धनकुटा/ गोरु काटेको अभियोगमा पक्राउ परेकी इटहरी उपमहानगरपालिका–३ बौकाझोडाकी वर्ष २५ की पञ्चीमाया तामाङ शुक्रबार ४ बजे विनासर्त रिहा भएकी छन् ।

प्रहरीले गएको असोज १८ गते फूलपातीको दिन बिहान गोरु काटेको आरोपमा पञ्चीमायासहित चार जनालाई पक्राउ गरेको थियो । प्रहरीले पञ्चीमायाका श्रीमान् दलबहादुर तामाङलाई फेला नपारेपछि पञ्चीमायालाई नै पक्राउ गरेको थियो । हाल पञ्चीमायाको श्रीमान् दलबहादुर तामाङ भने फरार रहेका छन् ।

गोरुको मासु काटेको घटनामा पक्राउ परेका अन्य तीन जनाको नाम भने खुलाइएको छैन । तर सोही घटनामा प्रहरीले इटहरी उपमहानगरका नगर प्रहरी समेत रहेका राजकुमार तामाङलाई भने अशोज १८ गते पक्राउ गरेर १९ गते छाडेको भए पनि पुनः अशोज २४ गते शुक्रबार पक्राउ गरेको छ । त्यसैगरी ट्याम्पो चालक अर्जुन दर्लामीलाई पनि पक्राउ गरेको छ ।

राजकुमार तामाङले भने विगत लामो समयदेखि राँगा, भैंसी र गोरुको छाला किनबेच गर्दै आएका थिए । यस प्रकरणमा प्रहरीले पञ्चीमाया तामाङ र ट्याम्पो चालक अर्जुन दर्लामीलाई रिहा गरेको छ । नगर प्रहरी तामाङलाई पनि रिहा गर्ने तयारी भइरहेको दशैंको कारण ढिलाइ भएको इलका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आदिवासी जनजाति अभियान्ताहरू, अधिकारकर्मीहरू, पहिचानवादी राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू र तामाङ घेदुङ लगायत एकल जातीय संस्थाहरूले पक्राउ परेकाहरूलाई विनासर्त रिहा गर्न माग गर्दै बिहीबार इटहरीमा कोणसभा आयोजना गरेका थिए ।

पत्रकार तथा आदिवासी जनजाति अभियान्ता जनकऋषि राईले कोणसभामार्फत विनासर्त रिहा गर्न माग गरिएको र त्यसमा सफलता मिलेको बताएका छन् । कोणसभामा सहभागी समाजवादी पार्टी नेपालकी नेतृ शान्ता मोक्तानले १८ महिने दुधमुखे शिशुकी आमालाई १ हप्तासम्म प्रहरीले हिरासतमा राखेर अन्याय गरेको आरोप लगाइन् ।

मोक्तानले फूलपातीकै दिन गोरुकै मासु पकाए पनि अन्य केहीको मासु पकाए पनि कन्ती सहित पुलिसले पकडेर ल्याउनु नागरिकको खान पाउने अधिकारलाई कुण्ठित पारेको आरोप लगाइन् । उनले गोरुको मासु खाँदा पक्राउ गर्ने प्रहरीको कदम सदाको लागि अन्त्य हुने गरी देशव्यापी आन्दोलन उठाउनु पर्ने आवश्यकता समेत आंैल्याएका छन् ।

रिहा भएपछि खुशीयालीमा उनलाई नेपाल तामाङ घेदुङ नगर समिति इटहरीका अध्यक्ष चन्द्र गोम्देन तामाङ, प्रदेश घेदुङका सल्लाहकार लक्ष्मण मोक्तान तामाङ, मनु मोक्तान तामाङ, आदिवासी जनजाति अभियान्ता मनोहर थलङ, भीम खजुम राजेन्द्र साम्बालगायतले खदा र अबिर लगाएर स्वागत सम्मान गरेका थिए।

उनीहरूले एक छाक मासुका लागि ७ दिनसम्म कन्तीसहित प्रहरीको हिरासतमा बिताउने स्थिति हुनु राज्यसत्ताको चरम दमन भएको बताए । उत्पीडनको विरुद्ध न्यायको पक्षमा लड्ने साहस गरेको भन्दै सहभागी सबैले पञ्चीमायालाई धन्यवाद दिएका थिए ।