काठमाडाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका नेताहरुले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई नेपाली जनता आतुरताका साथ पर्खिरहेको बताएका छन ।

आज आयोजित साक्षात्कारमा उहाँहरुले २३ वर्षपछि चिनियाँ नेताको उच्चस्तरीय राजकीय भ्रमणको स्वागतका लागि तत्पर रहेको बताए । नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ नेता सी चिनफिङबाट नेपाल भ्रमण हुने खबरले काङ्ग्रेस हर्षित भएको बताउँदै नेपाली काङ्ग्रेसले उहाँको भ्रमणलाई महत्वका साथ हेरेको बताइन । कोइरालाले भनिन , “नेपाली काङ्ग्रेसले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको छ ।”

नेकपाका नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेकपा नेतृत्वको वर्तमान सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उत्साहका साथ स्वागत गर्ने बताए । लगानीको दृष्टिले विश्वमा एक नम्बर तथा अर्थतन्त्रको हिसाबले दोस्रो नम्बरमा रहेको चीनसँग शनिबारदेखि हुने चिनियाँ नेतासँगको भ्रमणका क्रममा सरकारले चीन वा भारत कतैतर्फ पनि नढल्किकन कुरा गर्ने बताए ।

उनले पारस्परिक हित तथा सहयोगको आधारमा मित्र मुलुक चीनसँग केरुङ–काठमाडौँ रेलमार्गको विषयमा पनि छलफल केन्द्रित हुने बताए । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचनले सम्पूर्ण नेपालीले २३ वर्षपछि चिनियाँ नेताको स्वागत गर्न पाउनु ऐतिहासिक तथा दूरगामी महत्वको भएको बताए। चिनियाँ नेताको उच्चतहको भ्रमणलाई नेपालले शान्ति, असंलग्नता, पञ्चशील सिद्धान्तको आधारमा कुरा गर्नुपर्नेमा उनको जोड थियो ।