपछि बुबाकै पछि लागेर गाईगोठालो बने । ‘पिताजी जहाँ जहाँ आफू त्यहाँ त्यहाँ’ उनी भन्छन्, ‘गाई गोठालो गरेर केही समय बित्यो ।’

गोठालोमा पढ्ने सङ्गत थिएन । पढाइका लागि प्रतिकूल वातावरण थियो । त्यही पनि पिताजीकै साथमा पढिरहे । गोठालोमै किताब लिएर जान्थे । धेरैपछि बालागुरु षडानन्द अधिकारीले खोलेको षडानन्द मावि जहाँ संस्कृत पढाइहुन्थ्यो । त्यहीँ भर्ना हुने अवसर पाए । करिब १५ वर्षको उमेरमा कक्षा ९ मा पहिलो पटक भर्ना भए । त्यो बेला अन्तरवार्ता लिने चलन थियो । स्कूल र घरमा पढेको ज्ञानकै कारण ९ कक्षामा भर्ना हुने अवसर मिल्यो ।

पहिलो पटक घर छाडेर पढ्नुपर्दा निकै कष्टदायी बन्यो । करिब डेढ वर्षको दिङ्ला बसाइ परदेशभन्दा कम थिएन । आफैंले पकाएर खानुपर्ने थियो । घरमा आमाले पकाएर दिएको खाने बानी लागेका उनलाई त्यहाँ मासिक ४० रुपैयाँमा सबैथोक पु¥याउनुपर्ने बाध्यता थियो । त्यही ४० रुपैयाँले महिनाभरिको सागपातदेखि चामलसम्म पु¥याउनुपथ्र्यो । ‘चामल किन्दैमा पैसा सकिन्थ्यो, तरकारी किन्ने पैसा हामीसँग हुँदैनथ्यो’–उनी विगत स्मरण गर्छन्, ‘दिङ्ला बसुञ्जेल आधा पेट खाएरै पढियो ।’ त्यहाँको पढाइ उनको लागि निकै नै कष्टकर बन्यो । जेजस्तो भए पनि उनले पढाइलाइ निरन्तरता दिए, पढाइ छाडेनन् ।

त्यही वर्ष एसएलसीको फर्म भर्नका लागि पनि अवसर दिइएको थियो । तर, उनी नेपाली विषयमा केही कमजोर थिए । त्यही कारण एसएलसीको फर्म भरेनन् । कक्षा ९ बाट उत्तीर्ण भएपछि अर्को वर्ष एसएलसी दिए । दोस्रो श्रेणीमा उत्तीर्ण भए । २०३२ सालमा एसएलसी सिध्याएपछि उत्तरमध्यमाको लागि उनी धरान झरे । २०३३ साल साउनमा पिण्डेश्वर आइपुगेका उनलाई यहाँ भने धेरै नै सहज बन्यो । २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि उत्तरमध्यमा पढ्ने विद्यार्थीहरूले मासिक १ सय रुपैयाँ पाउथे । त्यो उनले पनि पाए । मासिक ४० रुपैयाँमा जीवन गुजारेका उनलाई सय रुपैयाँ धेरै नै पाए जस्तो अनुभूति भयो । ‘सय रुपैयाँ भेट्दा कति भेटियो कति ? जस्तो भयो, त्यही पैसा बचाएर रेडियो र घडीसम्म किनेको थिएँ’ उनी सम्झन्छन्, ‘त्यो घडी अहिले पनि छ ।’ शास्त्रीसम्म पढ्दा त्यो रकम बढेर १ सय ५० रुपैयाँसम्म पुग्यो । २०३७ सालमा शास्त्रीको परीक्षा दिएर भोजपुर फर्किए ।

परीक्षाको रिजल्ट नआइ नै गाउँभन्दा केही टाढाको स्कूलमा पढाउने अवसर पाइहाले । ४ सय रुपैयाँ मासिक र ५० रुपैयाँ खाजा भत्ता गरेर ४५० रुपैयाँ पाउँथे । करिब ४ वर्ष उनी त्यो स्कूलमा बिताए । त्यही क्रममा धरान पिण्डेश्वर क्याम्पसका क्याम्पस प्रमुख पुरुषोत्तम भट्टराई एक रात उनकै कोठामा बास बसे । त्यही बास बसाइकै क्रममा उनले आचार्य पढ्न प्रेरित गरे । गुरु पुरुषोत्तमले कि आचार्य पढ्ने कि पिण्डेश्वरमा आएर निरीक्षक भएर बस्ने भनेर वचन दिएपछि नेपाल आचार्य पढ्ने निधोमा पुगे । स्कूल छाड्ने बेलामा स्कूलका प्रधानाध्यापक रोहितकुमार श्रेष्ठले एक महिनाको तलब नै दिएनन् ।

