किरातीहरूको तीर्थ भूमि फक्ताङलुङ होइन, कैलास पर्वत हो

alt
  • आश्विन १८, २०७६
  • १,१०१ पटक पढिएको
  • मिराकहाङ याक्थुङबा

किराँत, किरात वा किराती भनी इतिहासकारहरूले औंल्याएका जातीहरू धेरै थिए । वर्तमानमा मौलिक पहिचान प्रष्ट पार्न नसकेका केहीले बाहेक धेरैले आफूलाई ‘किरात’ भन्न रुचाएनन् । दक्षिण एसियाका र खासगरी समस्त हिमालयदेखि दक्षिणतिरका मङ्गोलमूलका प्राचिन आदिवासीहरू, युद्धमा पराजित शरणार्थी दासहरू,आर्यद्वारा जातिच्यूत समुदाय, म्लेच्छ तथा शूद्र वर्ण जो आज अनेक नामले परिचित छन्, तिनीहरूलाई वैदिक युगका आर्यहरूले पहिलो पल्ट किराँत भनी सम्बोधन गरेका थिए ।

डा. खेम खनालको खोजअध्ययन अनुसार, “किराँत, किरात शब्द प्राचिन संस्कृत ग्रन्थहरूः जस्तै, यजुर्वेद, अथर्ववेद, महाभारत आदिमा उल्लेख भएका पाइन्छन् ।संस्कृतको कोष हेरेर संस्कृतमा हामीलाई गाली गरिएको छ भनेर नबुझ्ने किराँती मित्रहरूबारे हेर्दा किरात अनेकार्थी शब्द रहेको पाइयो ।

अमरकोष अनुसार– किरात म्लेच्छ जातिको एउटा प्रकार हो । बौधायनमा म्लेच्छ भनेको गाईको मासु खाने, वर्णाश्रम धर्म नमान्ने, आर्यविरोधी भनिएको छ । कतैकतै संस्कृत नबोल्ने जातिलाई पनि म्लेच्छ भनेको देखिन्छ । वामन आप्टेले अनार्यदेश, वर्णाश्रम व्यवस्था नभएको देश, विदेशलाई म्लेच्छदेश भनेका छन् । अमरकोषमा म्लेच्छदेशलाई पर्यन्तभूमि भनिएको छ र नदी र पहाडको छेउको भूमिलाई पर्यन्तभूमि भनिएको छ । शब्दस्तोममहानिधिमा पर्यन्तभूमिसम्म घुमफिर गर्ने जातिलाई किरात भनिएको छ । गाउँ र वनदेखि सुरु भएर सीमा नसकिएसम्म “समुद्रसम्म”को भूमिलाई पर्यन्तभूमि भनिएको छ ।

यहाँ शक्तिसङ्गमको भनाइलाई उद्धृत गर्दै भनिएको छ, ‘तातो कुण्डदेखि रामेश्वरसम्मको विन्ध्याचल पर्वतभित्रको भूमि किरातदेश हो ।” आप्टेले उत्तरभारत र दक्षिण भारत छुट्याउने पर्वतमालालाई विन्ध्याचल भनेका छन् । म्लेच्छ जातिको एउटा भेद पनि भनिएको छ । होचो जातिलाई पनि किरात भनिएको छ । आप्टेले सिकार गरेर जीविका चलाउने एउटा असभ्य पहाडी जातिलाई किरात भनेका छन् । उनले होचो कदको जाति, जङ्गली जाति, घोडाको व्यवसाय गर्ने मान्छे र शिवमहादेवलाई पनि किरात शब्दले बुझाउने कुरा गरेका छन् ।

शब्दकल्पद्रुममा फोहोर ठाउँमा घुमफिर गर्ने जाति, सुँगुरको मासु खाने जाति, म्लेच्छ जातिको एउटा भेद ‘निषाद–सिकारी’, होचो जाति र घोडाको रेखदेख गर्ने व्यक्तिलाई किरात भनिएको छ । वाचस्पत्यकोषमा किरातका धेरै अर्थ सङ्कलन गरिएका छन्, जसअनुसार फोहोरमा घुमफिर गर्ने जाति, नीच प्रकृतिको एउटा सिकारी जाति, एक प्रकारको माछा, वनमा बस्ने जाति, होचो जाति, सिकारी, सानो जातको निम्पत्ती, घोडाको रेखदेख गर्ने मान्छे, महादेव यिनीहरूलाई किरात भनिएको छ ।

