भण्टावारी ।  सुरक्षाकर्मीले सीमामा निगरानी बढाइएको भने पिन मिलेमतो राजस्व छलीका काम भइरहेको छ । भारतीय बजारबाट सस्तोमा किनेर ल्याउने व्यापारीहरुले भन्सारका कर्मचारीलाई मिलाएर सामानको मूल्यांकन कम गरी राजस्व छल्दै आएका छन् ।

मंगलबार साझ भारतीय बजारबाट चोरीपैठारी गरी ल्याएको ४ लाख १३ हजार मुल्य बराबरको सामान सीमा प्रहरी चौकी भण्टावारीले बरामद गरेको छ । सीमा प्रहरी चौकी भण्टावारीले कोशी गाउँपालीका ८ बाट लाखौंको मुल्य बराबरको कपडा बरामद गरेपछि यस्तो रहस्य बाहिरी हो ।
१२ वटा पोको बनाएर भारतीय बजारबाट भन्सार छलेर ल्याएको कपडा बरामद गरेको सीमा प्रहरी चौकी भण्टावारीका सई चन्द्रकुमार शाक्यले जानकारी दिए । यता बिना नाम गरेकी एक व्यापारीले भने छोटी भन्सार कार्यालयमा भन्सार कटाउन लैजादै गर्दा बाटैबाट नेपाल प्रहरीले कपडा नियन्त्रणमा लिएको बताइन् । प्रहरीले सामान नियन्त्रण लिएपछि व्यापारीले लाइन नदिदा सामान पक्रेको आरोप प्रहरीमाथि लगाएको छ । व्यापारीले लाइन नदिएपछि प्रहरीले सामान पक्रेको आरोपमा कुनै सत्यता नभएको सई शाक्यले दाबी गरे । सामान नियन्त्रणमा लिएको रिसमा त्यस्तो झुठो आरोप लगाइएको हुनसक्ने सई शाक्यको भनाइ छ ।

सामान्यतया छोटी भन्सार कार्यालयले कार्यालय समयमा आएको बढीमा ५ हजारसम्म राजस्व काट्ने प्रावधान छ । त्यसमाथि कुनै सामानको भन्सार कटाउनुपर्ने भएमा मूल भन्सार कार्यालयमा जानुपर्ने हुन्छ । तर व्यापारीले भन्सारका कर्मचारीलाई प्रलोभनमा पारेर कानुनी बिपरित लाखौंको रुपैयाँसम्मको भन्सार कटाउने गरेको छ । त्यसो गर्दा राज्यलाई बढी राजस्व उठ्नुभन्दा धेरै सामानको कम मूल्यांकन गर्दै राजस्व बराबरको रुपैयाँ भन्सारका कर्मचारीको हातमा जान्छ । मानौ कुनै व्यापारीले १० पोका सामान ल्यायो भने ३ देखि ५ वटाको मात्र भन्सार कटाउने गर्छन् । बाकी ७ वटा पोका सामानको भन्सार कटाउनु साटो व्यापारीले भन्सार कटाउन लाग्ने मध्ये आधी रुपैयाँ कर्मचारी र सीमामा तैनाथ सुरक्षाकर्मीलाई बुझाउने गरेका छन् ।
भारतीय बजारमा कम मुल्यमा किनेर व्यापारीहरुले नेपाल भित्र्याउने सामान दोब्बर मुल्यमा बेच्ने गरेका छन् । विशेषगरी सीमावर्ती भण्टावारी, हरिपुर, लौकही, श्रीपुर, सहितका नाकाबाट दिनहुुँ लाखौं मुल्य बराबरको भन्सार छलेर सामान भित्रीने गरेको छ । सीमामा तैनाथ सुरक्षाकर्मी र भन्सारका कर्मचारीको सेटिङबिना भारतीय बजार बाट सामान ल्याउने गाह्रो भएको व्यापारी बताउँछन् । आफूहरूको काम राजस्व असुली गर्ने भएको बताउदै राजस्व छली गरेको आरोप गलत भएको छोटी भन्सार कार्यालय भण्टावारीका नायब सुब्बा अर्जुन सिटौलाले बताए । भन्सारमा आएको सबै सामानको राजस्व काट्दै आएको दाबी गर्ने उनले भने कहिँकतै लुकाएर व्यापारीले राजस्व छलेको हुनसक्ने बताए । सामान हेरेर छोटी भन्सार कार्यालयले समेत ५ हजारभन्दा बढी राजस्व काट्न सक्ने नियम रहेको उनले बताए ।

नेपाल भारत सीमामा पर्ने विभिन्न व्यापारिक नाकामा राजस्व छली भएकै कारण नेपाली अर्थतन्त्रमा प्रभाव परिरहेको छ ।भारतबाट सामान ल्याउदा व्यापारीहरुले वास्तविक कारोबारको बिल नल्याई थोक बजार मुल्यभन्दा धेरै कम मुल्यमा सामान किनेको बिल भन्सार कार्यालयमा पेस गर्ने गरेका छन् । सुरक्षार्थ खटिएका प्रहरी र भन्सार कर्मचारीकै मिलेमतोमा ठूलो परिणाममा राजस्व गुमाउँदै आएपनि सरकारले खासै वास्ता नगरेको स्रोतले बतायो । यता सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षा निकायका इन्चार्ज मिलेमतोमा चोरीपैठारी नभएको दाबी गर्छन् । खुला सीमा नाकाको कारण चोरीपैठारी पूर्ण रूपमा नियन्त्रण गर्न चुनौती रहेपनि सुरक्षाकर्मीको मिलेमतोमा राजस्व छली नभएको उनीहरू बताउँछन् ।