धरान / ‘भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान’ सञ्चालन गरिरहेको राष्ट्रिय जनमुक्ति पार्टीले धरानको विजयपुरमा तीनदिने अभियान शुरु गरेको छ ।
पार्टीको गत जेठ १५ बाट शुरु भएको अभियानअन्तर्गत शनिबारबाट तीनदिने भ्रष्टाचारविरुद्ध कार्यक्रम सञ्चालन गरेको हो । पहिलो चरणको कार्यक्रमअन्तर्गत असोज २० सम्म यो कार्यक्रम निरन्तर चल्नेछ ।
देशव्यापी रूपमा मङ्सिर २३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, नगरअध्यक्ष चित्र थापा मगरलगायतका नेताहरूको सहभागिता रहेको छ ।
पार्टीले भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, भ्रष्टाचार मुद्दालाई छिटो टुङ्ग्याउन स्वायत्त अधिकारसहितको छुट्टै विशेष अदालतको व्यवस्था गरिनु पर्ने, पञ्चायतकालदेखि हालसम्मको भ्रष्टाचार प्रकरण र उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति विवरण छानबिन गर्न स्वतन्त्र नागरिक छानबिन आयोग गठन गरिनु पर्नेलगायतका माग राख्दै आएको छ । पार्टीले यसअघि २०७५ असोज २ गते सरकारलाई ३९ बुँदे ज्ञापन–पत्रसमेत बुझाएको थियो ।