धरान । चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा विरोध प्रदर्शन गर्न सक्ने आशंकामा सत्तारुढ दलकी एक नेतृलाई पक्राउ गरिएको छ ।

यसअघि चीनका विदेशमन्त्री वाङ यी नेपाल आउँदा विरोध प्रदर्शनमा सहभागी भएका कारणले फेरि पनि विरोध प्रदर्शन हुने आशंकामा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले पुष्टि गरेको छ । सी आज शनिबार अपरान्ह ४ बजे नेपाल आइपुग्ने कार्यक्रम छ । समाजवादीका नेतृ सुनिता साहलाई सप्तरीको सदरमुकाम राजबिराजबाट नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिए । उनले महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको पत्राचारको आधारमा उनलाई पक्राउ गरिएको बताए ।

उनी अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्षसमेत हुन् । उनलाई शुक्रबार राजविराज ६ स्थित घरबाटै नियन्त्रणमा लिइएको एसपी प्रसाईंले जानकार दिए । भदौको तेस्रो साता चीनका विदेशमन्त्री वाङ यी आउँदा उनीसहित काठमाडौंस्थित चीनको दूतावासमा प्रदर्शन गरेकी थिइन् । त्यसबेला पनि केही व्यक्तिहरु पक्राउ परेका थिए ।