मनुस्मृतिमा वेद नपढ्ने जातिभित्र किरातलाई पनि राखिएको छ । भागवत पुराणमा शिवलाई किरात भनिएको छ । पहाडी जङ्गलमा सिकारीका भेषमा किरातरूपी शिव आएका छन् । उनका साथमा सुन्दरी स्त्रीहरूसमेत धेरै थिए । अर्जुनजस्ता वीरलाई किरातरूपी महादेवले हराएका छन् । उनलाई दिव्य हातहतियार समेत दिएका छन् । हरिवंश पुराणमा पार्वतीलाई किराती भनेर स्तुतिसम्मान गरिएको छ । यसबाट किरात जति सबै असभ्य भन्ने निष्कर्ष निस्किँदैन ।

माथिको चर्चाबाट किराँती शब्दका निम्न अर्थ निक्लिए १. एक प्रकारको म्लेच्छ जाति, २. होचो जाति, ३. घोडाको रेखदेख वा व्यवसाय गर्ने जाति, ४. सुँगुरको मासु खाने जाति, ५. असभ्य पहाडी सिकारी जाति, ६. जङ्गलमा बस्ने जाति, ७. वेद नपढ्ने अनार्य जाति, ८. भारतको विन्ध्याचल पर्वतमा बस्ने जाति आदि ।

यहाँ हेर्दा यी सबै एउटै जातिका विशेषण होइनन् । यी भए जातिका नाम । किरातले काम, व्यक्ति, वस्तु र अन्य प्राणीलाई समेत बुझाउँदछ । जस्तै १. सइस, २. निम्पत्ती, ३. माछाको प्रजाति, ४. सिकारी, ५. शिव आदि ।

यी सबैबाट किरात अनेकार्र्थी शब्द हो भन्ने थाहा पाइन्छ । यी अर्थसँग नेपालकाकिराँत, किरातीको सम्बन्ध खोज्दा सँुगुरको मासु खाने, पहाडी, सिकारी र किरातरूपी महादेवसँग सम्बन्धित जाति भन्न सकिन्छ । नेपाल पहाड र जङ्गलले भरिएको सिकार योग्य ठाउँ र शिवपार्वती ‘पारुहाङ’ ले किरात र किराती भएर वनविहार गरेको भन्ने पौराणिक कथा र लोकोक्तिबाट यस्तो लागेको हो ।

सभ्यताको सुरुवात हुनुभन्दा पहिले सबै जाति जङ्गली नै थिए । सभ्यताको पाइला टेक्न ढिलोछिटो भएको होला । अझै कयौं जाति जङ्गलमै छन् । विकसित देशभन्दा नेपाली पछाडि नै छौँ । नेपालको किरात प्रदेश र भारतको विन्ध्याचल पर्वत एउटै होइनन् ।

माथिका शब्दकोषमा उल्लिखित किरातका अर्थसँग नेपाली राईलिम्बूको त्यस्तो सम्बन्ध देखिँदैन । खास गरेर सभ्यताको युगमा पाइला सार्दै गरेका वा सारिनसकेका पुराना विभिन्न भारतीय जातिहरूलाई ठाउँठाउँमा आर्यहरूले किरात नाम दिएको देखिन्छ । शिवलाई पनि किरात भनिएबाट सबै किराती एकै हुन् भन्न मिल्दैन ।”

आज केही लिम्बूहरूले फाल्गुनन्दका पालादेखि शुरुवात गरिएको जसमनीपन्थलाई किरात धर्म नाम दिएका छन् । लगभग १०० वर्षजति पुग्दै गरेको त्यो किरात धर्मले हिन्दू धर्मकै जस्तो चरु पोल्ने, यज्ञकुण्ड बनाएर होमहोमादि लगाउने, शंख फुक्ने, कमण्डलु चलाउने, नागपन्चमीका दिन नाग पर्चा टाँस्ने आदि गर्दछन् ।

