इटहरी/ दशैंको टीकाकै दिन इटहरीमा एउटा दर्दनाक घटना घट्यो । इटहरीका राजेश शर्माले आफ्नी श्रीमती र छोरीको हत्या गरी झुण्डिएर आत्महत्या गरेका छन् । फिल्मी शैलीमा आफ्नै श्रीमती र छोरीको हत्या गरेर बाकसमा प्याक गरेको पाइएको छ ।

दशैँको टीकाको दिन राजेश, उनकी श्रीमती पुनम र छोरी स्वस्तिका घरमै मृत भेटिएका हुन् । श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव बाकस र बोरामा हालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा ४२ वर्षका राजेशले श्रीमती र छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने देखाएको सुनसरीका डिएसपी विनोद शर्माले बताए । ‘अहिले यसै भन्ने अवस्था भने छैन, पोष्टमार्टम रिपोर्टपछि थप अनुसन्धानको बाटो खुल्छ’ –डिएसपी शर्माले भने ।

अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेपछि शव घरमा लगिएको थियो र शव बेर्नका लागि कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा मृतककी श्रीमती पुनमको शव भेटियो । ६ वर्षीया छोरी स्वस्तिकाको शव पनि बोरामा हालेर मुख बाँधेको अवस्थामा फेला परेको डिएसपी शर्माले बताए ।

श्रीमतीको टाउकोमा चोट छ भने छोरीको घाँटी च्यापेर हत्या गरिएको देखिन्छ । ‘राति अथवा बिहान झगडा भएपछि शुरुमा श्रीमतीको हत्या भयो, त्यसपछि छोरीको पनि भएको देखिन्छ’ इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर जितेश दाहालले भने, ‘शव व्यवस्थापनका लागि अधिकतम् प्रयास गर्न खोजेको देखिन्छ, सम्भव नभएपछि राजेशले पनि आत्महत्या गरेजस्तो छ ।’

मृतक श्रीमान्–श्रीमतीबीच लामो समयदेखि झगडा चलिरहेको थियो । दुवैबीच केही समयअघि मात्रै प्रहरीमा मिलापत्रसमेत भएको थियो । आत्महत्या गर्ने श्रीमान् भने लामो समयदेखि मिस्त्रीको रूपमा काम गर्दै आएको प्रहरी बताउँछ । लामो समयदेखि श्रीमान्–श्रीमतीबीच झगडा हुँदै आएको र प्रहरी तथा वडा कार्यालयसम्म मिलापत्र भएको इन्स्पेक्टर दाहाल बताउँछन् ।

राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । ११ वर्षीय कृष र १२ वर्षीय कृशिका हजुरआमाकोमा बस्दै आएका थिए । अहिले उनीहरू पनि त्यहाँ बस्न छोडेको प्रहरीले बताएको छ ।

टीकाको दिन छरछिमेकीहरू टीका लगाउन व्यस्त थिए । चाडबाड भएको कारण अरू बेलाको जस्तो झै–झगडा छरछिमेकीले समेत थाहा पाएनन् । लामो समयदेखि अर्काकै घरमा भाडामा बस्दै आएका उनीहरूका छरछिमेकमा पनि त्यति खोजीनीति हुँदैनथ्यो ।

स्थानीय विकास रेग्मीले भने, ‘हामीले झुण्डिएको कुरा प्रहरीलाई जानकारी गरायौं । तर उनीहरूको दशैंको मुखमा पैसाको कारण विवाद भएको हो कि भन्ने लाग्छ ।’ उनीहरूबीच लामो समयदेखि झै–झगडा हुँदैै आएको थियो । कहिले प्रहरी चौकी त कहिले वडा कार्यालयमा मिलापत्र हुँदै आएको थियो । प्रहरीले पनि पैसाकै कारण झै–झगडा भएको हुनसक्ने अनुमान गरेको छ ।