पढाउँदा पढाउँदै बीचैमा छाडेकाले प्रअ त्यो बेला औधि रिसाए । उनले पनि आफू पढ्न जानेबारेमा शुरुमा सल्लाह गरेनन् । जसका कारण एक महिनाको तलब छाडेरै आचार्य पढ्न गए । उत्तरमध्यमामा साहित्य पढेका उनी शास्त्रीमा न्याय शास्त्र पढ्न पुगे । र, त्यही विषयमा आचार्य गरे । संस्कृत विश्वविद्यालयमा सर्वाेत्कृष्ट हुन सफल भएकाले उनी सरदार सोमप्रसाद स्वर्ण पदक र महेन्द्र विद्याभूषणबाट विभूषित भए । तर, त्यही बेला उनी नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठनमा पनि लागिसकेका थिए । काठमाडौंको वाल्मिकी क्याम्पसमा पढ्ने उनी नेविसङ्घका उपसभापतिमा निर्वाचित बनेका थिए । राजनीतिमा होमिएपछि भने उनी २०४२ सालमा काङ्ग्रेसले थालेको सत्याग्रह आन्दोलनका कारण साढे सात महिना जेल परे । त्यही जेल बसाइकै क्रममा उनले तेस्रो वर्षको परीक्षा दिए । २०४० सालमै आचार्यमा भर्ना लिए पनि राजनीतिक आन्दोलनका कारण २०४४ सालमा मात्रै परीक्षाको रिजल्ट बाहिरियो ।

संस्कृत विश्वविद्यालयमा त्यो बेला उपकुलपति हरिदेव मिश्र थिए । जागिरका लागि उनले पहल गरेका थिए । उपकुलपति मिश्रकै सुझावअनुसार निवेदन चढाए । नभन्दै निवेदन दिएको केही समयपछि नै धरानकै पिण्डेश्वरमै २०४४ साल मङ्सीरमा उनलाई यता पठाइयो । त्यही सालदेखि हालसम्म निरन्तर उनी पिण्डेश्वर विद्यापीठ धरानमा कार्यरत छन् । २०७३ सालदेखि क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनले आफूले पढेकै विषयमा २०५९ सालमा विद्यावारिधिका लागि ‘प्रस्ताव’ प्रस्तुत गरे । धेरै मेहनतपछि मात्रै उनको विषयमा विद्यावारिधिका लागि स्वीकृत भयो । करिब ७ वर्ष अर्थात् २०६६ सालमा मात्रै विद्यावारिधि पूरा गरे ।
............................................................
घरको कान्छो छोरा भएकाले सबैको लाडप्यार पाएकैले उनी पिताजीको पनि प्यारा थिए । पिताजीको विद्वत्ताकै प्रेरणाले आज उनी यो स्थानमा उभिन सकेको बताउँछन् । एकपटक गोठालोमा मने सार्कीको लहैलहैमा बिँडी खाँदा घरमा एक रात बाससम्म पाएनन् । पिताजीसँगै गोठालो गएका उनलाई बिँडी खाएको पिताले देखिहाले ।

गोदान गरेर मात्रै भोलिपल्ट घरमा छिर्ने वातावरण मिल्यो । पिताको त्यस्तो कडाइ र निरन्तरको पढाइले नै उनलाई यो स्थानमा पु¥याएको अनुभूति हुन्छ । उनको लागि पहिलो ज्ञानको प्रेरणा पिताजी नै हो । दोस्रो पुरुषोत्तम भट्टराई र तेस्रो ज्ञानमणि नेपाल । सायद उनीहरू जीवनको आरोह–अवरोहमा प्रेरक नबनेको भए पनि उनी अहिले कुटोकोदालोमा व्यस्त हुन्थे होला । आम मानिसको जीवन झैं जीवनलाई व्यतित गरिरहेका हुन्थे । उनले जीवनबाट सिकेको पाठ ‘जस्तोसुकै परिस्थिति होस् पढाइ छाड्नु हुँदैन’ भन्ने हो । पढेन भने बाल्यजीवन त्यतिकै व्यर्थ हुन्छ, त्यो राम्रो भयो भने मात्रै बाँचुञ्जेलको जीवन सहज हुन्छ भन्ने उनलाई लाग्छ ।