विराटनगर। पाँचौ संस्करणको मिस कोशीको उपाधि तेह्रथुमकी रेखा कार्की र तेस्रो संस्करणको मिसेस कोशीको उपाधि मोरङ केराबारीकी रेनुका लिम्बुले जितेकी छिन् । उनीहरूले अन्य प्रतिस्पर्धीहरूलाई पछिपार्दै उपाधिसँगै जनही नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन आफ्नो शिरमा पहिरिए ।

जय मिडिया म्यानेजमेन्ट प्रालिले इटहरीमा आयोजना गरेको मिस कोशीको फाइनलमा ७ जना र मिसेस कोशीमा ११ जना फाइनलमा प्रवेश गरेका थिए ।  मिस कोशीतर्फको फस्ट रनरअप मोरङ बेलबारीकी अनु निरौला तथा सेकेण्ड रनरअप इश्वरी चोङवाङ्ग घोषित भइन् ।

यस्तै मिसेस कोशीको फस्ट रनरअप धरानकी दीपा सेन्चुरी विश्वकर्मा र सेकेण्ड रनरअप विराटचौकी पूजा सोनार घोषित भइन् । प्रतियोगिताको निर्णायकहरूमा चलचित्र निर्मता तथा निर्देशक बावुराम आर्याल, नर्सिङ्ग क्याम्प विराटनगरकी प्रमुख मनेकुा भण्डारी र मिस्टर नेपालको निर्देशक मिना श्रेष्ठ रहेका थिए ।

सोही अवसरमा नेपाली सिने क्षेत्रका चर्चित तीन जना कलाकारहरूलाई सम्मान पनि गरियो । कलाकार संघको अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्का, चर्चित अभिनेताद्धोय शिव श्रेष्ठ र धिरेन शाक्यलाई सम्मानित भएका हुन् । उनीहरू कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कलाकारिता क्षेत्रमा पुर्याएको योगदान कदर गर्दै उनीहरूलाई सम्मान गरिएको जय मिडिया म्यानिजमेन्टका निर्देशक जय राज रायले जानकारी दिए ।