ताप्लेजुङ / ताप्लेजुङमा अवस्थित किराती धर्मावलम्बीको साझा तीर्थस्थल फक्ताङ्लुङमा तीर्थका लागि जाने मौसम शुरु भएको छ । जिल्लाको उत्तरी फक्ताङ्लुङ गाँउपालिका–६ लेलेपमा रहेको विश्वका किरातीहरूको धार्मिक सांस्कृतिक पर्यटकीय स्थल, पवित्र आस्थाको केन्द्र सेन्छेई फक्ताङ्लुङमा किरात धर्मावलम्बीको विगत झैं यो वर्ष पनि तीर्थयात्राका लागि लस्कर लाग्न थालेको छ ।
किराँतीहरु आफ्नो पवित्र पावनभूमि सम्झेर सेवा भक्तिका निम्ति तीर्थयात्रामा निस्कने गरेका छन् । किरातीहरू फक्ताङलुङ फेदीमा रहेको ढुङ्गामा पुग्ने गरेका छन् । सो ढुङ्गाको दायाँबाँया दुई ओढार छन् । सो ओढारलाई किरात मुन्धुमी पानमा ‘मारुम तेम्बे पारुम तेम्बे’ अर्थात् ‘मातृ ओढार पितृ ओढार’ भनेर चिनिने गरेको किरात मुन्धुमका जानकार ज्ञानु फुरुम्बो बताउँछन् ।
त्यही स्थलमा पुगेर किरात धर्मावलम्वीहरू सेवा भक्ति आराधाना गर्ने गर्दछन् । ‘यहाँसम्म पुगेपछि सबै घर परिवारमा सुख, शान्ति हुन्छ भन्ने विश्वास रहेको छ ।, सोही कारणले फक्ताङलुङ दर्शनका लागि आएका हौँ ।’ इलामबाट किरात धर्मावलम्वीहरुको टोलीलाई लिएर आएका डम्बर राईले भने, ‘त्यहाँ पुग्नका लागि इलामबाट नै खाने भाँडादेखि खाद्यान्न, लत्ताकपडाको समेत प्रबन्ध मिलाएर डोकोमा बोकेर हिँडेका छौँ ।’ उनीहरू खानेकुरा, लत्ताकपडा साथै सम्पूर्ण सामग्री डोकोमा बोकेर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट अघि बढेका छन् । दर्शन गर्ने स्थान पुग्नका लागि मात्रै ५ दिनसम्म लाग्ने किरात संस्कृति तथा मुन्धुमका जानकार ज्ञानु फुरुम्बुले बताए । ‘मुन्धुम र महागुरुको धार्मिक उपदेशमा उल्लेख भएअनुसार यो स्थल किरातीहरूको उत्पति स्थल र किरात धर्मावम्वीहरूले पूज्दै ल्याएको हाङसाम थेवा हाङसाम युमा अथवा ज्ञान, विवेका शक्ति सिद्धि शक्तिका धनी सत्यकी रानी सत्यका राजा, पितृदेव मातृदेवहरूको बास स्थान हो त्यसैले पवित्रस्थल सेन्छेई फक्ताङलुङमा जानेको यो सिजनमा त लर्को लाग्छ ।’ फुरुम्बुले भने ।
किरात महागुरुको उपदेशअनुसार सम्पूर्ण किरात धर्मावलम्वीहरू वर्षको एक पटक सो स्थलमा सेवा भक्ति गर्न पुग्नै पर्ने नसक्नेले जिन्दगीमा एक पटक अनिवार्य पुग्नैपर्ने, सक्नेले वर्षैपिच्छे जानु पर्ने र जो व्यक्ति सो स्थलमा पुगेर सेवा दर्शन गर्न सक्छ पछिल्लो जन्ममा ज्ञानशक्ति, धनशक्ति, जनशक्ति र राजशक्ति लिएर जन्म हुन्छ र जीवनमा आफूले गरेको कुकर्म, पाप सबै नस्ट हुन्छ । तीर्थका लागि नेपाललगायत भुटान, भारतको दार्जि्लिङ, सिक्किम, आसाम, बर्मा, युके, हङकङ, अमेरिका, कोरिया, मलेसिया, साउदीअरबजस्ता देशहरूबाट भक्तजनहरू आउने गरेका छन् ।

फुङलिङबाट दुई बाटो
ताप्लेजुङ सदरमुकामबाट सो स्थलमा जान दुई ओटा बाटो रोज्नु पर्ने हुन्छ । ताप्लेजुङ बजारदेखि सिवा, छिरुवा, तागेरा निवाङ भुफुकु, लेलेप, आम्चिलेसा, गोप्ला, फले, घुन्सा हुँदै ५ दिनको पैदल यात्रामा तीर्थभूमि ‘फक्ताङलुङ मारुम देन पारुम देन’ पुग्न सकिन्छ । अर्को बाटो भने ताप्लेजुङको काबेली श्रीङचोक हुँदै सोह्र दिनको यात्रामा पुग्न सकिन्छ । किरात धर्मावलम्वीहरूले विगत समयमा आफ्नो धार्मिक तीर्थभूमि कहाँ हो भन्ने अन्योल रहेको अवस्थामा महागुरु फाल्गुनन्द लिङदेनले पहिलो पटक १९९३ सालमा भक्तजनको साथमा फक्ताङलुङ यात्रा गरेका थिए । सोही समयदेखि किरात धर्मावलम्वीहरूले आफ्नो तीर्थभूमि, कर्मभूमि र पूण्यभूमिका रूपमा पूज्ने गर्दै आइरहेका छन् । सो तीर्थभूमि धेरै अग्लो र दुर्गम स्थानमा रहेको हुँदा यात्रा गर्दा आवश्यक भौतिक सामग्री बोक्नु पर्ने हुन्छ ।