विराटनगर / नेपाल टेलिकमले फोर जी सेवा विस्तार गरेसँगै प्रदेश १ को चार जिल्लामा यो सेवा सुचारू भएको छ । प्रदेश १ को चार जिल्लामा ६ सय ९५ वटा बीटिएसबाट ‘फोर जी’ सेवा सुचारू भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंमा बुधबार ३२ जिल्लामा एकसाथ हाई स्पीड इन्टरनेट ‘फोर जी’ सेवाको शुभारम्भ गरेका थिए । प्रदेश १ को मोरङ, झापा, सुनसरी र धनकुटाको मुख्य सहरहरूमा हाइ स्पीडको फोर जी चल्ने नेपाल टेलिकम विराटनगरको क्षेत्रिय प्रमुख रामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार विराटनगरको ७ स्थानमा बीटिएसमार्फत चोर जी इन्टरनेट सेवा चल्नेछ । त्यस्तै इटहरीमा ७, धरानमा ४, दमकमा ४, भद्रपुरमा २, इनरुवामा १ स्थानमा बिटिएसमार्फत फोर जी इन्टरनेट सेवा सुचारू रहेको छ । पुरानो ५ सय ९४ र नयाँ १ सय १ वटा बीटिएस थप गरि फोर जी सेवा सुचारू हुनेछ ।

कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फोरजी सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको भएको बताए । यो सेवा सबै वस्तीहरुमा सेवा र्पुयाउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुने मुख्यमन्त्री राईले बताए । आफु केन्द्रीय सरकारको संचारमन्त्री भएको बेला गरिएको फोरजी सेवाको निर्णाय अहिले आएर शुभराम्भ भएको बताए । ‘अनेक खालको दबाव बिच मैले यो निर्णाय गरेको थिए,’ मुख्यमन्त्री राईले भने, ‘मैले सबैसँग छलफल र सल्लाहबाट विवाद रहित तरिकाले फोरजी सेवा संचालन गर्ने निर्णाय गरेका थिए । अहिले आएर सुचारु भएको छ ।’ डिजिटल नेपाल निमार्ण गरिन फोरजी सेवाले ठूलो भुमिका खल्ने मुख्यमन्त्री राइको भनाई थियो ।