हिन्दूधर्मकै एक पन्थका रुपमा अभ्यास भइरहेको त्यो धर्मले बेमाइनीपूर्वकसुसुवा लिलिम याक्थुङ (लिम्बू) जातिको प्राचिन धर्म युमा साम्योको मुन्धुमलाई किरात मुन्धुम भन्दै कुप्रचार गरिरहेको देखिन्छ । याक्थुङ सिरिजङ्गा लिपिलाई किरात लिपि, याक्थुङ (लिम्बू) भाषालाई किरात भाषा, फक्ताङलुङ किरात तिर्थभूमि, याक्थुङ लाजे? (लिम्बुवान)लाई किरात प्रदेश आदि नाम दिन खोजेरहजारौं वर्षअघिदेखिको याक्थुङ मौलिक पहिचान, परम्परागत मूल्य–मान्यता र पुख्र्यौली इतिहासलाई ध्वस्तएवं नामेट पार्न उद्यत भइरहेको देखिन्छ ।

त्यति मात्रै होइन, याक्थुङ (लिम्बू) जातिका प्राचिन कालदेखिका धार्मिक आस्था, श्रद्धा, विश्वास र मान्यता बोकेका पवित्र स्थलहरूमा हस्तक्षेप र बलात् अतिक्रमण यसले गरिरहेको देखिएका छन् । मेन्छ्यायेम थेगु, नाहाङ्मा यक, पारुङफुक्कु मारुङफुक्कु लगायत अनेक स्थलहरूमा माङहिम बनाउने, होमहोमादि लगाउने, त्रिशुल गाड्ने थलो बनाएर प्राकृतिक अवस्थालाई विरुप बनाइरहेको देखिन्छ ।

यसैक्रममा किरातीहरूको आस्थाको केन्द्र फक्ताङलुङ भन्दै किरातधर्मीहरूवर्षेनि तिर्थयात्रा जाने गर्दछन् । पारुङफुक्कु मारुङफुक्कु, पारुङलुङ मारुङलुङ, पारुङतेम्बे मारुङतेम्बे आदि नामले चिनिने र मुन्धुममा उल्लेख हुने त्यो पवित्र स्थल विश्वका सम्पूर्णकिरातीहरूको उत्पतिथलोहुँदै होइन । यस्तो निराधार दाबी कसैले नगरौं ।

त्यो फक्ताङलुङ क्षेत्र माङजिरी माङयाक्थुङसा, खाम्जिरी खाम्बोङबासा लुङजिरी लुङबोङबासा, सावायेत्हाङसा, सुसुवा लिलिम याक्थुङसा (लिम्बू)हरूको चाहिँ साझा उदगमथलो हो । याक्थुङ बाहेक किरात भनिएका अन्य कुनै पनि जातीय समुदायहरूको उदगमथलो त्यसलाई मानिएको पाइँदैन । मुन्धुमअनुसारपारुङलुङ मारुङलुङ, पारुङतेम्बे मारुङतेम्बे, पारुङफुक्कु मारुङफुक्कुसुसुवालिलिम याक्थुङहरूका आदिमाता मुजिङना खेयङनाको जन्मथलो हो । त्यो पारुङतेम्बे मारुङतेम्बे, पारुङफुक्कु मारुङफुक्कु युमाधर्मावलम्बीहरूको पवित्र तिर्थभूमि हो, उद्गमथलो हो । कुनै किरातीको रकुनै हिन्दूको कसैको पनि होइन ।

फाल्गुनन्द जसमनीपन्थी धर्मगुरु थिए भन्ने कुरो सर्वविदितै छ । उनी किरातेश्वर, शिवजी, महादेव, भोलेबाबाका उपासक तथा भक्त थिए । अर्धनारीश्वर जस्तो पुरुष र नारीको समरुपी स्वरुपधारण गरिहिँड्ने, चिम्टा र त्रिशुल बोकिहिँड्नेशैवपन्थी वा शैवमार्गीसाधु थिए, उनी ।

यदि जसमनी धर्मगुरु फाल्गुनन्दले तिर्थयात्रा गरेकै आधारमा किरातधर्मीहरूलेफक्ताङलुङलाई तीर्थभूमिमान्ने हो भने उनले भ्रमण गरेका भारतका विभिन्न धार्मिक स्थलहरूलाई समेत तीर्थभूमि किन नमानेको? किरातीहरू त्यतापनि तीर्थयात्रा जाऊन् । फक्ताङलुङ मात्रै तिर्थभूमि किन मानिएको?

