धरान / धरान उपमहानगर अन्तर्गतको धरान खेलकुद बिकास समितिले भिजिट २०२० लाई लक्षित गर्दै धरानमा वृहत अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्नका लागि पर्यटन तथा संस्कृति मन्त्री योगेस भट्टराईलाई प्रस्तावना पत्र बुझाएको छ ।
आज पर्यटन तथा संस्कृति मन्त्रालयमा भेटेर १५ दिने साहसिक खेलकुद प्रतियोगिता संचालन गर्ने प्रस्ताव बुझाएको हो । समितिका संयोजक सुवास राईको नेतृत्वमा मन्त्रालयमा पुगेर अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ्ग प्रतियोगिता, अन्तर्राष्ट्रिय क्रसकन्ट्री साइक्लिङ्ग प्रतियोगिता र गल्फ प्रतियोगिता गर्न प्रस्तावना बुझाएको हो ।
राष्ट्रिय खेलकुद परिषदले प्याराग्लाइडिङ, साईक्लिङलाई साहसिक खेलमा राखेको छ । धरानमा दुवै खेलको हव भएकाले र सरकारको भ्रमण बर्षलाई सफल बनाउन विदेशी खेलाडी नेपाल ल्याउन समितिले यस्तो तयारी गरेको संयोजक राईले बताए । काठमाडौ पछि अन्तराष्ट्रिय स्तरको गल्फ मैदान पनि धरानको वीपी प्रतिष्ठानमा रहेका कारण तीन वटै प्रतियागिताहरु सम्पन्न गर्न सहज हुने छ ।
प्रतियोगिता कार्तिक तेश्रो सातादेखि संचालन गर्ने बताइएको छ । प्रतियोगिता गर्न करिव ७५ लाख प्रस्ताव गरिएको छ । प्रतियोगितामा भारत, हङकङ, सिंगापुर, बेलायत,लगायत मुलुकबाट खेलाडीहरु आउने छन् । १५ दिनसम्म प्रतियोगिता हुने नगर खेलकुद विकास समिती सदस्य विकास चाम्लिङ राईले जानकारी दिए । ‘होटल व्यवसायी र ट्राभल्स एजेन्सीहरुसँगको सहकार्यमा धरान आएका विदेशी तथा स्वदेशी खेलाडीहरुलाई प्याकेजमा प्रदेश १ का गन्तव्यसमेत भ्रमण गर्ने व्यवस्था मिलाउने तयारी भएको छ ।–राईले भने–‘यो पू्रतियोगिताले पर्यटन प्रवद्धनसँगैं धरानलाई एउटा साहसिक खेलकुदको शहर भनेर चिनाउने छ ।’
प्रतियोगिता संचालन गर्न पर्यटन मन्त्री योगेश भट्टराईले सहयोग गर्ने बचन दिएकाले यो प्रतियोगिताले प्रदेश १ को पर्यटन प्रवद्धनमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ । मन्त्री भट्टराईलाई भेट्न संयोजक राई, सदस्य विकाश राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वालाराई, मीन सुनुवारलगायतको उपस्थिति रहेको थियो ।