इटहरी/ तपाई दशैंको मासु किन्न पसल जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने होसियार ! अहिले बजारमा चाडवाडलाई लक्षित गरी मासु व्यापारीहरूले धेरै मुनाफा कमाउन व्यापारीहरूले अस्वस्थकर मासु बेच्ने गरेको पाइएको छ ।

स्वस्थ मासु भन्दै व्यवसायीहरूले बिग्रिएको मासु फ्रिजमा राखेर उपभोक्तालाई दिने गरेको इटहरी अनुगमन समितिले जनाएको छ । इटहरी उपमहानगरले बुधबार र बिहीबार गरेको बजार अनुगमनमा मासु पसलमा सडेगलेका मासु बिक्री गर्ने गरेको रहस्य बाहिरिएको हो । बजारका पसलहरूमै पुरानो कुहिएको मासु नियन्त्रणमा लिएको बजार अनुगमन समितिका संयोजक प्रकृति चौलागाईंले बताइन् ।

‘केही पसलहरूमा पुरानो कुहिएको मासु भेटेको र ती मासुलाई नष्ट गरेका छौं’–उनले भनिन् । इटहरीको आइतबारेमा सञ्चालन भइरहेको प्रकाश फ्रेस हाउसमा कुहिएको अवस्थामा बोइलर कुखुराको मासु फेला परेको थियो । बजारमा सञ्जालनमा आएको मासु पसलमा समेत फोहोर भेटिएको संयोजक चौलागाईंले बताइन् ।

अनुगमनकै क्रममा इटहरीको बीपीचौक छिर्ने मुखैमा सञ्चालन हुँदै आएका मासु पसलमा सडेको अवस्थामा खसीको मासु बरामद भएको थियो । अनुगमनको टोली देखे लगत्तै इटहरी मिट सेन्टरका सञ्चालक इसान हुसैनले फ्रिजमा राखेका सडेका मासु हतार–हतार बोरामा हालेर फाल्न लैजादै गर्दा बाटैमा बरामद गरिएको थियो ।

अनुगमन टोलीले मासुको अवस्था सडेर दुर्गन्ध फैलिएको देखे पनि नियन्त्रणमा रहेका व्यवसायी हुसैनलाई पनि त्यतिकै छाडिदिएका थिए । यतिमात्र नभई व्यवसायीहरूले प्रयोग गर्ने ढक तराजु समेत अवैध भेटिएको थियो । अनुगमन टोलीले सो ढकहरू आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

इटहरीका अगुवा श्याम निरौलाले बजारमा अनुगमनलाई अझै प्रभावकारी बनाउन माग गरे । दशैंको मुखमा भइरहेको धन्दालाई नियन्त्रणमा लिनुको विकल्प नरहेको उनको भनाइ थियो । मासु पसलहरू फोहोर र दुर्गन्धित भएको भन्दै यस्ता पसलहरूलाई चेतावनीमात्र नभई मासु बेच्न बन्द गर्नुपर्ने उनको माग थियो । अनुगमन टोलीले इटहरीको हटीयालाइनस्थित पशु बधशाला, सङ्गीतचौक, बसपार्क मोड्ने राजमार्ग, आइतबारे लगायतका क्षेत्रमा रहेका मासु पसलहरू अनुगमन गरेका थिए ।