वि. सं. १९७७ मा पुनः भ्रमण गरेकाभारतका काशी, अयोध्या, मथुरा, कामरुप, कामाक्षा, हरिद्वार, बद्रीनाथ आदि थलोहरू पनि किरातधर्मीहरूको तिर्थस्थल भनी मान्नु पर्दछ । त्यस्तै उनले भ्रमण गरेका द्वारिका, जगन्नाथपुरी, रामेश्वर, सेतुबन्ध आदि जस्ता स्थलहरू समेत किरातधर्मीहरूका तिर्थस्थलहरू हुन् । किनभने किरात धर्मका महागुरु फाल्गुनन्दले ती ठाउँहरूमा समेत तिर्थयात्रा गरेका थिए ।

कैलासपर्वतमा शिवपार्वतीको बासस्थान थियो भनीसमस्त हिन्दूहरूर जैनधर्मीहरू विश्वास गर्दछन् । केही किरातधर्मीहरूले याक्थुङ मुन्धुममै नभएको, कुनै मिथकहरूमा समेत नपाइने हाङसाम थेबा र हाङसाम युमा भन्दै हिन्दूहरूका इष्टदेवदेवी शिवपार्वतीलाई याक्थुङ भाषामा अनुवाद गरी भित्र्याएर लिम्बूहरूलाई हिन्दू बनाउने कुचेस्टा गरिरहेका छन् ।

अन्तमा, एक जना विद्वानको तर्क सापटी लिँदा, ‘मुन्धुमी भाषाअनुसार काईलाशोको अर्थ नाता सम्बन्ध,पवित्र आसन हुने भएकोले त्यसबेला हिमाललाई सर्वोच्च आत्मा बस्ने पवित्र स्थान भनी काइलाशो वा कैलाश भनिन्थ्यो । र, यही काइलाशो शब्द अपभ्रंस हुँदै काइलाशी, काइलाती, कैरती वा किरात भएको र यहीँ जन्मे हुर्के फैलिएका मानिस नै किराती भएको भनिएको छ ।’ यो तर्कअनुसार बनेका वा उत्पति भएका किरात, किरातीहरूको उद्गमथलो निश्चितरुपमा कैलास पर्वत नै हो । जुन वर्तमानमा चीनको तिब्बतमा पर्दछ ।

याक्थुङ (लिम्बू) जातिका प्राचिनकालदेखिका धार्मिक, साँस्कृतिक, पुरातात्विक सम्पदाहरूका रुपमा रहेका मुन्धुम र मिथकहरूमा वर्णित स्थलहरू प्राकृतिक अवस्थामै संरक्षित गरिनु पर्दछ । त्यहाँकसैले पनि फोहरमैला पार्न हुँदैन,बलात हस्तक्षेप र अतिक्रमण गर्न हुँदैन ।पारुङतेम्बे मारुङतेम्बे, पारुङफुक्कु मारुङफुक्कु जस्तो पवित्र भूमिमा होमहोमादि लगाइने कुटी (मन्दिर) र कसैको मूर्ति ठड्याउने दुस्प्रयासकसैले पनि नगरौं ।

उपरोक्त छलफलको निस्कर्ष यो हो कि हिन्दूधर्मको एक पन्थ किरात धर्मको,किरातेश्वर, शिवजी, महादेवका अनन्य भक्त तथा शिवमार्गी फाल्गुनन्दका अनुयायीहरूको तिर्थभूमि, पावनभूमि र पूण्यभूमिफक्ताङलुङ पर्वत होइन, तिब्बतमा पर्ने कैलासपर्वत हो । त्यसैले होमहोमादि गरिने किरातेश्वर कुटी (माङहिम)र किरात महागुरु फाल्गुनन्दको मूर्ति तिब्बतको कैलास पर्वततिरै ठड्याउन उपयुक्त हुन्छ ।

पथरीशनिश्चरे फुटबल प ...

पथरी / मोरङको पथरीशनिश्चरेमा जारी दोश्रो पथरीशनिश्चरे ख ...

पानीपियामा दुर्घटना ...

इटहरी / इटहरी उपमहानगरपािलका –२ पानीपियामा द ...

सुनसरीलाई दुख दिने क ...

धरान / कोशी टप्पु वन्य जन्तु आरक्षको हात्तिसार उदय ...

स्थानीयले उठाए अस्पत ...

इनरुवा /  इनरुवा अस्पतालमा थुप्रिएको फोहोर स्थानीय ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved