दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सिसहनियाँ गाउँ घोराही बजार भन्दा करीब आठ किलोमिटरको दुरीमा छ । यो गाउँमा करीब ८० घरधुरी छन् । यहाँ बसोवास गर्ने सबै जाति थारु समुदायका मात्रै हुन् । एक दशकअघि विसं २०६५ थारु कला, संस्कृति र पहिचानको जगेर्ना गर्नुपर्छ भन्दै केही थारु अगुवाको पहलमा उक्त ठाउँमा थारुग्रामको थालनी भएको थियो ।

तत्कालीन जिल्ला विकास समितिले सम्पदा संरक्षणका लागि तीन लाख आर्थिक सहयोग गरेपछि पाँच वटा थारुको पहिचान दिने घर र त्यसमा आफ्ना कला, पौरख अनि दैनिक जीवनमा प्रयोग गरिने सामग्री राखिएका छन् । ती सबै वस्तु अहिले पनि छन् । घरमा मिथिला चित्रकला, थारु जातीले प्रयोग गर्ने ढकिया, बेरुवा, चाकी, हलो, कोदालो, कोल, सुइला, ढुइना, नम्ह्रैन(मालुको) पातको दुना टपरीलगायत वस्तुभाउ राखिएका छन् । खर र काँसले छाएको छाना, माटोको भित्ता अनि भित्रको कोठा पनि थारु परम्पराका छन् । थारु ग्राम स्थापना भएको एक दशकमा घर र त्यसभित्रका केही सामग्री बनेपनि थप केही उपलब्धि भने हुन सकेको छैन । त्यति पूर्वाधार बनेपनि यसको प्रचार प्रसार, विकास र विस्तारमा काम हुन नसकेको गुनासो छ । “पुराना पुस्ताले अलिअलि भए पनि बिडो धानेर यहाँसम्म ल्याएका छौंँ, हाम्रा छोरा नातिलाई सिकाउन खोज्यो चासो नै लिँदैनन्, के गर्नु ?”, थारु ग्राम संरक्षण व्यवस्थापन समिति अध्यक्ष बेझलाल चौधरी भन्नुहुन्छ, “हामीले भनेको सबै कुरा राम्रा नहोला तर राम्रो नराम्रो छुट्याउने काम त नयाँ पुस्ताको होइन र ?” उहाँको प्रश्न छ । यो थारु समुदायको अमुल्य सम्पत्ति भएको र यसको संरक्षणमा हामी आफै लाग्नु पर्छ भन्ने सोच भए पनि यसतर्फ चासो नै नदिइएका अध्यक्ष चौधरीले बताउनुभयो । थारु ग्रामलाई संरक्षण गर्ने, संग्रहालय पनि बनाउने र आन्तरिक, वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने भनेर तत्कालीन अवस्थामा कामको थालनी भएको थियो ।

स्थानीय थारु अगुवाहरुले केही पूर्वाधार तयार पारे पनि आर्थिक अभावका कारण काम रोकिएको संरक्षण समितिले जनाएको छ । करीब चार बिघाहा क्षेत्रफल जग्गा थारु ग्रामकै लागि छुट्याइएको छ । अहिले स्थानीय सरकार आइसकेपछि घोराही उपमहानगरले केही चासो देखाएको छ । उपमहानगरका नगर प्रमुख नरुलाल चौधरीले थारु संस्कृति र परम्पराको संरक्षणका लागि थालिएको काम एक दशकयता अधूरै रहेको देख्दा आफूलाई दुःख लागेको भन्दै थप संरक्षणमा आफू लाग्ने बताउनुभयो । उहाँले उपमहानगरको पर्यटन शाखासँग आवश्यक परामर्श गरेर वृहत योजनासहितको काम गरी पर्यापर्यटन र थारु होमस्टेको रुपमा विकास गर्ने गरी काम गर्न चाहेको बताउनुभयो । स्थानीय नागरिकको सहयोग चाहिने भएकाले उनीहरुलाई संरक्षणसँगै उत्पादनमुखी योजना ल्याउने आफुले सोच बनाएको धारणा उहाँले व्यक्त गर्नुभयो । नजिकै बबई नदी रहेकाले नदीलाई पनि आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रुपमा विकास गर्न युवालाई चासो लिएर अघि बढ्न नगर प्रमुखको आग्रह छ ।