भद्रपुर/ चाडपर्वको समयमा झापाका विभिन्न नाकाबाट भइरहेको तस्करीमा जिल्ला प्रहरीले एकैदिनमा साढे २२ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सुरुङ्गा,हल्दीबारी र गरामनी क्षेत्रबाट प्रहरीले वुधबार दिउँसो सामान सहित तस्करीमा सम्लग्न २ वटा गाडि र २ मोटरसाइल बरामद गरेको छ भने तीनजना कारोबारीलाइ समेत नियन्त्रणमा लिएको छ ।

सुरुङ्गा प्रहरीले कनकाइ ४ कोटीहोममा चालक नभएको रोकिराखेको मे १ च ६५०३ नम्बको छोटा हात्तीबाट ३४ बोरा अन्दाजी साढे ८ सय किलो सुर्ती फेला पारेको जिल्ला प्रहरीले जनाएको छ । बरामद सुर्तीसहित गाडीलाइ अन्दाजी १७ लाख रुपैयाँ मूल्य कायम गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी केचना हुदै विर्तामोड तर्फ मे १० प ११२८ नम्बरको मोटरसाइकल र मे ११ प ४८२८ नम्बरको स्कुटी मार्फत आउदै गरेको अन्दाजी ५० हजार मूल्य बराबरको टेण्टको कपडा प्रहरीले हल्दीबारी ४ चारआली चोकबाट बरामद गरेको छ । प्रहरीले कपडा कारोबारी विर्तामोड ३ का १९ वर्षिय विजय तामाङ् ,वर्ष २५ को सनिराम मुर्मु र २० वर्षिय प्रविन दासलाइ जलथल प्रहरीले पक्राउ गरी जिल्ला प्रहरीमा अनुसन्धान पश्चात भन्सार बुझाइने श्रेष्ठको भनाइ छ ।

त्यस्तै भद्रपुरबाट विर्तामोड तर्फ मे १ ज १७४६ नम्बरको पिकअप भेनसहित अन्दाजी ५ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ । पिकअप शङ्का लागि चेकजाँच गर्नेक्रममा विर्तामोड नगरपालिका ७ स्थित गरामनी भन्ने स्थानबाट प्रहरीले साडी,मर्फिन कपडा र सुतीको दरी बरामद गरिएको उनले जनाए । बरामद गरिएको गाडी सहित कपडालाइ जिल्ला प्रहरीमा राखि आवश्यक अनुसन्धानपछि इटहरी स्थित राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पठाइने उनले जानकारी दिए ।