बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषगरी पूर्वक्षेत्रका बिरामीहरूको चाप दैनिक बढिरहेको छ । प्रतिष्ठानकै तथ्याङ्कअनुसार बीपीमा उपचार गराउन दैनिक ३ हजारको हाराहारीमा बिरामीहरू आउँछन् । तर केही समययता बीपी प्रतिष्ठान आफै बिरामी अवस्थामा छ । प्रतिष्ठानका अङ्गहरू भङ्ग भएका छन् । टाढादेखि निको हुने आशामा आएका बिरामीले झन् बढी सास्ती खेप्नुपरेको अवस्था छ । प्रतिष्ठानलाई सुधार्ने सक्षम नेतृत्वको अभाव देखिएको छ । प्रतिष्ठानमा अहिले समस्यै समस्याको जञ्जाल छ । महत्वाकांक्षी योजनाअनुरूप बन्दै गरेका भवनहरू अलपत्र छन् । प्रतिष्ठान आफैले सञ्चालन शुरु गरेको फार्मेसी बन्द अवस्थामा छ । हरेकजसो विभागमा समस्याका चाङ छन् । त्यसो त सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रममा पनि प्रतिष्ठानले आफू खुशी गरिरहेको छ । सरकारको बिमा कार्यक्रमअनुसार अस्पतालले बिमा गरेको व्यक्तिको उपचार गर्दा औषधिसमेत दिनुपर्छ तर प्रतिष्ठानले औषधि दिँंदैन । सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई दिने गरेको सुविधा पनि बीपीले दिएको छैन । यसबाट प्रतिष्ठानका पदाधिकारीले सरकारले ल्याएका कार्यक्रममा पनि लापरबाही गरिरहेको देखिन्छ ।

कुनै बेला बीपी प्रतिष्ठानलाई दक्षिण एशियाकै उत्कृष्ट अस्पताल भनेर पनि दाबी गरिन्थ्यो । भौतिक पूर्वाधार र दक्ष जनशक्तिका हिसाबले पनि प्रतिष्ठान उत्कृष्ट मानिन्थ्यो । तर यसमा राजनीतिक चक्रब्यूह शुरु भएपछि प्रतिष्ठानको अवस्था दैनिक अधोगतितिर लाग्यो । प्रधानमन्त्री कुलपति रहने व्यवस्था रहेको प्रतिष्ठानको व्यवस्थापनको नेतृत्व उपकुलपतिको हातमा हुन्छ । राजनीतिक भागबण्डाका आधारमा प्रतिष्ठानभित्रैबाट उपकुलपति बनाइन थालेपछि प्रतिष्ठान भ्रष्टाचारमा चुर्लुम्म डुब्यो । केही महिनाअघि घूस लिँदालिँंदै उपकुलपति नै पक्राउ परे । रजिष्ट्रार र अन्य वर्तमान तथा निवर्तमान पदाधिकारीहरू पनि अनियमितताको मुद्दा भोगिरहेका छन् । प्रतिष्ठानभित्रका पदाधिकारीको सम्बन्ध अहिले पनि राम्रो छैन । यस्ता घटनाले प्रतिष्ठानको साख खस्किरहेको प्रष्ट हुन्छ । प्रतिष्ठानको साख फर्काउन सक्ने व्यक्ति अहिलेको आवश्यकता हो ।

प्रतिष्ठान अति राजनीतिकरणको चपेटामा परेको छ । सानो कुरामा पनि राजनीतिकरण गरिँदा प्रतिष्ठान धरासायी अवस्थामा पुगेको हो । प्रतिष्ठान धरानको गरिमासँग जोडिएको संस्था पनि हो । कुनैबेला धरान मृत शहरका रूपमा परिचित भइरहेका बेला यही प्रतिष्ठानले धरानलाई जीवित र जागरुक शहर बनायो । तर अहिले प्रतिष्ठानको गरिमा खस्किरहेका बेला धरानको राजनीतिक नेतृत्वले पनि यसलाई उकास्न सशक्त भूमिका खेल्न सकेको देखिंँदैन । राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताले पनि प्रतिष्ठानलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने काम मात्र गरिरहँदा प्रतिष्ठानको दुर्दशा थपिँंदै गएको छ । आगामी दिनमा प्रतिष्ठानको गरिमा उच्च बनाउन चाँडोभन्दा चाँडो सक्षम नेतृत्व आउनु आवश्यक छ । त्यसका लागि राजनीतिक दलका स्थानीय नेताहरूले सकारात्मक भूमिका खेल्नु आवश्यक छ भने सरकारले पनि राजनीतिक भागबण्डा होइन, क्षमतावानलाई नेतृत्वको जिम्मा दिनु आवश्यक छ ।