विराटनगर /  विराटनगरमा एक जना महिला माथि चक्कु प्रहार भएको छ । विराटनगर महानगरपालिका–१० सोमबारेकी ३४ वर्षीय मायादेवी मण्डललाई चक्कु प्रहार भएको हो । चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँका ३३ वर्षीय मेघराज मण्डललाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा मेघराजले छिमेकी मायदेवीलाई चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट महिला घाइते भएकी प्रहरीले जनाएको छ । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिए । घाइतेको टाउको चारवटा टाँका लगाइएको छ ।
मेघराजले आफ्नो सिटी सफारी लुकाएर मायादेवीको घरमा जोडेको बिजुलीमा चार्ज गरेपछि दुई पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ । मायादेवीले बिल धेरै उठ्ने भन्दै आफ्नो घरको बिजुलीमा चार्ज नगर्न आग्रह गर्दा मेघराजले चक्कु हानेको प्रहरीको भनाइ छ ।
चक्कु प्रहार गरेर फरार भएका मेघराजलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर राना नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । मेघराजले भने मायादेवीले आफूलाई दिनु पर्ने पैसा नदिएको र उल्टै विवाद गरेका कारण आवेसमा आएर चक्कु प्रहार गरेको प्रहरीलाई बताएका छन् । घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी खिँउजुले बताए ।