भद्रपुर/ भारतबाट नेपाल भित्रिने लागूऔषध (ड्रग्स) नियन्त्रण नहुँदा नेपाल प्रहरीलाई समस्या भइरहेको बेला भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा चासो देखाएको छ ।

सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले लागूऔषध (ड्रग्स) नियन्त्रणमा खासै चासो नदेखाएको भन्दै नेपाल–भारतको सुरक्षा निकायको बैठकमा पटक–पटक लागू औषध नियन्त्रणको विषयमा छलफल हुने गरेको छ ।

केही दिनअघि मात्र भारतको किशनगञ्ज जिल्ला गलगलियास्थित भातगाउँ एसएसबी क्याम्पमा बसेको दुवै देशका सुरक्षा निकाय प्रमुखबिच लागूऔषध नियन्त्रण गर्ने विषयमा भएको सहमत पश्चात् बल्ल भारतीय सुरक्षाकर्मीले भारतबाट नेपाल भित्रिने लागूऔषध नियन्त्रणमा चासो बढाएको छ ।

सशस्त्र प्रहरी बल (एसएसबी) ले नेपाल भित्राउन लागेको ठुलो परिणाममा लागू औषध (ड्रग्स)सहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । एसएसबी ४१ वटालियन टोलीले कादोमोनीजोतस्थित नेपाल भारतको ९६÷१५ नम्बरको सीमा पिलर नजिकैबाट लागू औषधसहित इलाम जिल्ला लक्ष्मीपुर ८ का ४४ वर्षीय इन्द्रबहादुर राईलाई पक्राउ गरिएको भारतीय एसएसबीले जनाएको छ ।

उनलाई झापाकै मनिष थापाले लागूऔषध भित्राउन सहयोग गरेको एसएसबीको अनुसन्धानबाट खुलेको जनाइएको छ । एसएसबीले राईको साथबाट फेनारगन, लुपिजेसीक, डाइजोपाम गरी २८सय५५ एम्पुल लागूऔषध बरामद गरेको हो । उनलाई लागूऔषधसहित आवश्यक कारबाहीका लागि खोरीबारी थानालाई बुझाइसकेको जनाइएको छ ।

नेपालमा प्रतिबन्धित मानिएका लागूऔषध भारतको औषधि पसलहरूमा खुलेआम बिक्री वितरण हुने गरेकाले भारतीय सीमावर्ती बजारमा नेपाली युवायुवती लागू औषध खरिद तथा सेवन गर्न भारत जाने गरेका छन् ।

भारतबाट ल्याएका लागूऔषध नेपाल भित्रिने क्रम नरोकिएपछि भारतीय सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रण तथा रोकथाम अभियान शुरु गरिएको प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

काँकडभिट्टा नाकाबाट दिनहुँ लागूऔषध सेवा तथा प्रयोगकर्तालाई लागूऔषध ब्युरो नियन्त्रण शाखाको टोलीले नियन्त्रणमा लिँदै आइरहेको भएपनि झापामा नियन्त्रण हुन नसकेको उनले बताए । अब भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी यसलाई रोकथाम गर्न अभियानमा जुटेको उनको भनाइ छ ।